चोरको दिसाबाट सुन बरामद
सुन चोरी आरोपमा जेठ १७ गते पक्राउ परेका व्यक्तिको दिसाबाट प्रहरीले सुन बरामद गरेको छ।
खाँदबारीमा शनिबार लाग्ने बजारमा किनमेल गर्न गएकी महिलाको घाँटीमा लगाएको सुन लुटेपछि प्रहरीले वीरगञ्ज उपमहानगरपालिका-२३ अपाैलीका रमेश राय यादव, सुनसरीका ४५ वर्षीय राजकुमार यादव, पर्सा हरपतगन्ज–९ का अमित राय यादव र सुनसरी इटहरीका जगनारायण चौधरीलाई पक्राउ गरेको थियो। अन्नपूर्ण पोस्टमा समाचार छ।
चोरी गरेको सुन नभेटिएपछि प्रहरीले खाएको आशंका गरी एक्सरे गरी बिहीबार दिसाबाट सुन बरामख गरेको हो।
खाँदबारी बजारमा किनमेल गर्दै आएकी पासाङल्ह्मु शेर्पाले लगाएको दुई तोलाको सिक्री, उनीसँगै बजार गएकी छिमेकी दिलकुमारी श्रेष्ठको पाँच तोलाको सिक्री र संगीता श्रेष्ठको दुई तोला दुई आनाको सिक्री चोरी गरी उनीहरुले निलेका थिए।
घाँटीकाे सुन हराएको उजुरी अाएलगत्तै प्रहरी परिचालन गरी उनीहरुलार्इ पक्राउ गर्न सफल भएको प्रहरी प्रमुख डीएसपी गाैतमकुमार केसीले बताए। प्रहरी अनुसन्धान टोलीले खाँदबारीको लभिङहिलबाट दुर्इजनालार्इ पक्राउ गरेपछि भागेका दुर्इजना पनि खराङबाट पक्राउ गरी कारबाही अघि बढाइएको केसीले बताए।
सुनसरी इटहरीका जगनारायण चौधरीले सुन खाएका थिएनन् भने बाँकी तीन जनाले सुन खाएको सुन प्रहरीले दिसाबाट बरामद गरेको हो। बजार र भिडभाडमा सुन लुट्ने योजना बनाइ इटहरीबाट को १ ज २६५७ नम्बरको रातो रंगको गाडी २३ हजारमा दुर्इ दिनका लागि भाडामा लिएर खाँदबारी अाएका प्रहरीको अनुसन्धानबाट खुलेको छ।
उनीहरुले सुन चोरेको स्वीकार नगरेपछि एक्सरे गरिएको थियो। एक्सरे रिपोर्टमा ९ तोला २ अाना सुन खाएको भेटिएको थियो।


0 comments
प्रतिक्रिया दिनुहोस्...