काठमाडौं, जेठ ३० – पार्टी पनि नयाँ । नाम पनि नयाँ । कार्यक्रमको तौरतरीका र ढाँचा पनि नयाँ । प्रसँग हो, बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालले काठमाडौंमा गर्न लागेको पार्टी घोषणा कार्यक्रमको ।

चामललाई मुख्य सामग्री बनाएर मरमसला सहित कुखुराको मासु, खसीको मासु अथवा माछाको मासु सहित तयार पारिएको परिकार बिर्यानी हो । तर मासुबाहेक सागसब्जी हालेर पनि बिर्यानी बनाउन सकिन्छ । धेरैले बिर्यानी र पुलाउ उस्तै ठान्छन्, तर बिर्यानी पुलाउ भन्दा फरक हो ।
भारतको दिल्लीमा शासन गरेका मुगल सम्प्रदायबाट सुरुवात भएको बिर्यानी अहिले दक्षिण भारतको चाडपर्वमा धेरै रुचनाइने गरिन्छ ।
यो मेला, पर्व, महोत्सवमा खाइने स्वादिष्ट भोजन हो । भारतीय पर्वमा खानाको परिकारमा बिर्यानी भएन भने उत्सव अपुरो भएको मानिन्छ । सुरुमा माछामासु सहित बिर्यानी बन्ने चलन आएको भएपनि अहिले भने परिवेश अनुसार शाकाहारी बिर्यानी पनि बन्न थालेको छ ।
महोत्सवमा खाइने यो ग्रेभी खाना हो । ग्रेभी बनाउँदा तातो तेलमा प्याज, सुकमेल, ल्वांगलाई भुटेर मासु पकाइन्छ । आवश्यकता अनुसार जसमा गरम मसला सहित मासुको तरकारीमा उसिनेको चामललाई मिलाइन्छ । ओर्किड होटल पोखराका सरोज अर्यालका अनुसार स्वाद अनुसार बिर्यानी बनाउने गरीन्छ । तर विधिवत रुपमा यो नौ प्रकारको हुन्छ ।
यसलाई विधिवत रुपमा बनाउन चामल सफा गरि भिजाउनु पर्छ । मासु सफा गरि नुनु राखी उसिन्नु पर्छ र सानो पिस गरेर तेलमा राखी मासु पकाउनुपर्छ र छुट्टै राख्नुपर्छ । प्याज, काजु, किसमिस, बदाम, अदुवा, लसुन, फ्राई गरि छुट्टै राखेर त्यसमा घिउ तताई ल्वाङ, सुकमेल फुराउनुपर्छ । चामलको पानी तारेर घिउमा भुटेर आवश्यक पानी राखी पकाउनुपर्छ । चामलको पानी सुकेपछि मटर मासु र फ्राई गरेको प्याज र काजु किसमिसले सजाएपछि त्यो खानको लागि तयार हुन्छ ।
अर्यालका अनुसार ५ जनाको परिवारको लागि बिर्यानी खानको लागि कम्तीमा १२ सय रुपैंया खर्च हुन्छ । प्रायः भारत र नेपालको पनि शहरी इलाकामा खाइने बिर्यानी धेरैका लागि नौलो परिकार हो । यसमा मासु मिसाउँदा पनि हुन्छ, नमिसाउँदा पनि हुन्छ ।
नयाँ शक्तिको कार्यक्रममा बाँडिने बिर्यानी कस्तो खालको हो भन्ने चाहिँ आयोजकले खुलाउन चाहेनन् । नयाँ शक्तिका एक नेताले भने, ‘हामीले बाहिरबाट ल्याएका होइनौं, यहीं काठमाडौंमै तयार पारिएको स्वदेशी परिकार हो ।’ सम्भव भएसम्म कार्यक्रममा उपस्थित सबैलाई बिर्यानी बाँडिने पनि उनले बताए ।

0 comments
प्रतिक्रिया दिनुहोस्...