-->
कप्तान गुरुङको पुनरागमन

काठमाडौं- सिनियर खेलाडी अनिल गुरुङ, किरण चेम्जोङ, भरत खवासलगायत ६ जनाले राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन्। अर्को साता लाओसविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीले आइतबार २० सदस्यीय टोलीका घोषणा गर्दा उनीहरु समेटिएका हुन्। चार दिनको प्रशिक्षणपछि कोजीले ३३ बाट २० खेलाडीको अन्तिम छनोट गरेका थिए। 

अखिल नेपाल फुटबल संघ (एन्फा)को आग्रहमा जेठ १६ गते लाओस आफ्नै मैदानमा नेपालसँग मैत्रीपूर्ण खेलका लागि राजी भएको हो। माघमा बंगलादेशमा बंगबन्धु गोल्डकप उपाधि जित्दाका २३ मध्ये ९ खेलाडी यसपटक अटाउन सकेनन्। त्यसबखतका १४ खेलाडीले भने निरन्रता पाएका छन्।

स्ट्राइकरद्वय अनिल र भरत था गोलकिपर किरणसँगै पुनरामगन गर्नेमा देवेन्द्र तामाङ, राजेन्द्र रावल, सुजल श्रेष्ठ छन्। अनिलले साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी गरेका थिए। बंगबन्धुयता भने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पनि टोलीको कप्तानी विराज महर्जनले गरेका थिए। फागुनमा भएको सागमा पनि राष्ट्रिय खेलाडीकै बाहुल्यता थियो। यद्दपी त्यो यू २३ को प्रतियोगिता हो। नेपालले सागमा फुटबलतर्फ स्वर्ण जितेको थियो।

बंगबन्धु जित्दाका खेलाडी मध्ये यसपटक पनि निरन्तरता पाउनेमा गोलकिपर विकेश कुथु, रक्षक विराज, रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ छन्। त्यस्तै मिडफिल्डर प्रकाश बुढाथोकी, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, अन्जन विष्ट तथा फरवार्डद्वय नवयुग श्रेष्ठ र सुनि बलले निरन्तरता पाएका छन्।

बंगबन्धु खेलेर यसपटक नपर्नेमा गोलकिपर एलन न्यौपाने, अमृत चौधरी, रक्षकहरु दीनेश राजवंशी, मानबहादुर तामाङ, मिडफिल्ड जाङ्बु शेर्पा, तेज तामाङ छन्। हाल विदेशमा रहेका विमल घर्तीमगरसहित रञ्जन विष्ट र सुमन लामा मैत्रीपूर्ण खेलका लागि टोलीमा अटेनन्। एन्फाका अनुसार नेपाल अनिलको कप्तानीमा उत्रनेछ। नेपाल फिफा वरियताको १ सय ८० औं र लाओस १ सय ७६ औं स्थानमा छ।

टोलीका प्रशिक्षक राजुकाजी शाक्यले घरेलु प्रतियोगिता र पछिल्लो चार दिनको प्रशिक्षणका आधारमा खेलाडी छनोट गरेको बताए। 'राष्ट्रिय टोलीलाई सधै तयारी अवस्थामा राख्नुपर्छ र बढी भन्दा बढी खेलाडीलाई मौका दिनुपर्छ भन्नेमा हामी छौं,' शाक्यले भने,' हामी हरेक मैत्रीपूर्ण खेलमा खेलाडीको प्रदर्शन हेर्ने र मुल्याङ्न गर्नेमा छौं। त्यसैले अहिले केही सिनियर खेलाडी टोलीमा फर्केका छन्।'

यसपटकको टोलीमा सबैभन्दा बढी ८ मिडफिल्डर छन् भने ६ रक्षक ४ फरवार्ड र २ गोलकिपर छन्।

राष्ट्रिय फुटबल टोली

गोलकिपर – किरण चेम्जोङ, विकेश कुथु

रक्षक – रविन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, विराज महर्जन

मिडफिल्ड – प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, विशाल राई, राजेन्द्र रावल, अन्जन विष्ट, जगजित श्रेष्ठ

फरवार्ड – भरत खवास, नवयुग श्रेष्ठ, अनिल गुरुङ, सुनिल बल ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.