-->
महिला डाक्टरलाई ‘सिस्टर’ भन्ने, पुरुष डाक्टरलाई ‘ब्रदर’ किन नभन्ने !

‘डाक्टर’ भन्ने बित्तिकै ‘ओहो !’ भन्ने चलन नेपाली समाजमा नौलो भएन । जति सम्मान यो पेशालाई दिइन्छ, त्यति सायदै अन्य पेशालाई दिइन्छ । तर, जब महिला डाक्टरको कुरा आउँछ, बिरामी र बिरामीका आफन्तले हेर्ने दृष्टिकोण समान पाइदैन  ।  महिला र पुरुषलाई गरिने विभेद यो पेशामा पनि उस्तै देखिन्छ ।
नेपाल त्यस्तो देश हो जहाँ लक्ष्मी (नारी)को पूजा हुन्छ । ती अदृष्य छिन् । यही देश हो जहाँ एउटी नारी संघर्षका बाबजुद राष्ट्रपति बन्छिन् तर उनले मन्दिरमा पाउ राखेको भन्दै मन्दिर चोख्याइन्छ । हो, यो एउटा त्यस्तो राष्ट्र हो, जहाँ पुरुष र नारीको समानता कुरा खुब उठ्छन् तर व्यवहारमा लागू गर्न हरेकलाई मुश्किल परिरहेको अवस्था छ ।
नारी र पुरुषबिच समानताको कुरा गर्ने यही समाजले महिला डाक्टरलाई विश्वास गर्न गाह्रो मान्छ, किन ? हरेक व्यक्तिको सोचाई त्यस्तै हुन्छ भन्ने होइन । तर मेरो भोगाइ अनुसार अधिकांस व्यक्ति महिलालाई डाक्टरको रुपमा स्वीकार्दैनन् । एउटा मेडिकल कलेजमा आएका बिरामीको कुरा गरौं । एमडी गरेकी महिला डाक्टर र सँगै इन्टर्न गरिरहेको पुरुष डाक्टर छ भने हरेक बिरामी ‘डाक्टरसा’ब’ भन्दै पुरुषकै अघि पुगेको देखेकी छु । किनभने बिरामी वा उसका आफन्तको दिमागमा डाक्टर भनेको पुरुष हो भन्ने छ ।
कहिलेकाहिँ बिरामी वा उसका आफन्त महिला डाक्टरकोमा पुगेर सोध्छन्– डाक्टरसा’ब खै त ? यो पंति पढिरहँदा लागिरहेको होला, कतै दूरदराजको कुरा उप्काइरहेकी होली । होइन, यो त काठमाडौं भित्रै महिला डाक्टरले नियमित भोगिरहेकै कुरा हो । पढेलेखेकै जस्तो देखिनेहरुले सोध्ने प्रश्न हो, देखाउने व्यवहार हो ।
महिला डाक्टरले अस्पतालमा काम गर्दा कैयौं पटक बिरामी वा उसका आफन्तले ‘सिस्टर’ भनेर बोलाउँछन् । यो सम्बोधनले हरेक महिला डाक्टरको चित्त अवश्य दुख्छ । यो नर्सलाई गर्ने सम्बोधन हो र त्यो पेशा सानो हो भनेर चित्त दुख्छ भन्न खोजेकी होइन । समाजको त्यो सोच उजागर गरिरहेकी छु, सेता कोट धारण गरेकी महिला देख्दा ‘डाक्टर पनि हुन सक्छिन्’ भन्ने ठान्दैन । कतिलाई किन महिला डाक्टर हुन सक्छिन् भनेर सोच्नुहुन्न भन्ने प्रश्न पनि गरिन्छ । कतिपयका तर्क हुन्छन्– बहिनी भनेर ‘सिस्टर’ सम्बोधन गरेको । महिला डाक्टरलाई बहिनी भनेर सिस्टर सम्बोधन गर्नेले पुरुष डाक्टरलाई ‘ब्रदर’ किन भन्दैन वा भन्न सक्दैन ?
मैले हामीलाई डाक्टरसाहेब भनेर सम्बोधन गर्नुपर्छ भन्ने खोजेकी होइन । सम्मान भन्ने कुरा गर्नेको आत्मदेखि आउनुपर्छ । पाउनेले आफ्नो कामबाट पाउँछ, कुनै डिग्री वा दर्जाले दिलाउँछ भन्ने कुरामा मेरो विश्वास छैन पनि । ‘डाक्टर’ हाम्रो परिचय अर्थात् अस्तित्व हो ।
‘डाक्टर’ शब्द कसरी आयो र यसको अर्थ के हो ? डाक्टर  भनेको लेटिन भाषाबाट आएको शब्द हो । जसको अर्थ ‘टु टिच’ अर्थात् ज्ञान बाँड्नु हुन्छ । संसारको कुनैपनि ठाउँमा पिएचडी, डिपिएच, एमबिबिएस र एमडी गरेकाहरुले यो उपाधि पाउँछन् । जसरी कसैलाई गलत नामले बोलाइयो भने उसले तुरुन्तै सच्याउँछ– जस्तोः मलाई राम भन्नुभयो तर मेरा नाम श्याम हो । त्यसरी नै हामीलाई ‘सिस्टर’ भनेर बोलाउँदा ‘सिस्टर होइन डाक्टर हो म’ भन्दा परिचय सच्याएको भन्ठानुहोला । यसलाई अन्यथा नलिदिनु होला ।
नारी एउटी आमा हुन्, दिदीबहिनी हुन्, अर्धाङ्नी हुन् । जति माया र ममता एक नारीमा हुन्छ, त्यति पुरुषमा हुँदैन । यो प्राकृतिक कुरा पनि हो । त्यसमाथि डाक्टरी पेशामा लागेपछि कर्म र धर्म नै सेवा हुन आउँछ । कुनैपनी डाक्टरले आफ्नो बिरामीको कुभलो चाहदैन । यदि कसैले त्यसरी सोच्छ भने त्यो मानिस डिग्रीले डाक्टर भए पनि मन र आत्माले कहिलै डाक्टर हुन सकेको छैन भन्ने बुझ्नुपर्छ ।
एउटा पुरुष डाक्टर जुन बिद्या पढेर डाक्टर हुन्छ । महिलाले पनि त्यही शिक्षा लिएर डाक्टर बन्ने हो । तर, किन यो समाज जब अपरेसन गर्ने कुरा आएपछि पुरुष नै पहिलो रोजाइमा पार्छ ? एउटा महिला जोसँग क्षमता र योग्यता हुँदा हुँदै पनि किन पत्याउँदैन समाज ?
‘माइनर फ्याकल्टी लिए केटी मान्छेलाई सजिलो हुन्छ । ओर्थोपेडिक्स पढ्न केटी मान्छेलाई गाह्रो हुन्छ । एमडी सकेकै केटासँग विवाह गर्दा जीवन सजिलो हुन्छ’ भन्ने बारम्बार सुन्नुपर्छ हामीले ।
एउटा दाम्पत्य जीवन । श्रीमान् र श्रीमती नै डाक्टर । दुईटैले ड्युटी सकेर घर फर्किदा भान्सामा महिला नै पस्नुपर्ने ? आखिर काम त दुईटैले एउटै गरेको हो । थकाई त दुबैलाई लाग्छ तर महिलाको कामलाई न त कसैले काम सोच्छ न त उसको थकाई नै कसैले देख्छ । डाक्टर जस्तो शिक्षित व्यक्तिमा यस्तो रुढिबादी सोच छ । अनि कसरी महिला र पुरुष समान हुन् भन्ने समाजले आत्मसाथ गर्न सक्छ ?


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.