-->
विद्युतीय कारको भाउ ३ लाखसम्म घट्ने

सरकारले आर्थिक वर्ष २०७३/७४ को वजेटमा विद्युतीय कार, जिप र भ्यानमा लाग्ने शुल्क घटाएको छ। गत आर्थिक वर्षसम्म विद्युतीय कार, जिप  र भ्यानमा ४० प्रतिशत भन्सार निर्धारण गरेको सरकारले यसपाली घटाएर १० प्रतिशतमा झारेको हो। 
 
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाका अनुसार अब विद्युतीय कार, जिप र भ्यानमा भारत तथा अन्य देशबाट ल्याउँदा १० प्रतिशत भन्सार शूल्क र १३ प्रतिशत भ्याट, सवारी कर गरी सरदर २५ प्रतिशत रकम भन्सारकार्यलयमा बुझाउन पर्नेछ। 
 
२६ सिट भन्दा बढि क्षमताका विद्युतबाट चल्ने सवारी साधनमा भने १ प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट लाग्ने ढुंगानाले बताए। यस्ता विद्युतीय सवारी साधनमा पनि अन्तःशूल्क नलाग्ने उनले बताए। ठूला विद्युतीय गाडीमा यस अघिसम्म भन्सार शूल्क १५ र भ्याट १३ प्रतिशत रहेको थियो।
 
अग्नी इनकर्पोरेटका मार्केटिङ म्यानेजर सिजन न्यौपानेका अनुसार सरदर ३ लाख रुपैयाँको हाराहारी विद्युतीय कार, भ्यान र जिप सस्तो हुनसक्छ। ‘अहिले नै  कति सस्तो हुन्छ भने विषयमा हिसाब किताब भइसकेको छैन’, उनले भने, ‘अबको दुई तीन दिनमा कति घटने हो भन्ने थाहा हुन्छ।’ बाहिर बजारमा हल्ला रहेको जस्तो मूल्य एकदमै धेरै भने नघट्ने उनले बताए। अहिले नेपाली बजारमा पाइने महिन्द्रको सबै भन्दा मँहगो विद्युतीय कारको मूल्य २४ लाख ७५ हजार रुपैयाँ रहेको छ। 
 
विद्युतीय बाहेक अन्य सवारी साधनमा लाग्ने करको डर भने पुरानै कायमै रहेकोछ। पेट्रोलियम पदार्थबाट चल्ने  निजी कार, जिप र भ्यानमा ८० प्रतिशत भन्सार शूल्क, ६० प्रतिशत अन्तःशूल्क र १३ प्रतिशत भ्याट गरी भारतबाट आउने सवारी साधनको हकमा २ सय २१ दशमलब १ प्रतिशत र अन्य देशबाट आउनेको हकमा २ सय २५ दशमलब ४५ प्रतिशत कर लाग्ने उनले बताए। 
 
त्यस्तै २६ सिट  भन्दा बढी सिट क्षमता भएका सवारी साधनको हकका ३० प्रतिशत  पैठारी शूल्क, ५ प्रतिशत भन्सार शूल्क र १३ प्रतिशत भ्याट लाग्छ। साथै १५ देखि २५ सिट क्षमताका  बसहरुमा भने ३० प्रतिशत भन्सार शूल्क, ३० प्रतिशत अन्तःशूल्क र १३ प्रतिशत भ्याट गरी भारतबाट आउनेमा ९६ दशमलब ०३ र अन्य देशबाट आउनेमा ९८ दशमलब ३२ प्रतिशत कर लाग्ने गरेकोछ।
 
त्यस्तै माइक्रोबसमा ३० प्रतिशत भन्सारकर, ५५ प्रतिशत अन्तःशूल्क र १३ प्रतिशत भ्याट गरी भारतबाट आउनेको हकमा १ सय २५ दशमलब ०७ र अन्य देशबाट आउने हकमा १ सय २७ दशमलब ७ प्रतिशत कर लाग्ने उनले बताए। 



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.