-->
पुरुषले नै स्यानेटरी प्याड मागेपछि...

गुल्मी: ‘गंगाजी ढुंगाखानीमा तपाईं पुग्नुपर्छ है, किनकि सुरक्षित महिनावारी कार्यक्रममा तपाईंको आवश्यकता छ' तम्घास निवासी गणेश श्रेष्ठले मलाई जानकारी गराए । जवाफमा मैले ‘भइहाल्छ नि तपाईं हामी सँगै जाउँला' भने । गुल्मीको रेसुंगा नगरपालिका १४ उर्लेनीमा रहेको ढुंगाखानीमा ६०, ६५ को हाराहारीमा महिलाले काम गरिरहेको जानकारी लिएर हामी महिनावारी स्वास्थ्य शिक्षा अभिमुखीकरण कार्यक्रमअन्र्तगत उर्लेनीको ढुंगाखानीमा जाने निणर्य गर्र्यौ ।
 
गत साता गणतन्त्र दिवसको अवसरमा गर्ने कार्यक्रमको निर्णयका विषयमा बसेको बैठकमा म पनि पुगेको थिएँ । बैठकमा गुल्मीका क्रियाशील अधिकारकर्मी विष्णुकमारी सापकोटासँग भेट भयो । महिनावारी सरसफाइ दिवस २०१६ को पूर्वसन्ध्यामा हामी श्रमिक महिलाको महिनावारीको अवस्था बुझ्न जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक युवराज सलामीसहितको टोली र सेवा सञ्चार गुल्मीका हामी सदरमुकामदेखि ढुंगाखानीतिर हिँड्यौं ।
 
करिब एक घन्टाको पक्की बाटोपछि अप्ठ्यारो बाटोतिर लाग्यौं । गाडी जान निकै गाह्रो । हामी गाडीबाट झरेर श्रमिक महिला भएको ठाउँतिर लाग्यौं । ठाडो भीर, माथिबाट ढुंगा खस्यो भने टाउको लुकाउने खोँचसम्म थिएन । बर्खामासको समय हामीले एकछिन महसुस गर्यौं र सोच्यौँ कसरी जिन्दगी ढुक्क भएर काम गर्न सकून् श्रमिकहरू ? माथिमाथि भएका महिला हामी भएको ठाउँसम्म आइपुग्न निकै गाह्रो हुँदो रहेछ । भुलो ढुंगाखानीको भिरमा छरिएर रहेका श्रमिक महिलालाई जम्मा गर्न हामीलाई आधा घन्टा लाग्यो ।
 
एक मिनेटमा १० टुक्रा गिट्टी फोरेर जीवन चलाइरहेका श्रमिक महिलालाई कार्यक्रममा सहभागी गराउन हामीले निकै प्रयास गर्नुपर्यो । लाजले भुतुक्क श्रमिक महिलासँग हामीले अझ नजिक पुगेर कुराकानी गर्ने प्रयास गरेपछि आफ्नो परिचय खुलाउन थोरै सक्रिय भए । कोही खोटाङबाट, कोही पाल्पाबाट, बागलुङसम्मका महिला गुल्मी आइपुगेका थिए । उनीहरूसँग महिनावारीसम्बन्धी कुरा गर्नु भनेको त धेरै टाढाको विषय रहेछ । हामीले सुरु गर्दा लाजले हाँस्दै श्रीमान्को मुखतिर फर्किने श्रीमतीको संख्या धेरै भेट्टायौं ।
 
हाम्रो प्रयास छोड्ने कुरै थिएन । बोल्दै सिकाउँदै अनि स्वास्थ्यप्रति गम्भीर बनाउँदै जाँदा श्रमिक दिदीबहिनीहरू थोरै भए पनि समस्या भन्न थाल्नु भो । कसैलाई १०/१० दिनमा महिनावारी हुने समस्या पाइयो । काम गर्दागर्दे महिनावारी भयो भने के प्रयोग गर्नुहुन्छ ? भनेर जिज्ञासा राख्दा जमिनमा जे भेटिन्छ त्यही प्रयोग गर्छौं भन्ने जवाफ पाइयो । उनीहरूले सेतो पानी बन्ने, महिनावारी हुँदा निकै गन्हाउने, जसका कारण कसैको छेउमै पर्न मन नलाग्ने समस्या सुनाए । 
 
यस्तो समस्या त्यहाँका लगभग सबै महिलामा रहेछ । हामीले स्वास्थबारे र ध्यान दिनुपर्ने कुराका विषयमा जानकारी गराउँदै गयौं । त्यस क्रममा पुरुष पनि काम छोडेर हामी भएतिरै आए ।
 
धेरै मानिसको बीचमा पनि निकै सुनसान, हामीमात्रै बोलिरह्यौं । श्रमिक महिला आफ्नो स्वास्थप्रति निकै गम्भीर भएर सुन्नुभयो । यो क्रम तीन घन्टा चल्यो । श्रमिक महिलाको लागि हामीले उपहारस्वरूप स्यानेटरी प्याड वितरण गर्यौं । श्रमिक पुरुषको भीडमा माथिपट्टि बसेर हाम्रो कुरा सुनिरहनुभएका एक श्रमिक पुरुषले भने, ‘मलाई पन एउटा प्याड दिनुस् न ? ' के को लागि तपाईंलाई भनेर सोध्दा उनले भने, ‘मैले तपाईंको कुरा सुने, मेरो छोरी पनि नछुने हुन्छ, छोरीको लागि दिन मिल्छ ? '
 
घरमा भएकोलाई दिन नमिल्ने भए पनि तपाईंलाई दिन्छु भन्यौं । उनले सुनेको सबै कुरा छोरी र श्रीमतीलाई सिकाउने बताए । यस्ता बुवा र श्रीमान्हरू हामी कहिलेकाहीँ भेट्ने गर्छौँ । निकै खुसी लाग्यो । प्रहरी सहायक निरीक्षक युवराज सलामीले काम गर्दा कुनै शोषण वा अन्याय भयो भने आफूलाई खबर गर्न आग्रह गरे । महिलामाथि हिंसा वा घृणा गरिएमा प्रहरीलाई उजुरी दिए आफू श्रमिक महिलाको हितमा रहेको जानकारी उनले गराए । 
 
हामी फर्कँदा उनीहरूले ‘अब आउँदा डाक्टरको टोली ल्याइदिनुहोला हाम्रो स्वास्थ्य परीक्षण गराउन मन थियो' भन्दै आग्रह गरे । हामीले ‘हुन्छ, प्रयास गर्छौँ' भन्दै छुट्टियौं । सरकारका धेरै कार्यक्रम सजिलो र सुगममा मात्रै पुग्छन् । यस्ता श्रमिक दिदीबहिनीको पहुँचसम्म कहिले पुग्लान् ? यही सोच्दै हामी गन्तव्यतिर लाग्यौं ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.