अम्बर गुरुङको अवस्था चिन्ताजनक, भेन्टिलेटरमा राखेर उपचार गरिँदै
काठमाडौं, जेठ २१ – राष्ट्रिय गानका संगीतकार अम्बर गुरुङको स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखिएको छ । श्वासप्रश्वासमा समस्या देखिएपछि उहाँलाई भेन्टिलेटरमा राखिएको हो ।
स्वास्थ्य समस्या बढ्दै गएपछि उहाँलाई शुक्रबार बिहान ४ बजेपछि भेन्टिलेटरमा राखेर उपचार थालिएको साहित्यकार प्रकाश सायमीले जानकारी दिनुभयो । श्वासप्रश्वाससँगै उहाँलाई नसा तथा पाचन प्रणालीमा समस्या देखिएको छ ।
संगीतकार गुरुङको गएको तीन दिनदेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । उहाँ भारतको मेदान्त अस्पतालमा उपचार गरी गएको चैत १७ गते नेपाल फर्किनु भएको हो । सरकारले उहाँलाई राष्ट्र गायकको उपाधिले सम्मान गरेको छ । संगीतकार गुरुङले ५ सय भन्दा धेरै गीतमा संगीत दिनु भएको छ ।
उहाँले २०५४ सालमा पहिलो पटक कुवायर संगीत निर्देशन गर्नुभएको थियो । सबै प्रकारका संगीतको मिश्रण कुवायरलाई वृहवाद्य वृन्द पनि भनिन्छ । नेपालमा अहिलेसम्म यस्तो प्रकारको संगीत कसैले गरेका छैनन् । गुरुङले २०३१ सालमा शाही नेपाल चत्रचित्र संस्थानको पहिलो नेपाली चलचित्र मनको बाँधमा शीर्ष गीतमा संगीत दिनु भएको थियो । यस्तै उहाँले आदिकवि भानुभक्त आचार्यको वृत्तचित्रमा र जीवन रेखामा एकल संगीत दिनुभएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...