बेलायती चिकित्सक आतंकवादी संगठनमा
एजेन्सी- बेलायतको राष्ट्रिय स्वास्थ्य सेबामा आबद्ध एक चिकित्सक आतंककारी मुस्लिम समूह इस्लामिक स्टेट (आइएस) मा लागेको खुलासा भएको छ । आइएसबाट चुहावट भएका गोप्य सूचनाका आधारमा बीबीसीले यस्तो खुलासा गरेको हो । ३७ वर्षीय इसाम अबुन्जाले सन् २००९ मा बेलायतमा चिकित्सकको इजाजत पत्र प्राप्त गरेका थिए । बेलायतमा रहेको सेफफिल्डका इसाम पत्नी र दुई सन्तानलाई छोडेर सन् २०१४ मा आतंककारी समूहमा लागेको पत्ता लागेको हो ।
चिकित्सकको गाउन लगाई कुममा बन्दुक भिरेको तस्बिर उनले फेसबुक पेजमा राखेका छन् । तस्बिरमा उनी एउटा औंला ठड्याएर मन्द मुस्कानमा देखिन्छन् । यो पोज आइएस आतंकवादीहरुको एउटा साझा संकेत हो । त्यस्तै अर्को तस्बिरमा उनी आइएसका सेनाले लगाउने पोसाक लगाएर गोलीगठ्ठा भिरेर कुरान पाठ गरिरहेका देखिन्छन् ।
उनको कार्यलाई परिबारले कहिल्यै क्षमा नदिने उनकी बहिनी नाज्लाले बताईन् । बेलायतको स्वास्थ्य सेबामा ७ वर्ष सेबा गरेका डा. अबुन्जाले फ्रान्सको व्यंग पत्रिका चार्ली हेब्दोमाथि भएको आतंककारी हमलाको खुलेर प्रशंसा गरेका थिए । सो हमलामा आइएस लडाकूले पत्रिकाका १२ कर्मचारीको गोली हानी हत्या गरेका थिए । त्यसको अर्को महिना आईएसले नियन्त्रणमा लिएर जीवित जलाइएका पाईलटका बारेमा टिप्पणी गरेका थिए । ‘उसलाई अझै बिस्तारै जलाएर तड्पाएर हत्या गरिएको भए हुन्थ्यो ताकि उसलाई अझै बढी यातना हुन्थ्यो,’ उनले फेसबुक पोस्टमा लेखेका थिए ।
आइएसले स्वघोषित क्यालिफेट (मुस्लिम राज्य) को स्थापना गरेपछि उनी सन् २०१४ को जुलाईमा सिरिया प्रवेश गरेका थिए । आइएसमा भर्ती भएका अन्य हजारौ मानिसले जस्तै उनले पनि दर्ता अभिलेख पूरा गरेका थिए । उनी हर्मोन विशेषज्ञ हुन् ।
सन् २००३ मा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय फौजले इराकमा आक्रमण गर्नुअघि डा. अबुन्जाले बगदादमा भर्खरै चिकित्सकको योग्यता हाँसिल गरेका थिए । सन् २००७ देखि २००९ सम्म उनी बेलायतको नर्थ वेल्समा काम गर्थे ।
(बीबीसीको सहयोगमा)


0 comments
प्रतिक्रिया दिनुहोस्...