विराटनगरः बर्खा सुरु नहुँदै पूर्वी क्षेत्रमा चट्याङ लागेर नौ जनाको ज्यान गएको छ । बैसाख महिनामामात्र मेची र कोशीका जिल्लामा चट्याङ लागेर सत्ताईस जना गम्भीर रुपमा घाइते भएका छन् ।
ओखलढुङाको कालिका गाविसमा बिहीवार दिउँसो चट्याङ लागेर घरमै बसिरहेकी कालिका ५ की ४० वर्षीय विष्णुमाया श्रेष्ठ र सोही गाविस ६ का ६० वर्षीय निरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । प्रहरी चौकी पलापुलेका अनुसार दिउँसो १ बजे चट्याङ परेको थियो ।
ओखलढुंङाको च्यानम गाविसमा मंगलबार चट्याङ लागेर ६ वर्षीया बालिकाको मृत्यु भएको थियो । अपरान्ह खसेको चट्याङबाट घरमै बसीरहेकी च्यानम गाविस १ बस्ने हर्कबहादुर राईको छोरी अनिता घाइते भएकी थिइन् ।
उनको उपचारकाक्रममा जिल्ला सदरमुकामस्थित मिशन अस्पतालमा राति साढे बाह्र बजे मृत्यू भएको भएको प्रहरी चौकी कोशीहाटले जनाएको छ । चट्याङ लागेर सोही गाविस ३ का ६३ वर्षीय नरबहादुर कटुवाल घाइते भएका थिए । मोरङको दर्वेशा ८ स्थित धनजुवा भन्ने स्थानमा विहीबार अपरान्ह चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
स्थानीय ५५ वर्षका बुधराइ सोरेनको घर नजिकै खेतमा गाई वस्तु चाराउनेक्रममा चट्याङ पर्दा घटनास्थलमै मृत्यु भएको थियो ।
गत आइतबार ईलामको साखेजुङमा परेको चटयाङ लागेर साखेजुङ ५ की ५० वर्षीया लिलादेवी राईको उपचारका
लागि इलाम जिल्ला अस्पताल ल्याउनेक्रममा बाटोमै मृत्यु भएको थियो । चट्याङ लागेर ईलाम नगरपालिका ७ का ३१ वर्षीय मिलन विक घाइते भएका थिए ।
बैसाख ११ गते खोटाङको वाक्सिला ५ स्थित पृथ्वी उच्च माध्यमिक विधालयको खेलमैदानमा चट्याङ पर्दा एकको मृत्यु भयो । घटनामा पन्ध्र जना घाइते भए । खेल चलिरहँदा परेको चट्याङ लागेर खेलाडीसहित दर्शकहरु घाइते भए । घटनामा सप्तेश्वर गाविस ३ बस्ने वर्ष ६२ को जगतबहादुर राईको मृत्यू भयो । घटनामा तीनजना प्रहरीसहित १५ जना घाइते भएका थिए । तीमध्ये पाँच जना सप्तेश्वर ३ का २२ वर्षीय गोपी राई, वाक्सिला ७ की १८ वर्षीया प्रमिला राई, सोही ठाउँका ५० वर्षीय चन्द्रबहादुर बस्नेत, वाक्सिला ६ की ४० वर्षीया दिलकुमारी राई र वाक्सिला १ का ४५ वर्षीया रामकुमार राइ निकै गम्भीरर घाइते भए ।
घटनामा जुनुकला सुनुवार, उमेश राई, प्रकाश श्रेष्ठ, एलिना राई, बालध्वज श्रेष्ठ घाइते भए । चट्याङ लागेर प्रहरी नायव निरीक्षक झनकबहादुर अधिकारी, प्रहरी हवल्दार ईश्वर दाहाल र प्रहरी जवान दुर्गा राई सामान्य घाइते भएका थिए । १२ जनालाई नेपाली सेनाको हेलिकप्टरद्वारा काठमाण्डौ लगेर उपचार गरिएको थियो ।
सोही दिन खोटाङकै नुनथला गाविस १ स्थित मौरे भन्ने स्थानमा चट्याङ लागेर स्थानीय ७३ वर्षीया विविशोभा राईको घटनास्थलमै मृत्यु भयो । राईको आफ्नै घरमा बसेको अवस्थामा चट्याङ लागेर मृत्यु भएको थियो ।
बैसाख २ संखुवासभा र ताप्लेजुङमा परेको चट्याङ लागेर दुई जनाको मृत्यु भयो ।
घटनामा संखुवासभा सिसुवाखोला १ का ४४ वर्षीय चन्द्रकुमार राई र ताप्लेजुङ नगरपालिका ४ बस्ने ७२ वर्षीया विष्णुमाया राजभण्डारीको मृत्यू भएको पूर्वक्षेत्र प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चट्याङ लागेर त्यही दिन सिसुवाखोलामा अन्य तीनजना घाइते भएका थिए ।
बुधबार धनकुटाको मूर्तिढुंगामा गएराती वर्षासंगै चट्याङ पर्दा पाँच जना घाईते भएका थिए । घटनामा मूर्तिढुंगाका ६ बस्ने १७ वर्षीया रेणुका थापा र जानुका थापा, मुर्तिढुंगा ८ बस्ने २६ वर्षीया ईन्दिरा खड्का, ३५ वर्षीया हिरा बराल र २५ वर्षीया प्रमिला खड्का घाईते भएका थिए । चट्याङ लागेर टंक खड्का र सुमिता श्रेष्ठको दुई वटा दुहुनो भैंसीसमेत मरेका थिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...