-->
नौ फिट सर्प हेर्नको भीड

महोत्तरी- सर्लाहीको गौरीशङ्कर गाविसस्थित बाँके चोकमा विगत केही दिनदेखि बस्दै आएको करिब ९ फिट लम्बाइ भएको जङ्गली सर्पलाई हेर्नका लागि दिनहुँ हजारौँ दर्शकको भीड लाग्ने गरेको छ।
पूर्व पश्चिम महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको बाँके चोकमा रहेको जिल्ला वन कार्यालयको वनरक्षक बस्ने क्वार्टरमा १८ दिन अगाडिदेखि बस्दै आएको सो विशाल सर्पलाई दर्शन गर्न दिनहुँ दूध, लावा र भेटी लिएर आउने सर्वसाधारणको भीड लागेको छ।
सो सर्पलाई हेर्नको लागि दिनहुँ ४-५ हजारको सङ्ख्यामा मानिसहरु आउने गरेका र अहिलेसम्म २१ हजार भेटी सङ्कलन भएको कालिन्जोर–६ का टलकबहादुर मगरले बताए। हेर्दा अजिगङ्र जस्तो लागेपनि सो सर्प नागिनको रुप भएकाले धार्मिक दृष्टिकोणले नाग जोडीको पूजाआजा गर्ने परम्पराअनुसार दूध र लावा चढाएर मानिसले पूजा गरिरहेका मगरको भनाइ छ।
जङ्गली सर्प भए तापनि सो विशाल सर्पलाई मानिसले नजिकै गएर हातले स्पर्श गर्दासमेत कुनै प्रतिक्रिया देखाएको छैन। सर्पमा हुनुपर्ने गुण नागीन सर्पले नदेखाएपछि दर्शन गर्न त्यहाँ पुग्ने मानिस तीन छक्क परेका छन्।
सर्पको दर्शन गर्न पुग्नेमध्ये कतिपयले देवीदेवता आएर हा हु गर्दै जीउ कमाउने गरेका छन्। उनीहरु हा हु गर्दै कराउने, जीउ तङ्ग्राउने र बेहोस हुने गरेका छन्। उनीहरुलाई उठाएर सर्प भएको कोठामा राखी दिँदा केही छिनमा पहिलेको अवस्थामा फर्किने गर्छन्। मानिसले त्यहाँ मन्दिर बनाउन जुटेका छन्। २४ घन्टा सवारीसाधन गुड्ने राजमार्गमा हेर्नेको ठूलै भीड लाग्ने गरेको छ।
करिब एक महिना पहिले सो सर्प महोत्तरीको लक्ष्मीनियाँमा पूर्वबाट काठमाडौँतर्फ जाँदै गरेको अग्नी बसमा पसेको थियो। बीच सडकमा सर्प रहेको देखेपछि सवारी चालकले रोकेपछि सर्प बसको स्टेरिङमा गएर बेरिएर बसेको सर्पलाई लठ्ठीले घोचीघोची बसबाट तल झारिएको थियो।
त्यस्तै, सो घटना घटेको १७-१८ दिनपछि बाटो काट्ने क्रममा बाँके चोकमा स्थानीय युवा सवार मोटरसाइकलले ठक्कर दिएको थियो। त्यस युवकले बोरामा हालेर सर्पलाई जङ्गलमा छाड्दा सर्प वनरक्षक बस्ने कोठामा गएर बसेको स्थानीयले बताउँछन्। रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.