३३ बर्ष अघि बन्द भएको विमानस्थल गौचरन र खेल मैदानमा परिणत
३३ बर्ष अघि बन्द भएको गोरखाको पालुङटार विमानस्थल पुनः सञ्चालन हुन नसक्दा यो विमानस्थल गौचरनमा परिणत भएको छ । वि.सं २०१६ सालमा तत्कालीन निर्माणमन्त्री स्वर्गीय गणेशमान सिंहले शिलन्यास गरी २०१८ सालमा निर्माण कार्य सम्पन्न भएको थियो ।
२०३६ सालसम्म सिमरा, काठमाडौं, भैरहवा र हेटौंडामा नियमित विमानसेवा उपलब्ध हुँदै आएको उक्त विमानस्थलबाट लमजुङ, गोरखा, तनहूँ र मनाङका बासिन्दा लाभान्वित भएका थिए । तर पृथ्वी राजमार्गको निर्माण भए पश्चात मोटर चल्न थालेपछि यात्रुहरुको अभावमा २०३६ साल असार १५ गतेबाट उक्त विमानस्थलमा उडान बन्द भएको स्थानियबासीहरु बताउँछन् ।
बिगतमा पृथ्वी राजमार्गको निर्माण हुनुपूर्ब निकै चहलपहल बढेको पालुङटार विमानस्थल अहिले निकै सुनसान छ । पालुङटार विमानस्थलमा चार जिल्लाका बासीन्दाहरु आउने जाने हुदाँ ब्यापारीक दृष्टिकोणले निकै फाइदाजनक भएको यस क्षेत्रका पुराना ब्यापारीहरुको भनाई रहेको छ ।
लमजुङ, गोरखा र तनहूँ जिल्लाको सिमानामा पर्ने यो विमानस्थल ४९ बर्ष अघि तीनै जिल्लाका बासीन्दाको संयुक्त प्रयासमा निर्माण भएको थियोे । आफूहरुले दुःख गरेर खनेको विमानस्थल बर्षौदेखि बन्द हुँदा पालुङटारबासीले नमज्जा मानेका छन् । विमानस्थलमा पहिलो पटक २०१७ सालमा तत्कालीन शाही नेपाल बायुसेवा निगमको विमानले उडान भर्दा खुसीले गद्गद् भएका पालुङटारबासीहरु लामो समयदेखि सो बिमानस्थल बन्द हुदाँ निकै दुखी बनेका छन् । शुरु शुरुमा जहाज चढ्न महङ्गो भएपनि अहिलेका मान्छेहरु जहाज चढ्न सक्ने हैसियत भएकाले पुनः विमान सेवा शुरु गरिनुपर्ने उनीहरुको भनाई रहेको छ ।
१ किलोमिटर लम्बाइ र २ सय मीटर चौडाइ रहेको विमानस्थलको कूल क्षेत्रफल १ सय ८५ रोपनी रहेको छ । विमानस्थल नेपाल नागरिक उड्ययान प्राधिकरणको नाममा भएपनि हवाइ सेवा बन्द भएपछि अहिले पालुङटार विमानस्थल अतिक्रमणको चपेटामा समेत परेको छ । अहिले विमानस्थलको केहि भागहरु विस्तारै अतिक्रमण हुन थालेपछि यस वरपर बसोबास गर्ने स्थानीयहरु चिन्तित बनेका छन् । हवाइ सेवा बन्द भएपछि विमानस्थल अहिले गौचरन र खेलकुद मैदानको रुपमा परिणत भएको छ । ०५८ सालदेखि नेपाली सेनाले विमानस्थलको केही भाग उपयोग गरी सैनिक क्याम्प राखेर बसेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...