माथिल्लो तामाकोशी आयोजनाको काम शुरु
चरिकोट, जेठ ७ गते । दोलखामा रहेको राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको भूकम्पबाट प्रभावित काब्रे भीर सडक खण्डमा भूमिगतमार्ग निर्माण हुन लागेको छ ।
गत वैशाख १२, १३ र २९ गतेका भूकम्पबाट भत्किएको प्रवेश मार्गको करिब चार सय मिटर सडक पूर्ण रुपमा क्षति भएपछि लामो समयसम्म खोजिएको विकल्पमा भूमिगत मार्ग निर्माण हुनेमा टुङ्गो लागेपछि निर्माण थालिएको आयोजनाले जानएको छ ।
आयोजना प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार गोँगर–लामाबगर ११ किलोमिटर सडकमध्ये करिब चार सय मिटरको ट्रयाक नै छैन । भूकम्पका कारण गएको पहिरोले बगाएर तामाकोशीमा पुगेको छ । परामर्शदाता र ठेकेदार समेतसँगको छलफलबाट सडकको तल्लो भाग उठाई भीर खोपेर सडक बनाउँदा दीर्घकालीन नहुने देखिएकाले यसो गर्नु परेको उहाँले बताउनु भयो ।
बाहिरी सतह कमजोर भएकाले परिपक्क र सँधै टिकाउ एवम् चालु हुने गरी तीन सय ६० मिटर भूमिगत मार्ग नै बनाउन थाल्यौँ उहाँले भन्नु भयो, यो काम तीन महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुनै विध्नबाधा नआए सकिन्छ पनि । यो काम सम्पन्न गर्न करिब ११ करोड लाग्ने अनुमान रहेको छ ।
यो भिरभन्दा उतापट्टि करिब तीन किलोमिटर सडक निर्माण भएपछि जलाशय हेडवक्र्ससम्म सडक चालु हुनेछ । दोलखा–सिङ्गटी सडकमा खासै असर परेको छैन, सुचारु रहेको छ । सिङ्गटी–गोँगर १८ किलोमिटर प्रवेश मार्ग सामान्य मर्मतपछि सञ्चालनमा छ । सिभिल काम गर्ने ठेकेदार चिनियाँ कम्पनी सिनो हाइड्रोले पहिरो पन्छाउने काम गरिरहेको छ ।
कामदारबाहेक प्राविधिक टोलीहरु आइसकेका छन् । सडकको काम नभई बाँधस्थल मुख्य सुरुङलगायतका काम गर्न सकिएको छैन, उहाँले भन्नु भयो, करिब ८० प्रतिशत काम सम्पन्न भइसकेका थिए । भूकम्पले क्षति नपु–याएको भए यतिखेर विद्युत उत्पादन भइसक्ने थियो । अब पनि कुनै बाधा अवरोध नआए करिब एक वर्षभित्र आयोजना सम्पन्न हुने सम्भावना रहेको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...