-->
बम विस्फोटबाट बाह्रको मृत्यु

दमासकसः सिरियाको मध्य प्रान्त होम्समा बिहीबार भएको दुई वटा बम विस्फोटनमा परी कम्तीमा १२ व्यक्तिको मृत्यु भएको छ ।
यस विस्फोटमा परी अन्य ४० जना घाइते भएका राज्यद्वारा सञ्चालित समाचार समिति सानाले जानकारी दिएको छ । होम्स सहरको पूर्वी भागमा पर्ने मुआरम अल फुकानीमा यो घटना भएको जनाइएको छ ।
साना समाचार समितिका अनुसार यस बम विस्फोटबाट ठूलो सपत्तीको नोक्सानी भएको छ । यस आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन । तर यस सहरनजिकै इस्लामिक स्टेट र अल कायदासँग आवद्ध नुस्रा फ्रन्टको बलियो प्रभाव रहेको जनाइएको छ ।
सन् २०११ को मार्च महिनादेखि त्यहाँका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भएको थियो । हाल त्यहाँ गृहयुद्ध जारी छ ।
सो समयदेखि हालसम्म जारी हिंंसा तथा द्वन्द्वमा परी दुई लाख ७१ हजारभन्दा बढी सर्वसाधारण एवम् सुरक्षाकर्मीले ज्यान गुमाएको तथ्य बेलायतसँग आवद्ध सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले जनाएको छ ।
यस द्वन्द्वमा ७९ हजारभन्दा बढी सर्वसाधारण नागरिक मारिएका र यसमा १३ हजार ५०० बालबालिका र करिब ९ हजार महिला रहेका छन् । सिरियामा केही महिनायतादेखि युद्धविराम भएको छ । त्यसको अनुगमन संयुक्त राष्ट्रसङ्घ र अमेरिकाले गरिरहेका छन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.