काठमाडौँ, २९ वैशाख । ‘प्रचण्डजीसँग दिन बिराएर २-३ घन्टा कुरा हुने गरेको थियो तर बीचैमा एक्कासी कुरा कसरी रड्कियो ? यो यता होइन पारिकै खेल हो । महरा र देउवा यसबीच दिल्ली गई त्यहीँबाट सहमति बनाएर आए ।
माओवादीलाई युद्धकालीन मुद्दाको हतियार बनाएर कन्भिन्स गरे । यसबीच, ज्ञानेन्द्र पनि उतैबाट खेलमा सामेल भई फर्किए । अहिले खुसी मनाउन र्याफ्टिङको बहानामा काठमाडौं बाहिर गएका छन् । यो सब नेपाललाई असफल बनाउने खेल हो ।’
केपी ओलीले बुधबार बिहान पार्टी स्थायी समितिलाई गरेको ब्रिफिङ यस्तो छ । एकदम निराश मुद्रामा उनले भने, ‘प्रचण्डलाई ढुक्क बनाइएको छ । उनी अब बद्लिँदैनन् ।’ एमाले नेताहरुले सम्झाए, ‘उनीहरुलाई दुई तिहाई पुग्न नदिऊँ, १ तिहाईभन्दा बढी मत हामी आफैंसँग राखौं, यसो गर्दा अनावश्यक सिमाना हेरफेर हुन र संविधानमाथि पनि छेडछाड हुन पाउँदैन ।’
त्यहींनेतर ओलीलाई नेताहरुले यसरी पनि सम्झाउने काम गरे– तपाईं ३८ औं प्रधानमन्त्री । यसबीच, कोचाहिँ सहजरुपमा प्रधानमन्त्री बने ? भन्ने दुनियाँलाई थाहा छ ।
बहुमतप्राप्त एकल पार्टीकै सरकार त टिकेको अवस्था छैन भने हाम्रो हालत त झनै कमजोर हो । यस्तो स्थिति आउँछ भनेर प्रचण्डसँग मिली सरकार बनाउँदा नै थाहा थियो । हाम्रो मुख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेस हो ।
विदेशी षड्यन्त्र र कांग्रेसको चलखेललाई निस्तेज पार्ने हो भने एमाओवादीलाई सत्ता छाडिदिए पनि ठूलो घाटा हुँदैन । नीति तथा कार्यक्रम र बजेट ल्याउन माओवादीसँग मिलेर जानुपर्छ । कुनै पनि हालतमा वाम एकता टुट्न दिनु हुँदैन ।
संसदीय र वैधानिक विधिबाट भाग्नु हुँदैन । नेताहरुले यसो पनि भने, ‘हिजो प्रत्यक्ष चुनावमार्फत प्रधानमन्त्रीलाई कार्यकारी हैसियत प्रदान गरौं भन्दा मान्नुभएन । अहिले पछुताएर के हुन्छ ? यही परिपाटीले हाम्रै नेतृत्वमा अर्को सरकार बनाए पनि दुःख पाउनुपर्ने हुन्छ ।’ जनआस्था साप्ताहिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...