रोनाल्डो : ४ वर्षअघि बेखुसी, अहिले छोड्नै नसक्ने
जेठ १३ – स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले रियल मड्रिड छोडेर अरु क्लब नजाने बताएका छन् । रोनाल्डोले आउँदो हप्ता रियल मड्रिडसँग नयाँ सम्झौता गर्ने स्पेनिस सञ्चारमाध्यमले जनाएका छन् ।
पोर्चुगलका रोनाल्डोले गएको फेब्रुअरीदेखि क्लबसँग आफ्नो सम्झौता लम्ब्याउने विषयमा कुरा गरिरहेको र उनी थप पाँच वर्षको नयाँ सम्झौता गर्न राजी भएको रेडियो स्टेसन काडेना सेरले जनाएको छ । रोनाल्डोले शनिबारको च्याम्पियन्स लिग फाइनलपछि क्लबसँग सम्झौता गर्ने खबरमा उल्लेख छ ।
फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन पिएसजीले रोनाल्डोलाई भित्र्याउन चाहेको थियो । यसका लागि धेरै पटक छलफल भएका खबर पनि आएका थिए । रोनाल्डोले स्पेनिस टेलिभिजनसँगको कुराकानीमा फ्रेन्च च्याम्पियन पिएसजी आफ्नो रोजाइमा नरहेको बताएका छन् । उनले भने ‘म खुसी छु र यही क्लबमै बस्न चाहन्छु ।’ रियल मिड्रड जतिको उत्कृष्ट क्लब अरु नरहेको उनको भनाई छ ।
रोनाल्डोले पछिल्लो पटक सन् २०१३ मा रियल मड्रिडसँग पाँच वर्षको सम्झौता गरेका थिए । रोनाल्डोले भने ‘म यही क्लबबाट अवकास लिन चाहन्छु ।’ रियलमा बिताएका हरेक समय उत्कृष्ट रहेको उनको भनाई छ । उनले भने ‘चार वर्ष अघि म खुसी थिइन, तर अहिले रियल जस्तो उत्कृष्ट क्लब कुनै देख्दिन । अरु कुनै क्लब रियल जस्तो छैनन् । म अहिले खुसी छु र छोड्न चाहन्न ।’ ३१ वर्षका रोनाल्डोले आफूले ४१ वर्षमा खेल्न छोड्ने र त्यो बेलासम्म रियलमै रहन चाहेको बताए । रोनाल्डो सन् २००९ मा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबाट रियल मड्रिड गएका थिए ।
रियल मड्रिडले च्याम्पियन्स लिगको फाइनलमा आउँदो शनिबार छिमेकी क्लब एथ्लेटिको मड्रिडसँग खेल्दै छ । रोनाल्डोको थाइको समस्याले रियललाई केही दबाबमा पारेको छ । तर रोनाल्डोले भने आफू फाइनलका लागि सतप्रतिशत फिट हुने बताएका छन् ।

0 comments
प्रतिक्रिया दिनुहोस्...