-->
राष्ट्रपतिद्वारा बुद्धस्थल अवलोकन

भैरहवा- बुद्धजयन्तीको पूर्वसन्ध्यामा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले बुद्धजन्मस्थल लुम्बिनीसँगै कपिलवस्तु र नवलपरासीका बुद्धस्थल अवलोकन भ्रमण गरिन्।

शुक्रबार अपराह्न लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले लुम्बिनीको मायादेवी मन्दिरमा पूजा गर्नुका साथै लुम्बिनी गुरुयोजना, बुद्ध सर्किट तथा लुुम्बिनीको विकासबारे चासो राखेकी थिइन्। समयमै सम्पन्न हुन नसकेको लुम्बिनी गुरुयोजना तथा आन्तरिक बुद्ध सर्किटबारे जानकारी लिन राष्ट्रपति बुद्धजयन्तीको एक दिनअगावै स्थलगत अवलोकन भ्रमणमा आएकी हुन्। राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा हुने २५६० औं बुद्धजयन्ती मूलसमारोह उद्घाटन गर्ने कार्यक्रम छ।

सेनाको हेलिकोप्टरमा शुक्रबार अपराह्न लुम्बिनी आएकी राष्ट्रपति भण्डारीलाई लुम्बिनीमा लुम्बिनी विकास कोषका पदाधिकारी, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखले स्वागत गरेका थिए। कोषका सदस्यसचिव अजितमान तामाङ र रुपन्देही प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले सुरक्षा अवस्था लगायत विषयमा जानकारी गराए।

करिब पौने घन्टा लुम्बिनीमा बिताएकी राष्ट्रपति भण्डारीले शुक्रबारै कपिलवस्तुको तिलौराकोट, नवलपरासीको रामग्राम र रुपन्देहीको देवदह क्षेत्र अवलोकन भ्रमण गरेको रुपन्देही प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। बुद्धजयन्तीकै अवसरमा शुक्रबार साँझ लुम्बिनीमा दीपप्रज्ज्वन गरी विश्व शान्ति कामना गर्दै बुद्धपूजा गरिएको थियो।

राजधानीमा भएको दुईदिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी विभिन्न देशका बौद्ध ज्ञाता, धर्मगुरु, भिक्षु, भिक्षुणी तथा सरकारी अधिकारीसहित लुम्बिनीका भिक्षु–भिक्षुणी लुम्बिनी विकास कोषका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीयको उल्लेख्य सहभागिता थियो। शनिबार हुने बुद्धजयन्ती समारोहका लागि लम्बिनीमा सरसफाइ तथा रंगरोगन गरी झन्डा, तुल–ब्यानर र पताकाले सजाइएको छ। यस वर्षको बुद्धजयन्तीमा करिब ५ सय विदेशी पाहुनासहित ७ हजारभन्दा बढी सहभागी हुने विकास कोषले जनाएको छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.