-->
यो सरकार सदनको आयू रहेसम्म रहन्छ, कसैले ढाल्न सक्दैन: महासचिव पोख्रेल

काठमाडौं, १६ जेठ । नेकपा (एमाले) महासचिव ईश्वर पोख्रेलले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ०७४ साल माघ ७ गतेसम्म कसैले पनि ढाल्न नसक्ने दाबी गरे ।

सत्तासाझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटपछि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने एमालेसँग आन्तरिक सम्झौता भएको बताइरहेका बेला पोख्रेलले सो कुरा बताएका हुन् । उनले भने, ‘यो सदनको आयू ०७४ साल माघ ७ गतेसम्म छ, ।’

युवा संघ नेपालले आठौँ महाधिवेशनबाट निर्वाचित चौतारीका पदाधिकारी तथा सदस्यहरुलाई सम्मानका लागि आयोजीत कार्यक्रममा पोख्रेलले भने, ‘एक जना नेताले सरकारको आयू बजेट ल्याउन्जेलसम्मका लागि मात्र हो भन्दै हिड्नु भएको छ रे, म उहाँलाई भन्न चाहन्छु । यो सरकार सदनको आयू रहुन्जेल रहन्छ ।’

कार्यक्रममा महासचिव पोख्रेलले एमालेलाई कमजोर बनाउँन आधा दर्जन बढी जालो विछ्याउँने प्रयास भएको भन्दै त्यस्ता जालो तोड्दै अघि बढ्ने चेतावनी पनि दिए । उनले संविधानको पक्षपोषण गर्नुपर्ने, राष्ट्रिय स्वाभिमानको पक्षपोषण गर्नुपर्ने, परालम्बनलाई हटाएर स्वाबलम्वनलाई उच्चो बनाउनु पर्ने जस्ता मिशन एमाले र एमालेलाई मायाँ गर्ने नेता–कार्यकर्ताको काँधमा रहेको बताए । उनले पत्रकारहरुलाई एमालेको विवादका बारेमा स्पष्ट बुझेर मात्र कलम चलाउँन आग्रह गरे ।

‘खोरबाट बाख्रा खोल्दा भोकाएका बाख्राले जे पायो त्यहि खाए जस्तो नगर्नुहोला,’ उनले भने, ‘कार्यक्रममा भए बेग्लै कुरा होइन भने पार्टीको बारेमा बुझ्न मलाई फोन गर्नुहोला म मुखमा एउटा पेटमा एउटा नराखी जानकारी दिन्छु । फोन उठाइन भने एसएमएस पठाउनु होला, म पछि पनि जानकारी दिन्छु ।’

कार्यक्रममा युवा संघका अध्यक्ष राजीव पहारीले चौतारी र युवा संघको सम्वन्ध नङ र मासुको जस्तो रहेको बताए । उनले आगामी दिनमा युवा संघले सहकार्य गरेर अघि बढ्न चाहेको पनि बताए । कार्यक्रममा चौतारी अध्यक्ष गणेश बस्नेतले आफुले कसैलाई पनि हेला–होचो नगरी अघि बढ्ने दाबी गरे । कार्यक्रमममा चौतारीले स्थापना गरेको पत्रकार कल्याणकारी कोषका लागि ५१ हजार हस्तान्तरण गरेको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.