लाटोकोसेरो संरक्षक आचार्यका अनुसार लाटोकोसेरो नेपालमा केही मानिसहरुले मारेर खाने गरेको तथा भारत र चीनमा निकासी हुने गरेको छ । ‘भारतमा तान्त्रिक बिधिमा प्रयोग हुन्छ, चीनमा यौन रोग सञ्चो हुने भन्ने छ । अनि नेपालमा दमको रोग निको हुने भन्ने अन्धविश्वास छ’ उहाँले भन्नुभयो, ‘मध्यपूर्वी एसियाका देशमा शोकको रुपमा घर तथा होटेलमा पालेर राख्ने गरिन्छ । जसका कारण नेपालबाट वार्षिक रुपमा दुई हजारको हाराहारीमा यसको तस्करी हुने गरिएको भेटिएको छ ।’
नेपाल सरकारले लाटोकोसेरो चोरी शिकारी गर्न तथा तस्करी गर्न कानुनी रुपमा बन्देज लगाएको छ । संसारमा पाइने २ सय २५ प्रजातीका लाटोकोसेरो मध्ये नेपालमा २२ प्रजातीका लाटोकासेरो पाइने गरेकोमा ८ प्रजातीलाई नेपाल सरकारले दुर्लभ चराको सूचीमा राखेको छ । तर संरक्षण तिर भने ध्यान दिइएको छैन् ।
हामीले थाहा नपाएको लाटोकोसेरोको भूमिका
लोटोकोसेरो संरक्षक आचार्य लाटोकोसेरोको भूमिका बारे नेपालीहरुले थाहा नै नपाएको बताउनुहुन्छ । किसानका लागि यो चरा साथी नै भएको भनाई उहाँको छ ।
लाटोकोसेरोले मुसा, भ्यागुतो, सर्प, किराफट्याङ्ग्रा, मर्सादो, माछा सबै खाने गर्छ । यसले सबै भन्दा बढी मुसा खान्छ, एउटा लाटोकोसेरोको परिवार अर्थात एक जोडी भालेपोथीले करिब ४ महिनाको अवधीमा फुल पारेर बच्चा जन्माउने बेलासम्म तीन हजार मुसा खान्छ, अब हामी कल्पना गर्न सक्छौँ, एउटा लाटोकोसेरोको जोडीले ४ महिनामा तीन हजार मुसा खान्छ भने, त्यस्ता १० वटा परिवार मात्रै हाम्रो गाउँको छेउछाउ भयो भने, चार महिनामा ३० हजार मुसाको नियन्त्रण हुन्छ । त्यसैले लाटोकोसेरोलाई मुसाको साथी भनिन्छ ।
उहाँले भन्नुभयो, ‘हामीले थाहा पाउँदैनाँै, तर यसले हाम्रो खेतबारीमा भएको अन्नहरुलाई जोगाउन ठूलो भूमिका निर्वाह गरेको हुन्छ । सम्भवत यदि लाटोकोसेरो नहुने हो भने, हामीले हाम्रो खेतबारीबाट कुनै पनि अन्न भित्र्याउने सम्भावना रहँदैन् ।’
लाटोकोसेरो बारे नकरात्मक बुझाई बढी
रुढीवादी मान्ने केही नेपाली समाजमा लाटोकोसेरो बारे नकरात्म बुझाई बढी छ । घरको छानामाथि आएर लाटोकोसेरो करायो भने, त्यो घर अथवा त्यो गाउँमा कोही बिरामी हुने भन्नेछ, राती हामी हिँड्दाखेरी टाउको माथिबाट लाटोकोसेरो उडेमा मान्छे बिरामी हुने भन्ने छ । काँधमा बस्यो भने, लाटोकोसेरोले मान्छे नै मार्छ भन्ने छ । मान्छेको नकरात्मक सोच छ, तर कतिपय ठाउँमा, जस्तो मुस्ताङमा यसको एउटा प्वाँख मात्र घरमा झुन्ड्याएर राख्दा घरको सम्पूर्ण सुरक्षा हुने विश्वास छ ।
आचार्यले भन्नुभयो, ‘यसको हड्डी माला लगाएर हिँड्दा भूतप्रेतले तर्साउँदैन भन्छ मान्छेले, लाटोकोसेरो मरेपछि झुन्ड्यायो भने, त्यो घरमा देउताहरुको वास हुन्छ भन्ने हिमाली भेगहरुमा विश्वास छ ।’
अध्ययनको खाँचो
नेपालमा अहिलेसम्म मनाङ र मुस्ताङमा झण्डै नौँ वर्ष अगाडि लाटोकोसेरो बारे एउटा अध्ययन भएको छ । त्यो बाहेक कुनै पनि अध्ययनहरु भएका छैनन् । सो अध्ययनबाट कति प्रजाती छन् भन्ने मात्र देखाइएको थियो । अध्ययन अनुसार नेपालमा २२ प्रजातीका लाटोकोसेरो पाइने गरेका छन् ।
सोही अध्यनमाथि टेकेर प्रजातीको संख्या बारे भन्न सकिने अवस्था छ तर त्यो प्रजातीको अवस्था कस्तो छ, प्रजाती बढेका छन् या घटेका छन् भन्ने बारे केही भन्न नसकिने अवस्था रहेको प्रकृतीका साथीहरुले जनाएको छ ।
संस्थाका कार्यकारी निर्देशक आचार्यले आरोप लगाउँदै भन्नुभयो, ‘सरकार कस्तो छ भने जुन–जुन चाँही पैसा आउने प्रजाती छ, ती प्रजातीको पछाडि असाध्यै लागिरहेको छ । तर पैसा नआउने प्रजातीको पछाडि पटक्कै लागेको छैन । यो खालको सरकारी सोचाई परिवर्तन गर्नु पर्छ ।’

0 comments
प्रतिक्रिया दिनुहोस्...