-->
चालु वर्षमा प्रमुख खाद्यान्नको मूल्य बृद्धिदर उच्च

मास र रहर दालको मूल्य बृद्धि उच्च

चालु आर्थिक वर्षमा सरकारी सर्वेक्षणले महँगीको बृद्धिदर ९. ७ प्रतिशत देखाए पनि प्रमुख  खाद्यान्नको मूल्य बृद्धिदर भने उच्च पाइएको छ। सोही सर्वेक्षणलाई नै आधार मान्ने हो भने प्रमुख दश कृषिजन्य दैनिक उपभोग्य वस्तुमध्ये आलु, प्याज र अदुवा बाहेक सबैको सरदर खुद्रा मूल्य बढेको छ। 
 
चालु आर्थिक वर्षको सर्वेक्षणमा उल्लेख गरिएअनुसार गत फागुनसम्ममा चामल, गहुँको पीठो, मासको दाल, रहरको दाल, तोरीको तेल, खारेको घ्यू र खसीको मासुको मूल्य बढेको छ। चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म सबैभन्दा बढी मूल्य मासको दालमा बढेको छ।
 
मासको दाल गत साउनको तुलनामा फागुनमा प्रतिकिलो ४१ रुपैयाँ बढेको छ। साउनमा १ सय ६९ रुपैयाँ ३० पैसा प्रतिकिलो रहेकोमा फागुनसम्म आइपुग्दा २४ प्रतिशतले बढ्दै २ सय १० रुपैयाँ ३० पैसा पुगेको देखिएको छ। गत वर्ष असोजको पहिलो सातादेखि नै सुरु भएको नाकाबन्दीमा मासको दाल २ सय ४० रुपैयाँसम्म पुगेको थियो।
 
 उपभोग्यमध्येका प्रमुख दश वस्तुमा भएको यो सबैभन्दा धेरै मूल्य बृद्धि हो। त्यस्तै दोस्रो धेरै मूल्य बृद्धि तोरीको तेलमा भएको देखिएको छ। तोरीको तेल प्रतिलिटर ३८ रुपैयाँले बढेको छ। गत साउनमा प्रतिलिटर १ सय ७४ रुपैयाँ २० पैसा मूल्य रहेकोमा फागुनमा २२ प्रतिशतले बढ्दै २ सय १२ रुपैयाँ ६० पैसा पुगेको देखिएको छ। 
 
नाकाबन्दीमा तोरीको तेलको भाउ प्रतिलिटर २ सय ६० रुपैयाँसम्म पुगेको थियो। त्यस्तै साउनको तुलनामा प्रतिकिलो ३७ रुपैयाँ मूल्य बृद्धि भई रहरको दाल फागुनमा २ सय २२ रुपैयाँ पुगेको छ। गत साउनमा रहरको दाल प्रतिकिलो १ सय ८५ रुपैयाँ थियो। यसको मूल्यबृद्धिदर २० प्रतिशतले बढेको देखिएको छ। 
 
गहुँको पीठोमा पनि ११ प्रतिशतले मूल्य बढेको छ। गत साउनमा गहुँको पीठो प्रतिकिलो ४२ रुपैयाँ ६० पैसा थियो भने फागुनमा ४७ रुपैयाँ ३० पैसा पुगेको देखिएको छ।  खारेको घ्यू र खसीको मासुमा भने ३ प्रतिशतभन्दा कम मूल्य बढेको छ। गत साउनमा ७ सय ५२ रुपैयाँ ८० पैसा रहेको घ्यू फागुनमा २.२० प्रतिशत बढ्दै ७ सय ६९ रुपैयाँ ८० पैसा पुगेको देखिएको छ। 
 
खसीको मासुु पनि २. २५ प्रतिशतले बढेको छ। साउनमा खसीको मासु प्रतिकेजी ६ सय ४९ रुपैयाँ २० पैसा भएकोमा फागुनमा ६ सय ६६ रुपैयाँ २० पैसा पुगेको हो। चामल (मोटो) को मूल्य भने थोरै घटेको छ। पहाडमा यसको मूल्य बढेको भए पनि तराईमा घटेका कारण यसको औसत मूल्य घटेको देखिएको छ। गत साउनमा पहाडमा ४५ रुपैयाँ ६० पैसा पर्ने चामल फागुनमा ४८ रुपैयाँ १० पैसा भएको छ भने तराईमा ३९ रुपैयाँ पर्ने चामल ३४ रुपैयाँ ९० पैसामा झरेको छ। 
 
औसतमा साउनमा ४२ रुपैयाँ ३० पैसा पर्ने चामल फागुनमा १.८९ प्रतिशतले घट्दै ४१ रुपैयाँ ५० पैसा भएको देखिएको छ। 
 
सर्वेक्षणका अनुसार सबैभन्दा बढी मूल्य घटेको सुकेको प्याजको हो। साउनमा ७८ रुपैयाँ ७० पैसा पुगेको प्याज फागुनमा ४८.९१ प्रतिशतले घट्दै ४० रुपैयाँ २० पैसामा झरेको छ। 
त्यस्तै अदुवाको मूल्यमा पनि साउनको तुलनामा फागुनमा निकै गिरावट आएको छ। १ सय ३४ रुपैयाँ साउनको मूल्यमा ४३.६५ प्रतिशत कम हुँदै फागुनमा अदुवा ७५ रुपैयाँ ५० पैसा पुगेको छ। 
आलु (रातो) को पनि ११.५० प्रतिशतले मूल्य घटेको छ। साउनमा ३३ रुपैयाँ ९० पैसा औसतमा मूल्य रहेको आलु फागुनमा ३० रुपैयाँमा झरेको देखिएको छ। 


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.