२९ घन्टामा सगरमाथा पुगेका पासाङ भन्छन्: हिमपात रोकिएन, अन्धकार
जेठ ८
काठमाडौं: हिमपात रोकिएन । अन्धकार भयो । बाटो देखिएन । साथीहरूले नजाऔं, मरिन्छ भने । मैले हौसला दिइरहें ! आरोहणका लागि बाटो निर्माण टिमको संयोजक थिएँ म । निरन्तर बाटो बनाउँदै अघि बढ्यौं । स्विडेन, नर्वेको आरोही टिम पछिपछि थिए । उनीहरूले उत्साहित बन्दै फोटो खिच्दै ‘गुड शेर्पा' भन्दै पछ्याइरहे ।
वैशाख तीन गते काठमाडौंबाट बाटो लागेको टोलीले आधार शिविरदेखि नै समस्या खेप्नुपर्यो । त्यसैले हामी बाटो मर्मतमा जुट्यौं । दुई वर्षदेखि सगरमाथामा मानवपाइला पुगेको थिएन । बाटो निर्माणमा नौवटा ट्रेकिङ कम्पनीका नौजना शेर्पा गाइड सहभागी भयौं । क्रमशः सबैले खर्पसमा भर्याङ राख्दै, डोरी टाँग्दै उकालो र ओरालोमा हिउँ काटेर भए पनि बाटो बनाउँदै अघि बढ्यौं ।
शेर्पा गाइड साथीहरूले पनि नयाँ कीर्तिमान र बहादुरी देखाउन जोसका साथ काम गरे । साउथ समिट र हिलारी स्टेप पुगेपछि हामीलाई मुख्य समस्या भयो । साउथ समिटबाट ओरालो जानुपर्ने भएकाले धेरै हिउँ थियो । बाटो बढी भिरालो भएकाले आवतजावत गर्न सकिएन । हामी सबै मिलेर डोरीको सहायताले हिउँ काटेर एक घन्टासम्म बाटो बनायौं ।
यता हिलारी स्टेपमा ठाडो उकालो चढ्नुपर्ने थियो । हिउँले डाँडो भरिएको थियो । नयाँ हिउँ भएकाले पहिरो जाने खतरा उत्तिकै थियो । यहाँ पनि सबै साथी मिली हिउँ काटेर डेढ घन्टासम्म डोरी टाँग्यौं अनि पार गर्न सफल भयौं । विनासकारी भूकम्प र हिमपहिरोले बाटोलाई क्षति पुर्याएको थियो । सगरमाथा आरोहण बन्द भएको दुई वर्षपछि वैशाख २८ गते पहिलोपटक चुचुरोमा पुग्न सफल भयौं ।
क्याम्प दुईदेखि पर्वतारोहण सञ्चालक संघले व्यवस्थापनको जिम्मा समालेको थियो । टिमैले बहादुरी कमाउनु, सगरमाथा र ल्होत्सेको चुचुरोसम्म शेर्पा गाइडको टिम पुग्ने लक्ष्य हामीले राखेका थियौं । २९ घन्टाको निरन्तर प्रयासपछि हामी चुचुरोमा पुग्न सफल भयौं । पहिलो दिन वैशाख २७ गते क्याम्प दुईदेखि रातिको दुई बजे सुरु गरी आठ हजार पाँच सय मिटरको बालकोनीसम्म बाटो बनाई पुनः फर्केर सात हजार नौ सय ५० मिटरमा आएर बस्यौं । वैशाख २८ गते रातको तीन बजेबाट सुरु गरी साँझ ५ बजेर ६ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो बनाएर चुचुरोमा पुग्यौं ।
बाटो बनाउँदै सगरमाथा चुचुरोतर्फ अघि बढ्दै शेर्पा गाइड टोली
सगरमाथाको पाँच हजार तीन सय मिटर आधार शिविरसम्म प्रायः सबै जान्छन् । त्यसभन्दा माथि छ हजार चार सय मिटरसम्म आइसफल डाक्टरले भर्याङको सहयोगले बाटो बनाउँछन् । त्यसभन्दा माथि अनुभवी विशेष समिट रुट फिक्सिङ टिमले बाटो बनाएपछि मात्र आरोहण खुला हुन्छ ।
तेन्जिङनोर्गे शेर्पाले चुचुरोमा झन्डा फर्फराएदेखि हरेक वर्ष निरन्तर आरोहीले सगरमाथा चुम्दै आएका थिए । पहिले खासै समस्या थिएन तर विपत्ले गर्दा दुई वर्षअघिदेखि कोही नपुग्दा पुराना डोरी थिएनन्, बाटोको निशाना थिएन । भीषण हिमपातले पहाड नै फेरिएको थियो, समस्याको कुरै नगरौं ।
म अहिले ३१ वर्ष पुगें । मैले १५ वर्षको उमेरदेखि हिमाल आरोहण गर्न थालेको हुँ । सन् २००३ मा १८ वर्षको उमेरमा सगरमाथा आरोहण गरें । अहिले एसेन्ट हिमालय ट्रेक्स एन्ड एक्सपिडिसन कम्पनीमा आरोहण टिम प्रमुखका रूपमा काम गर्दैछु । मेरो अनुभव यो पेसामा खर्च गर्न पाएर खुसी छु ।
दोलखाको गौरीशंकर १ मा जन्मिएको हुँ म । मेरो परिवारका सातैजना दाजुभाइ पर्यटन क्षेत्रमै छौं । हामी सात दाजुभाइ आङछिरिङ, निमातेम्बा, पेमाथार्की, निमागोम्बु, मिङ्माछिरी, थुन्डु र मैले २००७ मा एकसाथ सगरमाथाको सफल आरोहण गरी विश्व रेकर्ड राखिसकेका हौं । हालसम्म हामी सात दाजुभाइले ५७ पटक सगरमाथा आरोहण गरिसकेका छौं । अन्नपूर्ण पोस्ट्बाट



0 comments
प्रतिक्रिया दिनुहोस्...