-->
एयर फ्रान्समा पाइलट हडताल, युरोकप हेर्न जाने ७० लाख यात्रु प्रभावित

पेरिस- फ्रान्सको राष्ट्रिय वायुसेवा कम्पनी एयर फ्रान्समा कार्यरत पाइलटहरूले चार दिन लामो हडताल सुरु गरेका छन्। हडतालका कारण 'युरो २०१६' फुटबल खेल हेर्ने योजना बनाएका हजारौं फुटबलप्रेमी प्रभावित भएका छन्।


पाइलटहरूले हडताल सुरु गरेपछि एयर फ्रान्सले शनिबार अधिकतम ३० प्रतिशतसम्म उडान कटौती गरेको छ। तर कम्पनीले युरोकप फुटबल आयोजना भइरहेका सहरमा जाने उडानलाई भने प्राथमिकता दिइएको जनाएको छ।

व्यवस्थापनले योजनाबद्ध तरिकाले सेवासुविधा कटौती गरेको र काम गर्ने वातावरण परिवर्तन गरेको विरोधमा पाइलटहरूको संगठन स्पाफ (सिन्डिकेट डेस पाइलटेस डे एयर फ्रान्स) ले आगामी मंगलबारसम्मका लागि हडताल सुरु गरेको हो।

एयर फ्रान्सका प्रमुख कार्यकारी अधिकृत फ्रेडरिक गागेले युरोकप आयोजना भइरहेका सहरका लागि सकेसम्म उडान कटौती हुन नदिने प्रतिबद्धता जनाएका छन्। 'हो, हामीले युरो टुर्नामेन्टलाई उच्च प्राथमिकतामा राखेका छौं,' उनले भने।

पाइलट हडतालका कारण प्रत्येक दिन कम्पनीलाई ५० लाख युरो (३९ लाख पाउन्ड) बराबरको घाटा लाग्ने उनले जानकारी दिए। फ्रान्सका १० सहरमा भइरहेको युरोकप फुटबल प्रतिस्पर्धा हेर्न ७० लाख दर्शक ती सहर जाने अनुमान गरिएको छ।

कम्पनीका अनुसार पेरिसबाट शनिबारका लागि लामो दुरी (लङ हल) का उडान ९६ प्रतिशत, आन्तरिक उडान ९१ प्रतिशत तथा मध्यम दुरी (मिडियम हल) का ७३ प्रतिशत उडान हुनेछन्। त्यसैगरी आइताबार ८० प्रतिशत लामो दुरी, ८५ प्रतिशत आन्तरिक उडान तथा ७० प्रतिशत मध्यम दुरीका उडान हुनेछन्। सोमबार र मंगलबारका उडान तालिका अघिल्लो दिन प्रकाशित गर्ने कम्पनीले जनाएको छ।

सन् १९३३ मा स्थापना भएको एयर फ्रान्ससँग हाल २ सय ३५ थान जहाज सञ्चालनमा छन्। योसँग यरोपेली जहाज निर्माता कम्पनी एयरबसमा उत्पादित ए३१८, ए३१९, ए३२०, ए३२१, ए३३०, ए३४०, ए३५० र ए३८० तथा अमेरिकी जहाज निर्माता कम्पनी बोइङमा निर्मित बि७७७ र बि७८७ सिरिजका जहाज छन्।

स्काइ टिमको सदस्य यसले ९३ देशका २ सय ४ गन्तव्यमा उडान गरिरहेको छ। यसले ४४ थान नयाँ जहाज पनि खरिद अर्डर गरेको छ। करिब ७० हजार कर्मचारी रहेको एयर फ्रान्सले गत वर्ष ४ करोड ६८ लाख ३० हजार यात्रु बोकेको थियो।

एयरब फ्रान्सका पाइलट युनियनमात्र नभई अन्य विभिन्न पेसासम्बद्ध युनियनले श्रम ऐन खारेज हुनुपर्ने माग राख्दै हडताल आह्वान गरेका छन्। आगामी बुधबारसम्म पेरिस सहरमा फोहोर नउठाउने भन्दै कुचिकारले हडताल जारी छ भने हालै रेल मजदुरले ९ दिन लामो हडताल गरेका थिए। त्यस्तै गएको महिना अन्तिममा तेल प्रशोधन केन्द्रमा हडताल गरेका कारण पेट्रोल पम्पहरू सुक्खा भएका थिए।

यता फ्रान्सेली राष्ट्रपति फ्रान्कोइस होलान्डेले युरोकप टुर्नामेन्ट अवधिभर व्यवधान उत्पन्न नगराउन सबै युनियनलाई चेतावनी दिएका छन्। 'म सबैलाई आह्वान गर्न चाहन्छु कि राज्यले आफ्नो दायित्व निर्वाह गर्नैपर्छ र राज्यले गर्ने नै छ अनि आवश्यक सम्पूर्ण कदम पनि अवश्य चाल्ने नै छ,' उनले भने।

युरोकप जस्तो ठूलो चाड आयोजना गर्ने अवसर पाएका बेला सबैले सहयोग गर्नुपर्ने भन्दै राष्ट्रपतिले यसलाई बिथोल्न यही बेला हडताल गर्ने र त्यसमा सहभागी हुनेकै काँधमा दोष आइपर्ने चेतावनी पनि दिएका छन्।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.