कीर्तिमानी आरोहणको फाइदा लिन चुक्यो मुलुक
छायामा अन्नपूर्ण दिवस
पोखरा: प्रत्येक वर्ष जेठ २१ आउँछ, जान्छ। ६६ वर्षअघि यो दिन विश्वमै मानव इतिहासका लागि एउटा हलचल लिएर आएको थियो।
सभ्यताको विकाससँगै प्रकृतिमाथि विजय पाउन दौडिरहेको मानव समुदायको एउटा सदस्यका कारण सारा विश्वले त्यस दिन आशा, उमंग र आत्मविश्वास पायो। विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालमध्येको कान्छो हिमाललाई त्यो मान्छेले जेठो बनाइदियो।
उचाइका हिसाबले आठ हजार ९१ मिटर हुनुको नाताले ऊ नेपालभित्र कान्छो मानिन्थ्यो। फ्रान्सेली नागरिक मोरिस हर्जाेगले पहिलोपटक आठ हजार मिटरभन्दा अग्ला हिमालमाथि पहिलो विजय प्राप्त गरे।
त्यो विजय अन्नपूर्ण प्रथममाथि थियो। त्यसैले आठ हजार मिटरभन्दा अग्ला हिमालमा आरोहणका हिसाबले अन्नपूर्ण जेठो भइदियो। त्यसको तीन वर्षपछि मात्रै सर्वोच्च चुचुरो सगरमाथामाथि मानव पाइला परेको थियो।
पोखरा सहर अन्नपूर्ण हिमशृंखलाको काखमा छ। तर, अन्नपूर्ण प्रथम हिमालको चुचुरो कता त भनेर हेर्नुपर्यो भने पोखराबाट सजिलै देखिन्न। झलल्कै देखिने माछापुच्छ्रे भइहाल्यो। त्यसको दायाँबायाँ देखिने अन्नपूर्ण त हुन् तर अन्नपूर्ण प्रथमचाहिँ होइनन्।
'पोखराबाट देखिनेमध्ये सबैभन्दा पश्चिमको हिमाल मोदित्से हो', पहिलो पुस्ताका पर्यटनकर्मी झलक थापा भन्छन्, 'त्यसैलाई अन्नपूर्ण साउथ पनि भन्ने चलन छ। तर अन्नपूर्ण प्रथमचाहिँ माछापुच्छ्रेको पश्चिमपट्टि पर्ने धान्द्रुक हिउँचुलीको पछाडि पर्छ।' यो हिमाल ग्ल्यासिएर डोम र रक न्वाएर हिमालसँग काँधमा काँध जोडिएर उभिएको थापा बताउँछन्।
जसरी अन्नपूर्ण प्रथम फ्याट्टै नांगा आँखामा पर्दैन त्यस्तै नेपाली पर्यटनको आँखामा पनि परेको छैन। विसं २००७ को जेठ २१ गते मौरिस हर्जाेगले यो हिमाल आरोहण गरेपछि जति प्रचार यसले र साथै पोखरा र नेपालले पनि पाएका थिए, त्यसलाई नेपाली पर्यटनले 'क्यास' गर्न सकेन।
दोस्रो विश्वयुद्धले रन्थनिएको फ्रान्सले आफ्ना नागरिकबाट भएको हिमाल आरोहणको कीर्तिमानलाई राष्ट्रिय उत्सवकै रूपमा मनाएको थियो, तीन दिन राष्ट्रिय बिदा दिएर। जसरी नेपाली राजनीतिको निराशा छाएका बेला किक्रेटर र फुटबलरले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाली झन्डा उँचो बनाउँदा नेपालीमा आशा, उमंग र आत्मविश्वास पलाउँछ, फ्रान्समा त्यो बेलाको परिस्थिति त्यस्तै थियो।
अझ 'अन्नपूर्ण आरोहणपछि मेरो पुनर्जन्म' शीर्षकमा हर्जाेगले लेखेको किताब दर्जनौं भाषामा प्रकाशित भएर दुई करोड प्रति बिक्री हुँदा यो नेपाली पर्यटनका लागि पहिलो ढोका नै खोलिएजस्तो भएको थियो। पर्यटन विधामा त्यसअघि त्यति उचाइको प्रचार नेपालले कहिल्यै पाएको थिएन।
जुन हिमालले पर्यटन चिनायो, त्यही हिमाल नेपालले चिनेन। -झलक थापा, पर्यटन व्यावसायी
अन्नपूर्ण प्रथममै दोस्रो र ऐतिहासिक आरोहण बेलायती टिमले गरेको सुनाउँछन् थापा। उनका अनुसार सन् १९७० को दशकको सुरुमै बेलायती नागरिक क्रिस बनिङ्टन नेतृत्वमा डुगल ह्यास्टन र डन ह्विलन्सले यो हिमाल चढे। 'क्रिस आफैं कवि मनका थिए, उनले लेखेको किताबले पनि अन्नपूर्ण हिमालसँगै नेपाललाई नै चिनाउन धेरै मद्दत गर्यो', थापा भन्छन्, 'क्रिसले साउथ फेस अफ अन्नपूर्ण भन्ने किताब लेखेका थिए।'
अन्नपूर्णपछि आरोहण सुरु भएको सगरमाथामा अहिलेसम्म पाँच हजारजति आरोही पुगिसकेको बताउँछन् पर्यटन विभागको पर्वतारोहण महाशाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ। उनकै अनुसार अन्नपूर्ण प्रथममा भने मौरिस हर्जागसहित जम्मा दुई सय ३५ जनाले आरोहण गरेका छन्।
आफ्ना नागरिकको पहिलो विजयबाट उधुमै गर्वानुभूति गरेको मुलुक फ्रान्सका पर्वतारोही पनि अहिलेसम्म सात जनामात्रै यो हिमाल पुगेका छन्। श्रेष्ठका अनुसार अन्नपूर्ण प्रथमका लागि वसन्त ऋतुको आरोहण शुल्क प्रतिआरोही १८ सय डलर छ भने शरदका लागि नौ सय डलर र अरू बेलाका लागि चार सय ५० डलर तिर्नुपर्छ।
सुदूरपश्चिमतिरका हिमालमा पूरै रोयल्टी नलिने भन्दा पनि आरोही आकर्षित नभएको बताउने श्रेष्ठ अन्नपूर्णमा पर्वतारोही नआएकोमा अनौठो मान्दैनन्। तर, पर्यटनकर्मी झलक थापा भने यो पोखरेली र नेपालीकै कमजोरी ठान्छन्। 'एक त त्यत्रो गुन लगाएका मौरिस हर्जोगप्रति नै हामीले कृत्तज्ञता ज्ञापन गरेनौं, कृतघ्न भयौं', उनी भन्छन्, 'जेठो हिमाल भनेरै प्रचार गरेको भए पनि हुन्थ्यो, त्यो पनि भएन।'

0 comments
प्रतिक्रिया दिनुहोस्...