-->
रोल्पामा मोबाइल प्रयोगकर्ताहरु टावर खोज्न रुख चढ्दै

हुन त रोल्पाका पश्चिम क्षेत्रका धेरै स्थानीयको हातहातमा मोवाइल छ भने कतिपयको घरमा लेण्डलाइन फोनसेट पनि छ । तर टावरको समस्याले फोनको खोस्टो मात्र बोक्न उनीहरु बाध्य छन् । कुनै महत्वपूर्ण काम आइलागे वा सूचना पठाउन परे काम नै थाँति राखेर फोनको टावर खोज्न उकालो चढ्र्नुपर्ने बाध्यताले अधिकांशले सास्ती व्यहोर्नु परिरहेको छ ।
रोल्पाका पश्चिम क्षेत्रका विभिन्न ठाउँमा अझै पनि फोनले काम नर्गदा स्थानीयहरु सञ्चार सम्पर्कबाट बिच्छेद भएका छन् । त्यस भेगका अलि अग्लो भागमा फोनको टावरले केही काम गर्ने भएपनि अरु ठाउँमा भने फोनले काम नगर्दा थप समस्या सिर्जना भएको छ । अझ खासगरी सडक सञ्जाल बिस्तार भएको क्षेत्र जहाँ बढी व्यापारिक चहलपहल हुन्छ त्यस्ता ठाउँमा फोनको टावर देख्न नै मुश्किल परेको स्थानीय बनाउँछन् ।
समस्या समाधानका बारेमा पटक पटक सम्बन्धित कार्यालयमा जानकारी गराएपनि ध्यान जान नसकेको स्थानीय सेवाग्राही गुनासो गर्छन्। सभामुख ओनसरी घर्तीको क्षेत्र भएकोले समस्या सम्बोधन गरिदिने आश्वासन पाएका उनीहरु आश्वासनको कार्यान्वयनको प्रतीक्षामा छन् । तर आश्वासन पाएको लामो समय भैसक्दा पनि फोन नलाग्ने समस्या भने जहाँको त्यँही छ ।
जिल्लाका कतिपय क्षेत्रमा बरु निजी सेवाप्रदायक कम्पनीको फोन सेवा राम्रो भएको देखिन्छ भने उनीहरु अझ थप सेवा बिस्तारमा लागेको देखिन्छ । तर सरकारी सेवा भने सुलभ हुन सकिरहेको छैन भने पहुँचमा पनि कम नै छ । यता नेपाल टेलिकम जिल्ला कार्यालय रोल्पाका प्रमुख कैलाश आचार्यले भने जिल्लाका जनप्रतिनिधिको पहलकदमी कमजोर भएपछि टेलिकमकै प्रयासमा विभिन्न १४ क्षेत्रमा टावरकोलागि सर्वेक्षण गरेको बताउँनुभयो ।
अग्लो स्थानमा टावरले समेत त्यति राम्रो काम नगर्दा स्थानीय थप मारमा छन् । एक त फोन नलाग्ने मुश्किलले लागिहाले पनि राम्रोसँग आवाज नबुझिने समस्या विद्यमान छ । सडकले थोरै भएपनि ल्याएको सुगमता सञ्चारको समस्याले सकसपूर्ण बनाइदिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.