-->
नेवार बस्तीमा किन बनाइन्छ पोखरी ?

काठमाडौं, जेठ ८ - तपार्इं नेवार बस्ती पुग्नुभएको छ भने ठाउँठाउँमा साना ठूला पोखरी देख्नुभएको होला । हरेक बस्तीको बीचमा यस्ता पोखरी किन बनाइएका होलान् ? ललितपुर उप–महानगरपालिका–९ च्यासलका ७२ वर्षीय बाबुकाजी व्यञ्जनकार भन्नुहुन्छ, ‘आगलागी र भविष्यमा हुनसक्ने संकटसँग सामना गर्न पोखरी बनाएको हो । यो हाम्रो पुर्खौंदेखिको देन हो ।’
उहाँका अनुसार भैंसी, भेंडा लगायतका घरपालुवा जनावरलाई पानी खुवाउन, सफा गर्न, लुगा धुन, भाँडा माझ्न र खेतबारीमा सिंचाई गर्नको लागि पोखरी बनाउन थालिएको हो ।
पोखरीको पानीलाई सुरुमा खानेपानीकै स्रोतको रुपमा प्रयोग गर्ने गरिन्थ्यो । त्यसो त नेवार समुदायले पोखरीसँग मिल्दोजुल्दो पर्व पनि मनाउँछन् । उनीहरुले परम्परागत रुपमा मनाउँदै आएको पर्व सिठी नखः हो । यो पर्व जेठ शुक्ल षष्ठीको दिन मनाइन्छ । यस पर्वलाई पानीको मुहान सफा गर्ने पर्वको रुपमा लिइन्छ ।
इतिहास तथा संस्कृतिविद ओम धौवडेल भन्नुहुन्छ, ‘मिथिलाञ्चलमा भएको पोखरी बनाउने चलनको सिको गर्दै लिच्छवीहरुले नेपाल मण्डलमा पनि पोखरीको बिस्तार गरेका हुन् ।’
लिच्छवीहरुले वास्तु, साँस्कृतिक, धार्मिक र सामाजिक रुपमा सौन्दर्य बढाउन नगर विस्तार गरेको उहाँले बताउनुभयो । त्योबेला बनाइएको रानीपाखरी, कमलपोखरी, सिद्धिपोखरी, गुह्य पोखरी लागयतका पोखरी, ईनार तथा ढुंगेधाराहरु अहिलेसम्म पनि अस्तित्वमा छ । कुनै पोखरी रुन्चे रोग लागेकालाई नुहाउन लगाउँदा निको हुने भएकोले गर्दा औषधीका रुपमा पनि बनाउने गरिएको पाइन्छ ।
लिच्छवी कालमा नगरबाहिरका आगन्तुकलाई हात खुट्टा धुन लगाएर नगरभित्र प्रबेश गराउन पनि पोखरीको विकास भएको संस्कृतिविद बताउँछन् । त्यसताका पोखरीसँगै विकास भएको इनार र ढुंगेधाराले मानिसका धेरै आवश्यकता पूरा गरिरहेको छ ।
वर्षाको पानी सङ्कलन गर्न ठाउँठाउँमा पानी पोखरीबनाएर ईनार र ढुंगेधाराका लागि ‘रिचार्ज’ हुन्थ्यो । आवश्यकता अनुसार पोखरीको पानी प्रयोग हुन्थ्यो । तर यस्ता धेरै पोखरी हराउन थालेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.