-->
पाल्पाका अग्निपीडितको मनमा पीडा मात

पाल्पा। पाल्पा जिल्लाको हुमीन–६ की कृष्णकुमारी श्रेष्ठको पाँच जनाको परिवार छ । गत शनिबार गाउँमुनिको जङ्गलबाट सल्केको आगोले श्रेष्ठको घर जलेर नष्ट भएपछि रात कसरी बिताउने भन्ने पिरलो छ ।
हुमीन गाविसको हुलाक कार्यालयको सानो कोठामा अहिले उनीहरुको परिवार बस्दै आएको छ । कता खाना पकाउने, कता सुत्ने भन्ने चिन्तामा रहेका श्रेष्ठ परिवारको घरमा आगलागी भएपछि सबै सामान नष्ट हुन पुगेको र केहीपनि सामान जोगाउन नसकिएको श्रेष्ठको भनाइ छ ।
आगलागीबाट यहाँका छ परिवार घरवारविहीन बनेका छन् । उनीहरुको परिवारमा कुनै उत्साह छैन, तर दुःखको बेला प्रशासन, रेडक्रस, जिल्ला दैविप्रकोप उद्धार समितिका मान्छेसमेत गाउँमा नछिरेको अग्निपीडित बताउँछन् । हामीलाई कहीँकतैबाट पनि राहत प्राप्त हुन सकेको छैन, दुःख परेको बेला सहारा गर्ने राज्य खोई ?, अग्निपीडित कृष्ण कुमारी श्रेष्ठको भनाइ नै काफी छ ।
देवीनगर गाविस र हुमीन गाविसको सीमा क्षेत्रमा फैलिएको आगो नियन्त्रण हुन नसकी हुमीनको बजार क्षेत्रमा आगो फैलिँदा छवटा घर तथा चार गोठ जल्दा सुन्दर बस्ती हुमीन छिनभरमा नै उजाड बनेपछि गाउँलेको मन छियाछिया बन्न पुगेको हो ।
आगलागीबाट विस्थापित हुनुभएका हुमीन–६ की काशीकुमारी श्रेष्ठको गुनासो पनि उस्तै छ । “घरभन्दा तलको जङ्गलमा लागेको आगो निभाउन श्रीमान् र छोरा त्यहाँ जानुभयो । त्यही आगो बस्ती पसेपछि घर छिनमा नै खरानी बन्यो । हामीले केही गर्नसक्ने अवस्था रहेन,” अग्निपीडित काशीकुमारीले आफ्नो दुखेसो पोख्नुभयो ।
“एकरात बारीमा नै बसियो, अहिले छोरीको घरमा शरणमा रहेका छौँ, छ जनाको परिवार अहिले छिनमा नै घर जलेर क्षति भएपछि अबका दिनरात कसरी बिताउने बन्ने चिन्ताबाहेक अरु मन बुझाउने केही नै छैन,” अग्निपीडित काशीकुमारीले भन्नुभयो ।
“स्थानीयको सहयोगमा केही कपडा निकालियो, मकै, धान त खरानी बन्यो । आफन्तको शरणले कति दिन पो धान्छ ?” भएको सम्पत्ति गुमाएर बस्न बाध्य श्रेष्ठ परिवार यतिबेला चिन्तामा डुबेका बेला राज्यतर्फबाट कुनै पनि सहयोग प्राप्त नै नभएको बताउँछ ।
यस्तै, दुःखको पोको फुकाउन धु्रव श्रेष्ठ नजिकै आउनुभयो । रात बिताउने एउटा घर थियो, अब त्यो घर र घरमा रहेको सम्पत्ति पनि नष्ट भएपछि भगवान्लाई प्रार्थना गर्नेबाहेक आफूसँग अरु केही नै नभएको उहाँको भनाइ थियो । दुःखको बेला कतैबाट पनि राहत नमिलेको उहाँको पनि कथन छ ।
पाल्पामा एक हप्ताको अवधिमा आठ घर, ११ गोठ जलेर पूर्णरुपमा क्षति भएपनि ती अग्निपीडितले राहत नपाएको गुनासो बढेको छ । अग्निपीडितलाई राहतको व्यवस्था तत्काल मिलाउन सके उनीहरुको घाउमा मलम लगाएर निको पारेजस्तै हुने स्थानीयको धारणा रहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.