२३ जेठ, चितवन । लगातार दुई वर्ष शून्य चोरी शिकारी वर्ष मनाउन सफल चितवन राष्ट्रिय निकुञ्जले आइतबार विशेष कार्यक्रम आयोजना गरेको छ ।
विश्व वातावरण दिवस र श्रीजंग गणको २ सय ३३ औं वार्षिकोत्सवको अवसर पारेर शून्य चोरी शिकार भएको १ एक महिना २० दिन पछि शून्य चोरी शिकार वर्ष मनाइएको हो । सोही अवसरमा चितवन राष्ट्रिय निकुञ्ज र नेपाली सेनाको संयुक्त संरक्षण अपरेशन पनि सुरु गरिएको छ ।
प्रकृति संरक्षणमा उदाहरणीय
शून्य चोरी शिकारी वर्षको अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति राजेन्द्र क्षेत्रीले लगातार शून्य चोरी शिकार बर्ष चितवन निकुञ्जले मनाउन पाउनु विश्वको लागि उदाहरणीय भएको बताए । ‘चौथो पटक र लगातार दुई वर्ष शून्य चोरी शिकार बर्ष मनाउनु ठूलो उपलब्धी हो,’ उनले भने, ‘संरक्षणमुखी अथक प्रयास, सहकार्य र साझेदारीबाट आएको उपलब्धी विश्वको लागि नै उदाहरणीय छ ।’
सेनाले अब डिजिटल प्रविधिको उच्चतम प्रयोग गरी काम गर्न निर्देशन दिँदै उनले भर्खर मात्रै मकालु बरुण र ढोरपाटनमा गएका सेनाले चितवनका सेनाले पाएको सफलताको अनुसरण गर्नुपर्ने बताए ।
प्रकृति संरक्षणका लागि नेपाल सेना ४ दशकदेखि सक्रिय बनेको भन्दै सेनापति क्षेत्रीले स्थानिय समुदायसँग मिलेर देशैभरका सेना र फौज प्रकृति संरक्षणका लागि थप सक्रिय बन्ने प्रतिवद्धतासमेत व्यक्त गरे ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका निर्देशक गंगाजंग थापाले स्थानिय समुदायसँग साझेदारीमा गरिएको प्रयास र उपलब्धी सबैका लागि नुमना भएकोमा खुसी व्यक्त गरे ।
कार्यक्रमलाई चराविद डा. हेमसागर बराल, डब्लुडब्लुएफका प्रतिनिधि घनश्याम गुरुङ, निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ललगायतले पनि सम्बोधन गरेका थिए ।
यादवलाई लाईभ टाईम अवार्ड
समारोहकै अवसरमा वन्यजन्तु संरक्षणका विगत ५ दशकदेखि सक्रिय निकुञ्जका पूर्व संरक्षण अधिकृत रामप्रित यादवलाई लाईभ टाईम संरक्षण अवार्ड प्रदान गरिएको छ ।
शून्य चोरी शिकार बनाउन सक्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत कमलजंग कुवँर, हालका प्रमुख रामचन्द्र कँडेल, श्रीजंग गणका तत्कालिन गणपति संजय देउजा, हालका गणपति माधव थापालाई पनि सम्मान गरिएको छ ।
यसरी बछौली उपभोक्ता समितिका बाबुराम पुरी, लोथर उपभोक्ता समितिका राजकुमार भट्ट, समुदायमा आधारित चोरी शिकार नियन्त्रयण युवा जागरण उपसमिति पटिहानीका बासुदेव सापकोटालाई पनि प्रधानसेनापति क्षेत्रीले प्रमाणपत्रसहित पुरस्कृत गरेका थिए ।
यस अघि एकै बर्ष ३७ वटा मरे
निकुञ्जको तथ्यांकअनुसार चोरी शिकारबाट सबैभन्दा बढी आर्थिक वर्ष २०५८/५९ मा ३७ वटा र आर्थिक वर्ष २०५९/६० मा ३२ वटा गैंडा मारिएका थिए । कालगतिले मर्नेमा सबैभन्दा बढी आर्थिक वर्ष २०५५/५६ मा २३ वटा छन् । २०६९ मा आठ वटा, २०७० मा नौं वटा, २०७१ मा सात र २०७२ मा १० गैंडा मरेकोमा १-१ वटा तस्करले मारेका थिए ।
२०७१ वैशाख २० गतेदेखि ०७३ साल वैशाख २० गतेसम्म आइपुग्दा निकुञ्जमा दुर्लभ एकसिंगे गैंडा, बाघलगायत कुनै पनि जंगली जनावर चोर शिकारीका कारण नमारिएकाले दुई वर्ष शून्य चोरी शिकार वर्ष भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । निकुञ्जको निगरानीमा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, अपराध अनुसन्धान विभाग र स्थानीयको सक्रियता नै बढी प्रभावकारी बनेको उनको भनाइ छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...