आयल निगमको मासिक १ अर्ब कता बेपत्ता ?
काठमाडौं, ८ जेठ । मे महिनाको पहिलो १५ दिनको वास्तविक र आउँदो प्रक्षेपण हेर्ने हो भने आयल निगमले सजिलै १ अर्ब रुपैयाँ नाफा कमाउने देखिन्छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य धेरै बढेन र यहाँ पनि घटाउन दबाब परेन भने निगमले आगामी ४ महिनाभित्र सबै ऋण तिरिसक्ने छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
मेको पहिलो १५ दिनमा निगमले ६६ करोड रुपैयाँ पेट्रोलियम पदार्थको कारोबारबाट खुद मुनाफा आर्जन गरेको छ । अबको १५ दिनमा ४३ करोड मुनाफा हुने प्रक्षेपण पनि निगमको छ ।
यस आधारमा निगमलाई मे महिनामा मात्रै करिब १ अर्ब १० करोड मुनाफा हुने छ । ‘आईओसीले पठाएको नयाँ मूल्यसूची अनुसार पाक्षिक नाफा ४३ करोड ९ लाख रुपैयाँ प्रक्षेपण गरेका छौं,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने । आईओसीले १५र१५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ । सोहीअनुसार निगमले नाफारघाटा समायोजन गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ३० डलरभन्दा तल झरेपछि निगमको मुनाफा हवात्तै बढेको हो । नाकाबन्दीको समयमा आपूर्ति नघटेको भए निगमको नाफा अझ बढी हुने थियो ।
अहिले पनि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारल ४८ डलरको हाराहारीमा छ । अन्तर्राष्टिय बजारको अनुपातमा यहाँ भने इन्धनको मूल्य घटेन । स्वचालित मूल्य प्रणाली लागू भएपछि प्रतिलिटर पेट्रोलको मूल्य १ सय ३४ रुपैयाँँ ५० पैसाबाट घटेर ९९ रुपैयाँमा झर्यो ।
तर त्योभन्दा तल भने जान सकेन । निगमको तथ्यांकअनुसार अहिले खाना पकाउने ग्यासबाहेक सबैमा नाफा छ । तथ्यांक अनुसार प्रतिलिटर पेट्रोलमा १० रुपैयाँ ५३ पैसा, डिजेलमा ६ रुपैयाँ ४२ पैसा, मटितेलमा २० रुपैयाँ ४२ पैसा नाफा छ ।
हवाई इन्धन आन्तिक उडानतर्फ प्रतिलिटर १० रुपैयाँ ९३ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ २१ रुपैयाँ ४९ पैसा नाफा छ । खाना पकाउने एलपी ग्यासमा भने १ रुपैयाँ ५ पैसा घाटा रहेको तथ्यांकमा उल्लेख छ ।
आर्थिक वर्ष २०६५/६६ मा निगमको नाफा ३ अर्ब ११ करोड रुपैयाँ थियो । त्यसबेला मन्दीका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निकै कम थियो । त्यसयता निगम निरन्तर घाटामा थियो ।
२०६६/६७ मा निगमको घाटा ८४ करोड रुपैयाँ पुगेको थियो । २०६७/६८ मा बढेर ३ अर्ब ११ करोड पुग्यो । २०६९ मा चुलिएर ९ अर्ब ५३ करोड रुपैयाँ पुगेको थियो ।
२०६९/७० भने नोक्सानी घटेर २ अर्ब ५ करोडमा झर्यो । २०७०/७१ मा घाटा पुनस् बढेर ८ अर्ब ३० करोड रुपैयाँ पुगेको थियो । निगम नोक्सानमा गएपछि अर्थ मन्त्रालय र वित्तीय संस्थाबाट ऋण लिएर इन्धन आयात भइरहेको थियो । निगमको ऋण ३६ अर्ब ८६ करोड ७० लाख रुपैयाँ पुगेको थियो ।
निगम भित्रको अपारदर्शिता, ट्यांकरमा हुने चुहावट र इन्धनको मूल्य समायोजन नहुँदा घाटा बढदै गएको विज्ञहरूको भनाइ थियो । नाफा हुन थालेपछि निगमले ३२ अर्ब ८६ करोड ७० लाख रुपैयाँ ऋण तिरेको छ ।
प्रवक्ता घिमिरेका अनुसार नागरिक लगानी कोषको ९ अर्ब ३८ करोड ६० लाख र कर्मचारी सञ्चय कोषको १२ अर्ब ६० करोड रुपैयाँ तिरिसकिएको छ ।
निगमले यिनलाई साढे १० प्रतिशत ब्याज तिर्दै आएको थियो । यस्तै निगमले नेपाल बैंक, नबिल बैंक, एभरेस्ट बैंक र बैंक अफ काठमाडौंबाट कुल २ अर्ब २४ करोड रुपैयाँ ऋण लिएको थियो ।
उक्ता ऋण पनि चुक्ता गरिसकेको प्रवक्ता घिमिरेले बताए । यस्तै निगममा सरकार ९अर्थ मन्त्रालय० को १२ अर्ब ६० करोड १० लाख रुपैयाँ ऋण थियो ।
८ अर्ब ६४ करोड १० लाख रुपैयाँ तिरेपछि अहिले ४ अर्ब रुपैयाँ मात्रै बाँकी छ । त्यसमा ३ प्रतिशत ब्याज पर्छ । ऋण कम हुन थालेपछि उपभोक्ताबाट असुल्दै आएको ऋणको ब्याज पनि घटाउने जनाएको छ । ‘३६ अर्ब ऋण हुँदा ब्याज ४ रुपैयाँ लिइएका थियो, क्रमशः घटाएर ५० पैसा बनाएका थियौं,’ उनले भने, ‘अब ऋण ४ अर्ब मात्रै छ । ब्याज थप घटाउँछौं ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...