-->
एनसेलले तिर्यो नौ अर्ब ९६ करोड

काठमाडौं: एनसेलले एभरेस्ट बैंकमा रहेको आफ्नो खातामा नौ अर्ब रुपैयाँभन्दा बढी रकम शुक्रबार ट्रान्सफर गरेको सूचना पाएका ठूला करदाता कार्यालयका अधिकारी आइतबार उसले पैसा तिर्छ भन्नेमा ढुक्क थिए। 
 
कार्यालयले एनसेललाई खरिदबिक्रीमा लाभ भएको रकमबाट अग्रिम करकट्टीबापत १५ प्रतिशत रकम दाखिला गर्न दिएको म्याद आइतबार सकिँदै थियो।
तर कति रकम जम्मा गर्छ र विवरण के भरेर ल्याउँछ अन्योल थियो। केही दिनयता एनसेलले खर्च बढी देखाएर लाभको रकम कम घोषणा गरी थोरै कर तिर्ने योजना बनाउँदैछ भन्ने हल्ला सुरु भइसकेको थियो। 
 
एनसेलका प्रमुख कार्यकारी (सीईओ) सिमोन पार्किन्स चार्टड एकाउन्टेन्ट सुदर्शनराज पाण्डे र अधिवक्ता अमर थापासँग दिउँसो १ बजे पहिलोपटक ठूला करदाता कार्यालय छिरे। उनी प्रमुख कर प्रशासक शोभाकान्त पौडेलसँग चिनजान गरी कर विवरण र एभरेस्ट बैंकको राजस्व खातामा नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ ट्रान्सफर गरेको भौचर र कर विवरण हस्तान्तरण गरी फोटो खिचाएर फर्किए।
 
एनसेलले बुझाएको रकमले कर आउने भयो भनेर उत्साही कार्यालयका अधिकारीलाई खासै सन्तुष्ट बनाएन। एनसेलले लाभको रकम नै निकै घटी भएको दलिल दिएको छ। उसले ८० प्रतिशत स्वामित्व ७८ अर्ब रुपैयाँमा खरिद भएको दाबी गर्दै लाभ ६६ अर्ब रुपैयाँमात्र भएको विवरणमा उल्लेख गरेको छ। 
 
६६ अर्बको १५ प्रतिशतका दरले कर दाखिला भएको छ। यस्तै १५ प्रतिशत अग्रीम करकट्टी आफूले दाखिला गरे पनि बाँकी १० प्रतिशतका लागि विवरणमा केही उल्लेख छैन। यसरी थप कर नतिर्ने नियत एनसेलले देखाएको छ।
०००
अब के हुन्छ ?
ठूला करदाता कार्यालय छलफलकै क्रममा छ । यस क्रममा माथिल्लो निकायका साथै विज्ञसँग पनि छलफल गरी निक्र्योल गरिने कार्यालयका एक अधिकारीले बताए । एनसेलको ८० प्रतिशत सेयर खरिद गर्दा एक अर्ब १२ करोड रुपैयाँमा गरेको यसअघि टेलिया र एनसेलले घोषणा गरेका छन्।
 
त्यसबापत ३० करोड ६७ लाख १८ हजार सात सय २१ रुपैयाँ पुँजीगत लाभकर एनसेलमार्फत दाखिला भएको थियो। यसैले अब ७८ अर्ब रुपैयाँमा खरिद गरेको स्थापित गर्न उसलाई सजिलो छैन।
 
अपेक्षित कर दाखिला नभए पनि अब कर कार्यालयलाई कर असुल्न झन् सहज भएको छ। कार्यालयले एक अर्ब १२ करोड घोषणा गरिएको खरिद रकम अहिले ७८ अर्ब भनिएकोमा छानबिन गरी 'ट्याक्स फ्रड' मा शतप्रतिशत जारिबानासहित कर निर्धारण गर्न सक्छ।
 
यस्तै विवरणमार्फत एनसेलको यसअघिको वास्तविक स्वामित्व टेलियासोनेरामा रहेको स्वीकारिएको छ। उसले ८० प्रतिशतको वास्तविक स्वामित्व रेनोल्ड होल्डिङसँग रहेको र अहिले पनि रेनोल्ड होल्डिङमै रहेकाले स्वामित्वकर्ता परिवर्तन नभएको जिकिर गर्दै पुँजीगत लाभकर तिर्नुपर्ने जिकिर कार्यालयलाई लेखेको जबाफमा गरेको थियो । तर कर विवरणमार्फत वास्तविक स्वामित्ववाला टेलियासोनेरा थियो भन्ने स्वीकारेको छ।
 
'आंशिक कर सहभागितामात्र भयो,' कार्यालयका एक अधिकारीले भने, 'कर दायित्व नै हुँदैन भनेर पन्छिन खोजेको कम्पनीले कर सहभागिता जनाएको छ।' अहिलेको कर दाखिला र कर विवरणले कर निर्धारण गर्नैपर्ने भए पनि सरकारको पक्ष बलियो भएको ती अधिकारीले बताए। 
 
अब रेनोल्ड होल्डिङ र टेलियासोनेरालाई देखाएर दायित्व छैन भन्न नसक्ने अवस्थामा एनसेल पुगेको छ। कर विवरणका आधारमा अनुमतिपत्रको स्वामित्व नियन्त्रण परिवर्तन हुँदा दूरसञ्चार प्राधिकरणलाई तिर्नुपर्ने एक अर्ब रुपैयाँ असुलीको बाटो झन् सजिलो भएको छ।
 
प्राधिकरणले यसअघि मिलेमतो गरी रेनोल्ड होल्डिङकै स्वामित्वमा रहेको कारण देखाएर एनसेलसँग लिनुपर्ने एक अर्ब रुपैयाँ छुट दिन खोजेको थियो।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.