-->
कक्षा एकको मासिक शुल्क २८ हजार

काठमाडौँः संयुक्त विद्यार्थी संगठनले गरेको अनुगमनमा ललितपुरको युलेन्स स्कुलले कक्षा एकको मासिक शुल्क २८ हजार लिएको भेटिएको छ ।
बुधबार अनुगमनका क्रममा युलेन्स स्कुलले कक्षा एकको मासिक शुल्क २८ हजार लिएको भेटिएको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले अन्नपूर्ण अनलाइनलाई जानकारी दिए ।
बुधबार जिल्ला शिक्षा कार्यालय र अभिभावक संघका प्रतिनिधिसहित युलेन्स स्कुल पुगेका विद्यार्थी संगठनले विद्यालय सञ्चालकलाई शुल्क बढी भएको विषयमा ध्यानाकर्षण गराएका छन् ।
संयुक्त विद्यार्थी संगठनको अनुगमन टोलीले बुधबार रातो बंगला स्कुलमा समेत अनुगमन गरेको छ । रातो बंगलामा कक्षा एकको मासिक शुल्क २५ हजार रहेको भेटिएको लामिछानेले बताए ।
अनुगमन टोलीमा सबै विद्यार्थी संगठनका अध्यक्ष, विद्यार्थी नेता, अभिभावक संघका प्रतिनिधि र जिल्ला शिक्षा कार्यालयका प्रतिनिधि सहभागी थिए ।
निजी विद्यालयको शुल्क घटाउने विषयमा सरकारलाई पटकपटक ध्यानाकर्षण गराउदा समेत सुनुवाई नगरेपछि विद्यार्थी संगठनले विद्यालय अनुगमन सुरु गर्नुपरेको बताएका छन् ।
बुधबार दुई निजी स्कुलमा अनुगमन गरेको टोलीले बिहिबारबाट काठमाडौँ, भक्तपुर र ललितपुरका सबै स्कुलमा अनुगमन गर्ने बताएको छ ।
अनुगमनका क्रममा शुल्कका विषयमा जिल्ला शिक्षा कार्यालयले कुनै निर्देशन जारी नगरेको निजी स्कुल सञ्चालकले बताएका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.