शुक्रबार देखि दैनिक एक घण्टा घट्दै छ लोडसेडिङ, अब दैनिक १० घण्टा लोडसेडिङ हुने,
नदीमा पानी बढ्यो
जेठ ५
काठमाडौं । चर्को लोडसेडिङ खेप्दै आएका विद्युतका उपभोक्तालाई शुक्रबार देखि केही राहत पुग्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले शुक्रबार देखि लागु हुनेगरी दैनिक एक घण्टा लोडसेडिङ घटाउने निर्णय गरेको छ ।
एक घण्टा घटेपछि अब दैनिक १० घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले बुधबार दैनिक एक घण्टा लोडसेडिङ निर्णय गरेको हो । शुक्रबार देखि नयाँ तालिका अनुसार लोडसेडिङ हुनेछ ।
नदीमा पानीको बहाव केही बढेपछि विद्युत उत्पादनमा सुधार भयो । यही कारण राष्ट्रिय प्रशारणमा विद्युत आपुर्ति थपिएको छ । विद्युत उत्पादन केही बढेको कारण दैनिक एक घण्टा लोडसेडिङ घटाउन लागिएको प्राधिकारणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले जानकारी दिए ।
दुई साता अघि प्राधिकरणले अघोषित रुपमा दैनिक एक घण्टा लोडसेडिङ बढाएको थियो । उत्पादन अत्यन्त थोरै भएपछि केही दिन अघोषित रुपमै लोडसेडिङ थपिएको थियो । तर धेरै दिन यस्तो अवस्था रहेन । केही दिनमै उत्पादनमा सुधार आउँदा तालिका अनुसार नै लोडसेडिङ हुन थालेको थियो ।
विद्युतको आन्तरिक उत्पादन गत वर्षको यही अवधिमा भन्दा करिव दुई सय मेगावाट कम छ । गत वर्ष भूकम्पका कारण यस बेला जनजीवन निकै कस्टकर थियो । उद्योग धन्दा बन्द भएकोले लोडसेडिङ धेरै बढेको थिएन । यस वर्ष भारतबाट थप विद्युत आयात गर्दा पनि आन्तरिक उत्पादन घटेको कारण दैनिक ११ घण्टा लोडसेडिङ हुदै आएको छ ।
‘लोडसेडिङ घटाउन सहज अवस्था छैन, कार्यकारी निर्देशक काफ्लेले भने, अहिले बल्लतल्ल एक घटाएका छौं । खोलामा पानीको बहाव बढ्यो भने केही दिनमै फेरि घटाउँछौं ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...