-->
‘दृष्टिविहीन देखेपछि गाडीले पनि नरोकी जान्छ’

काठमाडौँ, जेठ ९ गते । आफूलाई दृष्टिविहीन देखेर गाडीले नरोकिदिँदा प्रा गोविन्द आचार्यलाई रत्नराज्य लक्ष्मी क्याम्पसमा पढाउन आउन सधैँजसो ढिला हुन्छ ।

“म रत्नराज्यमा पढाउन दैनिक जसो कीर्तिपुरबाट आउनुपर्छ, तर त्यहाँबाट आउँदा पैसा तिर्दा पनि मलाई गाडीले ल्याइदिन मान्दैनन्, ढिला हुँदा धेरैजसो कक्षा छुटेको हुन्छ” – उहाँले भन्नुभयो ।

यातायात उपभोक्ता मञ्चद्वारा यहाँ आयोजित ‘यातायात उपभोक्ताका समस्या र समाधान’ विषयक अन्तक्र्रियामा उहाँले आफू दृष्टिविहीन भएका कारण बाटो पार गर्दासमेत गाडीले धक्का दिनेलगायतका विभिन्न समस्या भोगेको बताउनुभयो ।

पहिलो त दृष्टिविहीन देखेपछि गाडीले चढाउन नै नखोज्ने र दोस्रो चढाए पनि चालक र सहचालकले आफूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको उहाँको गुनासो छ ।

“सरकारसँग पटक पटक भएका सहमति, अपाङ्गतासम्बन्धी भएका ऐन लागू गर्नुको सट्टा सरकारले हामी दृष्टिविहीन, अपाङ्गता भएका व्यक्तिलाई हेपाहा दृष्टिले हेर्दै आएको छ” – उहाँले भन्नुभयो ।

राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले सार्वजनिक यातायातमा महिलाका लागि छुट्याएको कोटा कम भएको र त्यो पनि पुरुषले नै प्रयोग गर्ने गरेको बताउनुभयो ।

ज्येष्ठ नागरिक डा एनके थापाले ज्येष्ठ नागरिकका लागि सार्वजनिक यातायातामा छुट दिने विषयलाई देशैभरि लागू गर्नुपर्ने माग गर्नुभयो ।

मञ्चका अध्यक्ष आनन्द शर्माले यातायात र उपभोक्ताबीच देखिएका समस्या समाधानमा जोड दिनुभयो । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.