काठमाडौँ, १७ जेठ । गतवर्षको भूकम्पबाट क्षती पुगेको ऐतिहासिक रानीपोखरीको पुनःनिर्माणको काम तीव्र रुपमा अघि बढेको छ ।
‘गोरखा भूकम्प’का कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्ण रुपमा भत्केको थियो । सो मन्दिर वर्षको एक दिन भाइटीकाका दिन मात्र खुल्छ, जहाँ दाजुभाइ नभएका दिदीबहिनी र दिदीबहिनी नभएका दाजुभाइ जाने गर्छन् ।
झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने कामका लागि कति जनशक्तिको आवश्यकता पर्ने, कति खर्च लाग्ने, हिलो कहाँ व्यस्थापन गर्ने भन्ने यकिन नभएको काठमाडौं महानगरपालिकाले जनाएको छ । रानीपोखरीको पुनःनिर्माण अन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलिमिली बनाइने र पोखरीको संरक्षणका लागि चारैतिर बार निर्माण गरिने, बोटबिरुवा रोपिने तथा हरियाली बनाइने छ ।
ऐतिहासिक महत्व बोकेको ‘विष्णुतीर्थ’ प्रताप मल्लका कान्छा छोरा चक्रव्रतेन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउनका लागि निर्माण गरिएको भनाइ छ । विसं १७२५ देखि १७२७ सम्म दुई वर्ष लगाएर पोखरी निर्माण गरिएको हो ।
पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरु सहितको सेतो मूर्ति छ । पोखरीकै चारै कुनामा सोह्रहाते गणेश मन्दिर छ । रानीपोखरीमा केही वर्षदेखि छठ पर्व पनि मनाउन थालिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...