-->
विदेशमा व्यस्त

काठमाडौं- कुनै जमाना थियो गायकगायिकाका लागि विदेश जानु एकादेशको सपना थियो। एकचोटि मात्र पनि गीत गाउन कसैले विदेश बोलाईदिए जुनी नै धन्य हुने ठान्थे। तर एक दशकमै धेरै गायकगायिकाको यो सपना मात्र पूरा भएको छैन धेरैको वास नेपालभन्दा विदेशमा ज्यादा हुन थालेको छ।
नयाँ वर्ष मनाउन अमेरिका गएका राजेशपायल राई एक महिनादेखि अमेरिकाका विभिन्न राज्यमा गीत सुनाइरहेका छन्। अमेरिका उड्नुअघि राई हङकङमा थिए र हङकङभन्दा अघि लन्डनमा। लन्डन जानुभन्दा अघि राजेश विरलै नेपाली गायकगायिका पुग्ने साइप्रसका नेपालीमाझ थिए।
प्रमोद खरेल अहिले लन्डनमा छन्। युएईबाट सिधै त्यता हानिएका प्रमोद बीचको केही समय देशका सांगीतिक कार्यक्रममा व्यस्त हुनुअघि मलेसिया र दुबईका नेपालीमाझ थिए। लन्डनबाट फर्किएलगत्तै प्रमोद जापानमा हुने 'साकुरा साँझ'मा भेटिनेछन्।
राजेशपायल र प्रमोद खरेलमात्र होइन धेरै गायकगायिकाको बसाइ विदेशमा बढी हुन थालेको छ। डायस्पोरामा दिनानुदिन नेपालीहरुको बसोबास बढ्दो क्रममा रहेको र त्यहाँका नेपालीमाझ सांस्कृतिक कार्यक्रम गर्ने र गायकगायिकालाई बोलाउने होडबाजी चल्ने गरेकाले पनि धेरै गायकगायिका विदेशतिर व्यस्त हुन थालेका हुन्।
अन्जु पन्त, शिव परियार, रामकृष्ण ढकाल, सुगम पोखरेल, मिलन अमात्य, सुनिता दुलाल, मञ्जु पौडेल, आस्था राउत देशभन्दा विदेशमा ज्यादा समय बिताउने गायकगायिकामा पर्छन्।
डिजिटल युगको उदयले सबैभन्दा धरासायी पारेका क्षेत्र नै संगीत हो। पहिले एल्बमको बिक्रीको प्रचलन हरायो र पछि सिआरबीटी पिआरबिटीको। पछिल्ल्ाो समय युट्युबबाट कमाई हुने गरे पनि गायकगायिकाले यसबाट प्रत्यक्ष लाभ लिन सकेका छैनन्।
युट्युबबाट प्राप्त हुने आम्दानी अपारदर्शी हुने भएकाले पनि गायकगायिका यसको खासै भर पर्ने गरेका छैनन्। यसरी बीचको समयमा 'के गरी खाने होला?' भनेर चिन्तित बनेका गायक गायिकालाई विदेश यात्राको अवसरले राम्रै राहत प्रदान गरेको छ।
कलाकारका लागि यस्तो अवस्था स्वर्णिम भए पनि समग्र संगीतका लागि भने यसले केही नकारात्मक प्रभाव पारेका बताउँछन् गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा।
'पहिलो त यसले कलाकारलाई पैसामुखी बनाएको छ। र दोस्रो यही कारणले उनीहरुले गम्भिर गीतभन्दा पनि भीड खुशी पार्ने गीत बनाउन थालेका छन्। यसले कलाकार भित्रको सर्जकलाई भविष्यमा संकटमा पार्न सक्छ,' कालीप्रसादले भने। उनले आजभोलि आफूकहाँ पनि राम्रा गीतभन्दा पनि स्टेजमा हिट हुने गीत बनाई माग्न आउनेको संख्या बढी भएको बताए।
गायकगायिकाको यस्तो चकचकीले संगीतकार पनि पिरोलिन थालेका छन्। त्यसैले धेरै संगीतकारहरु भटाभट आफैं गायक बन्न थालेका छन्। र बजारमा चल्ने सम्भावना भएका गीत गायक गायिकालाई दिनुको साटो आफैं गाउन थालेका छन्। कालीले 'जालमा' गाएर गायक बने भने अर्का संगीतकार अर्जुन पोखरेलले पनि 'ठमेलडटकम'का 'तिमी नभए' शीर्षकको गीत गाईसकेका छन्। बजारमा चलेका अर्का संगीतकार वसन्त सापकोटा पनि चाँडै नै गायकको रुपमा गीत सार्वजनिक गर्ने सुरसारमा छन्।
गायिका अञ्जु पन्त कालीप्रसादको कुरासँग सहमत छिन्। तर आफ्नो हकमा भने त्यो कुरा नहुने उनले दाबी गरिन्। हाल कार्यक्रमको सिलसिलामा स्विजरल्यान्डमा रहेकी गायिका अन्जुले भाइबरमा कुराकानी गर्दै भनिन्, 'सुगम र फिल्म दुवैतिर बराबर गीत गाइरहेकीले मेरो हकमा सायद यो कुरा लागू हुन्न। उहाँहरुले कम्पोजमा मेरै स्वर चाहिने भएकाले मात्र मलाई खोज्नु हुन्छ जस्तो लाग्छ। तर धेरै संगीतकारबाट यस्तो गुनासो सुनेकी छु। हाम्रो गायन पनि स्रोताहरुले मनपराएका कारण हामी यो अवस्थामा आएका हौं। यदि उहाँहरुको आवाज पनि स्रोताले रुचाउनु भयो भने उहाँहरु पनि देश विदेश घुम्न सक्नुहुन्छ,' अञ्जुले भनिन्।
नेपालमा सिर्जनालाई जीविकासँग नजोडी धर छैन। यस हिसाबले गायक गायिका विदेशतिर व्यस्त हुनु सकारात्मक कुरा हो। तर यसले उनीहरुको सिर्जनालाई भने असर गर्नु भएन।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.