सन्दीपले क्लार्कसँग खेल्ने
जेष्ठ १३, २०७३- विश्वकप विजेता टिमका कप्तान माइकल क्लार्कसँगै खेल्न नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने बुधबार हङकङतर्फ लागेका छन् । हङकङमा पहिलो पटक आयोजना हुन लागेको हङकङ ब्लिज ट्वान्टी–२० प्रतियोगितामा १६ वर्षे युवा लेगस्पिनर सन्दीपले खेल्न लागेका हुन् ।
सन्दीपले विदेशी खेलाडीका रूपमा कावलुनबाट खेल्नेछन् । यही टिमबाट अस्ट्रेलियाका पूर्वकप्तान क्लार्कले पनि खेल्नेछन् । २०१५ को अगस्टमा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका क्लार्कको कप्तानीमा अस्ट्रेलियाले गत वर्ष एकदिवसीय विश्वकप जितेको थियो । क्लार्कसँग १ सय १५ टेस्ट र २ सय ४५ एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेको अनुभव छ ।
सन्दीपको टिम कावलुनका कप्तानमा ब्रिटिस खेलाडी स्कोट म्याककेच्नी छन् । उनले नै हङकङमा खेल्ने व्यवस्था मिलाएका हुन् । हङकङ राष्ट्रिय टिमका अस्ट्रेलियाली खेलाडी रायन क्याम्पवेल कावलुनका खेलाडी एवं प्रशिक्षक छन् ।
कावलुनमा म्याककेच्नी, क्याम्पवेलसहित बाबर हायत, तानभिर अहमद, नजिब अमार र सिमनद्वीप सिंह लगायतका खेलाडीसँग खेल्नेछन् । हङकङ क्रिकेटका प्रमुख कार्यकारी अधिकृत टिम कुटलर पनि कावलुनमा आबद्ध खेलाडी हुन् ।
मे २७ देखि २९ सम्म हुने ट्वान्टी–२० संरचनाको हङकङ ब्लिजमा रुड बार आइल्यान्ड वारियर्स, कावलुन क्यान्टोन्स, हुङ होम जेडी जगुवार र गी लान्टाउ ग्लालेक्सी रायडर्सले प्रतिस्पर्धा गर्नेछन् ।
सन्दीपले जनवरी–फेब्रुअरीमा बंगलादेशमा आईसीसी यू–१९ विश्वकपमा १४ विकेट लिएका थिए र उनी सो प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीमा दोस्रो स्थानमा थिए । यो उनको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । उक्त क्रममा उनले आयरल्यान्डसँगको खेलमा ह्याट्रिक गरेका थिए ।
अघिल्लो महिना सन्दीपले राष्ट्रिय टिमबाट ‘डेब्यु’ गर्दै विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध कीर्तिपुरमा खेलेका थिए । नामिबियासँग उनले २ खेलमा ३ विकेट लिएका थिए ।-ekantipur बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...