माओवादी सभामा जबर्जस्ती बालबालिका
काठमाडौं: नेत्रविक्रम चन्द ‘विप्लव' नेतृत्वको नेकपा माओवादीले आफ्नो आन्दोलनमा कानुनको धज्जी उडाउँदै शान्ति क्षेत्र मानिएका बालबालिका र विद्यालयको व्यापक दुरुपयोग गरेको छ ।
माओवादीले शुक्रबार राजधानीमा निकालेको जुलुसमा हजारौं बालबालिकालाई जबर्जस्ती किताबकापीको झोलासँगै विद्यालय पोसाकमै सहभागी गराई दिनभर नाराबाजी र प्रदर्शनमा सहभागी गरायो ।
खुलामञ्चको सभामा सहभागी हुन कुपण्डोल, कालीमाटी, बबरमहल र लैनचौरबाट निकालिएको जुलुसमा ठूलो संख्यामा बालबालिका सहभागी थिए । चर्को घाममा सातआठ वर्ष उमेरका सयौं बालबालिकालाई जुलुसमा हिँडाएर नाच्न, गीत गाउन, झन्डा फहराउन र चिच्याएर नारा लगाउन भनिएको थियो । जुलुस टुँडिखेल परिक्रमा गर्ने क्रममा दुईजना विद्यार्थी चर्को घाम र भीडमा अत्तालिएपछि कार्यकर्ताले बोकेका थिए ।
अधिकांश सरकारी विद्यालयबाट माओवादी निकट शिक्षकको दबाबमा बालबालिकालाई पोसाकसहित प्रदर्शनमा उत्रिन बाध्य पारिएको थियो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनले बर्जित गरे पनि शक्ति प्रदर्शनमा माओवादीले विद्यालयका बालबालिकालाई सहभागी गराएको देखेपछि पैदलयात्रीले पनि आलोचना गरेका थिए । सहिदगेटमा प्रदर्शन हेरिरहेका शान्तिनगरका शिक्षक लक्ष्मीप्रसाद भुसालले खुलेरै माओवादीको यो कार्यको विरोध गरे ।
‘यस्तो पनि शक्ति प्रदर्शन हुन्छ ? अबोध बालबालिकालाई सडकमा उतारेर उनीहरूको पढ्न र लेख्न पाउने अधिकार वञ्चित गरिएको छ । उनीहरूलाई आन्दोलनबारे जानकारीसमेत छैन । जानकारी लिनुपर्छ भन्ने पनि छैन', उनले आक्रोशित हुँदै भने, ‘यो भीडमा होमिँदा बालबालिकालाई शारीरिक र मानसिक रूपमा केही क्षति भयो भने कसले जिम्मा लिन्छ ? '
कानुनविपरीत प्रदर्शनमा बालबालिकालाई प्रयोग गरिएको उल्लेख गर्दै उनले आन्दोलनमा सहभागी गराउनेलाई कारबाही हुनुपर्ने माग गरे ।
अधिकांश बालबालिकाले यसरी प्रदर्शनमा सहभागी हुँदा के हुन्छ भन्ने प्रश्नको जबाफ दिन सकेनन् । उल्टै दुःख पाएको र बिरामी हुने अवस्थामा पुगेको उनीहरूले बताए ।
आन्दोलनमा किन आएको भन्ने प्रश्नमा ललितपुर मछिन्द्रनाथ स्कुलकी एक छात्राले भनिन्, ‘हामीलाई खुलामञ्चमा शिक्षासम्बन्धी कार्यक्रम छ भनेर सरहरूले ल्याउनुभएको हो । बसमा जाने होला भनेर आएका थियौं हामी तर दिनभर घाममा हिँड्नुपर्यो ।' उनले चिच्याएर नारा भन्नुपर्ने र ननाचे÷नगाए गाली खाने बताइन् । ‘कम्तीमा झोला स्कुलमै राखिदिएको भए यति थाकिँदैनथ्यो । अब बिरामी परिन्छजस्तो छ', उनले भनिन् ।
जुलसमा गीत गाउँदै हिँडेकी मदन स्मारककी अर्की छात्राले आफूहरू आउन नमान्दा पनि जाने भए हिँड नभए तिमीहरूले सजाय पाउँछौ भन्दै जबर्जस्ती शिक्षकहरूले जुलुसमा सहभागी गराएको दाबी गरिन् ।
सोही विद्यालयका एक शिक्षकले बालबालिकालाई सामाजिक विषयमा धेरै ज्ञान होस् भनेर जुलुसमा सहभागी गराएको बताए ।पटकपटक सोध्दा पनि नाम नबताएका ती शिक्षकले झर्किएर पत्रकारले यसबारे कुनै चासो लिनुपर्ने आवश्यकता नरहेको भन्दै तर्किए ।
जुलुससँगै बालबालिकालाई खुलामञ्चमा घन्टौं आयोजना गरिएको सभामा समेत बस्न र राजनीतिक भाषण सुन्न लगाइएको थियो । चर्को घाम लागिरहेका बेला अचानक पानी परेपछि ती बालबालिकाको झन् बिचल्ली भएको थियो । सार्वजनिक बसको छतमा बसेर ती बालबालिका रुज्दै घर जान बाध्य भएका थिए ।
कलिला बालबालिकालाई सडकमा उतारेर प्रदर्शन गर्न लगाइएपछि सवारीसाधनबाट उनीहरूलाई जोगाउन ट्राफिक प्रहरीलाई हम्मेहम्मे परेको थियो । सवारीसाधन घन्टौं जाममा फस्दा यात्रुले सास्ती पाए । आफ्ना निहित राजनीतिक स्वार्थपूर्ति गर्न जुलुस, प्रदर्शन, धर्ना, हडताललगायत कुनै पनि विरोध कार्यक्रममा बालबालिकालाई सहभागी गराउन कानुनले बर्जित गरेको छ ।
बालबालिकाको इच्छाविपरीत बन्द, हडताल, प्रदर्शनजस्ता कार्यक्रममा सहभागी गराउनु संयुक्त राष्ट्रसंघको बालअधिकारसम्बन्धी महासन्धि तथा बालबालिकासम्बन्धी ऐन २०४८ विपरीत हो । एकातिर बालबालिकालाई जबर्जस्ती सडकमा उतारेर ब्यानर, प्लेकार्डसहित जसरी राजनीतिक नारा लगाउन पठाइयो, त्यसले बालबालिकाको अधिकारको उल्लंघन भएको सर्वसधारणले टिप्पणी गरेका थिए ।
बालअधिकारकर्मी कृष्ण सुवेदी यस्ता कार्यक्रममा बालबालिकालाई कुनै पनि बहानामा सहभागी गराउन नपाउने बताउँछन् । केही समयअघि विशेष अधिकारसहितको कर्णाली राज्य माग गर्दै जुम्लाको खलंगामा निकालिएको जुलुसमा बालबालिकालाई अर्धनग्न बनाई प्रयोग गरिँदा सर्वत्र भत्र्सना भएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...