-->
पत्ती अभावमा चिया कारखाना ठप्प

इलाम, २ जेठ । लामो समयसम्म खडेरी परेका कारण इलामका चिया बगानमा हरियोपत्ती नपलाउँदा चिया कारखाना ठप्प भएका छन् ।
अघिल्ला वर्षभन्दा योपटक लामो समय चियाको मुना नपलाएको हो । “सामान्य अवस्थामा दुई सातासम्म यस्तो अवस्था आउँथ्यो”, साँखेजुङस्थित दाहाल बन्धु टी स्टेटका मोतीराम दाहालले भन्नुभयो – “योपटक एक महिनादेखि कारखाना चलेका छैनन् । पत्ती राम्रोसँग कारखानामा आउन अझै एक दुई हप्ता लाग्छ ।”
केही दिनयता सुरु भएको वर्षाले जेठको दोस्रो सातासम्म कारखाना चलाउन सकिने उहाँले बताउनुभयो । कारखाना बन्द हुनुअघि हरेक कारखानामा दैनिक पा“च हजार किलोसम्म हरियो चियापत्ती प्रशोधनका लागि आउने गरेको थियो ।
पत्ती अभावको असर धेरै चिया कारखानालाई परेको छ । जिल्लाका दुई दर्जन ठूला चिया कारखानामध्ये अधिकांश बन्द हु“दा कृषक र कारखाना सञ्चालक दुवैलाई नोक्सानीमा छन् । विगतमा यो मौसममा दैनिक एक लाख किलोभन्दा धेरै हरियो चियापत्ती उत्पादन हुने गरेको थियो ।
उत्पादन बढ्ने बेलामा लामो समयसम्म मुना नपलाएकाले कृषकलाई थप मार परेको तीनजुरे चिया कारखानाका बम निरौलाले बताउनुभयो ।
करुणाको छ लाख सहयोगमा भवन निर्माण
करुणा फाउन्डेसन नेपालको सहयोगमा इलामको बरबोटेस्थित अमर उच्च माविमा बौद्धिक अपाङ्ग स्रोत कक्षाको भवन निर्माण सम्पन्न भएको छ । करुणाको रु छ लाख आर्थिक सहयोग र विद्यालयको करिब रु एक लाख ५० हजार गरी रु सात लाख ५० हजारको लागतमा एकतले एक कोठे भवन निर्माण गरिएको हो ।
भवन निर्माणले बौद्धिक अपाङ्गता भएका बालबालिकालाई पठनपाठन गर्न अझ सहज हुने स्रोत कक्षाका शिक्षक दीनमणि भट्टराईले बताउनुभयो । यस्तै करुणाले भूकम्पबाट क्षतिग्रस्त माईपोखरी र श्रीअन्तुस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवन मर्मतका लागि रु २५ लाखसमेत दिएको जनाएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.