भारतसँग सिमाना जोडिएको फार्मको नापी सर्भेक्षण
भारतसँग सिमाना जोडिएको जमुना गाविसस्थित जौबारी कृषि अनुषन्धान केन्द्र र वागवानी विकास केन्द्र रहेको फार्मको नापी सर्भेक्षण थालिएको छ ।
विगतमा आलु विकास केन्द्र रहेको उक्त क्षेत्रमा आठ हजार ४०० रोपनी जमिन रहेको बताइए पनि सबै क्षेत्रमा सर्भे गर्दा बढी क्षेत्रफल हुने अनुमान गरिएकाले पुनः नापी सर्वेक्षण सुरु गरिएको हो । फार्मको जग्गा यकिन भएपछि आगामी दिनमा सो जग्गाको सदुपयोग गर्न सजिलो हुने वागवानी विकास केन्द्र जौबारीका केन्द्र प्रमुख उमानाथ भण्डारीले बताउनुभयो ।
गत वर्ष कृषि अनुसन्धान केन्द्र र वागवानी विकास केन्द्र स्थापना भएपछि दुवै कार्यालयले करिब ३०० रोपनीमा बाली बगैँचा विस्तार गरेका छन् भने बाँकी जग्गा व्यवस्थापन अभावका कारण खुल्ला चरिचरनमा परिणत भएको छ । फार्म क्षेत्रभित्र हाल जोगमाईको महादेव कागे सामुदायिक वन र डढेली सामुदायिक वन क्षेत्र रहेको छ । करिब ६० रोपनी क्षेत्रमा स्थानीयवासीले वन संरक्षणका लागि विभिन्न प्रजातिका बिरुवा रोपेका छन् ।
जौबारी फार्म क्षेत्रमा करिब २२ देखि २८ वटा गाई गोठ रहेका छन् । केन्द्रले ती गाई गोठ जीविकोपार्जनमा महत्वपूर्ण रहेका र कृषिमा मलको उत्पादनलाई मध्यनजर गरी तत्कालै हटाउने पक्षमा नरहेको जनाएको छ । खुल्ला चरिचरनले गुराँस र निगालो जातका वनस्पति मासिने अवस्थामा पुगे पनि सर्भेपछि यसको संरक्षणमा केन्द्रले विशेष पहल थाल्ने प्रमुख भण्डारी बताउनुहुन्छ ।
केन्द्रले मौसम अनुकूल बाली विकास गर्न दशवर्षे कार्ययोजना बनाएपपछि त्यसअनुरूप कार्य गर्नका लागि चालु आवदेखि नै नापीको काम सुरु गरेको हो । नापी सर्भेक्षण कार्य जिल्ला नापी कार्यालयसँगको समन्वयमा गरिएको र त्यसको खर्च करिब रु सात लाख लाग्ने केन्द्रले अनुमान गरेको छ । रासस


0 comments
प्रतिक्रिया दिनुहोस्...