-->
विदेशिँदै नर्स

हजारौं नर्स स्वदेशमा काम नपाएर बेरोजगार छन् । त्यसैले पहिले नर्सिङ पेशाप्रति आकर्षित हुनेहरु अध्ययन सकिएपछि पछुताउने गरेका छन् । जागिर नपाउने, स्वास्थ्य संस्थामा लामो समय भोलेन्टियर गर्नुपर्ने, न्यून तलबमा काम गर्नुपर्ने अवस्थाका कारण धमाधम बिदेसिँदै छन् ।
गत मंसिर मसान्तसम्म विदेशमा कामका लागि ५ हजार १ सय १० जनाले नेपाल नर्सिङ काउन्सिलबाट भेरिफिकेसन पत्र लिएका छन् । यो तथ्यांकमा भारतमा काम गर्न जानेहरु र विदेशमै नर्सिङ पढ्नेहरु समावेश छैनन् ।
काउन्सिलबाट लाइसेन्स लिएका नर्स विदेशमा काम गर्न जानुपरेमा भेरिफिकेसन पत्र अनिवार्य छ । काउन्सिलमा हाल दैनिक पाँचदेखि १० वटासम्मको भेरिफिकेसन पत्रको माग हुने गरेको छ । काउन्सिलका अनुसार यसरी पत्र लैजानेमध्ये ५० प्रतिशतभन्दा बढी नर्स अस्ट्रेलिया गएका छन् ।
यसबाहेक अमेरिका, बेलायत, क्यानडा, जापान तथा दुबई जानेहरुले भेरिफिकेसन लिएका छन् । पछिल्लो समय खाडी मुलुक दुबईबाट समेत नर्सको माग आउन थालेको छ । दुबईमा नर्सका लागि दुई लाख तलब, आवास तथा गाडीको समेत सुविधा छ ।
काउन्सिलकी रजिस्ट्रार लक्ष्मी राईका अनुसार हालसम्म २८ हजार ३ सय ६४ नर्सले काउन्सिलबाट लाइसेन्स लिएका छन् । तर, स्वदेश तथा विदेशमा कति नर्स कार्यरत छन् भन्ने यकिन तथ्यांक न स्वास्थ्य मन्त्रालयसँग छ, न त सरोकारवाला निकाय नर्सिङ काउन्सिलसँग छ ।
विदेशका नर्स पठाउँदै आएको बागबजारस्थित कसमस कन्सल्टेन्सीका भरत रेग्मी विदेशमा नर्सको सम्भावना बढिरहेको औंल्याउँछन् । ‘विदेशमा दक्ष कामदारको माग बढिरहेको छ, त्यसमा पनि नर्सहरुको माग बढी छ,’ रेग्मीले भने । उनका अनुसार दैनिक पाँच जना नर्स विदेशको सम्भावनाबारे बुझ्न आउने गरेका छन् ।
 
विदेश जाने प्रक्रिया
नेपालबाट जुनसुकै तह अध्ययन गरेर गएपनि सम्बन्धित देशमा रजिस्टर्ड नभईकन या ती देशका निश्चित कोर्स नगरीकन नर्सका रुपमा काम गर्न पाइँदैन । बेलायत गएर काम गर्न त्यहाँको नर्सिङ एन्ड मिडवाइफरी काउन्सिलले निश्चित क्राइटेरिया तोकेको छ । जसअनुसार आइएलटिएसमा सात स्कोर चाहिन्छ । त्यसपछि रजिस्ट्रेसन प्रोसेस हुन्छ । रजिस्टर्ड भएपछि ६ महिने कोर्स गर्नुपर्ने हुन्छ । अनि मात्र रजिस्टर्ड भएर काम गर्न पाइन्छ ।
यस्तै, अस्ट्रेलियामा पनि सीधै गएर काम गर्न पाइन्न ।  निश्चित कोर्स गर्नैपर्छ र आईएलटीएसको हरेक ब्यान्डमा कम्तीमा सात स्कोर ल्याउनैपर्छ । बीएस्सी गर्नेले पनि केही कोर्स गरेपछि अस्ट्रेलियाको नर्सिङ काउन्सिलले तोकेअनुसारको कागजात बुझाएपछि रजिस्टर्ड हुन पाउँछन् ।
‘विदेशमा पाइला टेक्नेबित्तिकै नर्स हुन पाइँदैन,’ काउन्सिलकी रजिस्ट्रार राई भन्छिन्, ‘लाइसेन्स नभई काम गर्न नपाइने भएकाले पहिले सम्बन्धित देशले तोकेको प्रावधानअनुसार लाइसेन्स लिनुपर्छ, त्यसका साथै स्थानीय भाषा तथा स्वास्थ्य सेवाको ज्ञान तथा सीप अनिवार्य छ ।’ तर, केही कन्सलटेन्सीले विदेश जानेबित्तिकै काम गर्न पाइन्छ भन्ने सपना देखाउने गरेको उनको भनाइ छ ।
नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलका अनुसार लाइसेन्स नलिँदासम्म र रजिस्टर्ड नहुँदासम्म नर्सहरुले गर्ने काम केयरगिभरको हो । किनभने नर्सिङ विद्यार्थीहरुले सीधै काम गर्न पाउँदैनन् । उनीहरुले पहिले केयररमा काम गर्न पाउँछन् । स्थानीय वृद्धवृद्धाको हेरचाह गर्ने केयररको माग अस्ट्रेलियामा बढी छ । अन्य विषय पढ्नेहरुले भने केयररमा काम पाउँदैनन् ।
युनिक्याम्पस एजुकेसन नेटवर्कका मार्केटिङ एवं विदेश विभाग प्रमुख घनश्याम घिमिरेका अनुसार अस्ट्रेलियामा नर्सिङमा मास्टर्स गर्न दुई वर्ष काम गरेको अनुभव चाहिन्छ । अन्य विषय पढेर गए पनि अस्ट्रेलियामा नर्सिङ पढ्न पाइन्छ । ‘अस्ट्रेलियामा सीधै गएर मास्टर्स गर्न गा¥हो हुन्छ र भिसाको पनि समस्या हुन सक्छ,’ घिमिरे भन्छन्, ‘त्यसैले बीएस्सी वा बीएन पढ्न जानु नै बुद्धिमानी हुन्छ । तर, बेलायतमा भने सजिलो छ ।’
खर्च कति लाग्छ ?
युनिक्याम्पस एजुकेसन नेटवर्कले उपलब्ध गराएको जानकारी अनुसार युरोप तथा अष्ट्रेलियामा नर्सिङ पढ्नका लागि खाना र बस्न वार्षिक १५ देखि २० लाख रुपियाँ लाग्छ । त्यसबाहेक ट्युसन फी डिप्लोमा लेभल (१२ देखि १८ महिनाको कोर्स) का लागि वार्षिक १५ लाख तथा स्नातकका लागि २० लाख रुपियाँभन्दा बढी लाग्छ । प्रोसेसिङका लागि डिप्लोमा एक वर्षको ट्युसन फीसहित २० देखि २५ लाख रुपियाँ र स्नातकका लागि ३५ लाख रुपियाँसम्म लाग्छ ।
भर्खरै नर्सिङ सकेकाहरुको लेभल १ हुन्छ । उनीहरुले नर्सिङ होमहरुमा प्रतिघण्टा २५ डलरसम्म कमाउँछन् । अस्पतालको कमाइ त्योभन्दा बढी हुन्छ । स्थायी बसोबासको अनुमति प्राप्त गरिसकेकाहरुले भने २७ डलरसम्म कमाउँछन् । अस्ट्रेलियामा रजिस्टर्ड र दक्ष नर्सले वार्षिक एक लाख डलरसम्म कमाउन सक्छन् । क्यानडाको क्युबेक प्रान्तमा एउटा रजिस्टर्ड नर्सले ५० हजारदेखि ६० हजार डलर प्रतिवर्ष पाउँछन् भने अर्को प्रान्त ओन्तारियोमा ५१ हजार डलर प्रतिवर्ष कमाउँछन् ।
निश्चित कामको लाइसेन्स
नेपालमा नर्सिङ पढाइ सक्नेबित्तिकै नर्सले सबै काम गर्न पाउँछन् । तर, अस्ट्रेलियाको सन्दर्भमा भने त्यस्तो छैन । स्नातक या स्नातकोत्तर गरेर निश्चित अनुभव लिएपछि नर्स प्राक्टिस्नर बन्न पाइन्छ । रजिस्टर्ड नर्सले कब्जियतलगायतका केही औषधि पनि चलाउन पाउँछन् । अस्ट्रेलियामा कार्यरत रिका सुवेदी भन्छिन्, ‘नेपालमा नर्स बन्नेबित्तिकै आईभी क्यानुला लगाउन पाइन्छ । अस्ट्रेलियामा छुट्टै कोर्स गरेर प्रमाणपत्र पाएपछि आईभी क्यानुला लगाउन पाइन्छ ।’
कति कमाउँछन् ?
बेलायतको रोयल लण्डन हस्पिटलमा कार्यरत प्रसूना कँडेललाई सुविधाभन्दा पनि विकसित देशबाट पाइने ज्ञान र सीप महत्वपूर्ण कुरा हो । ‘नेपालजस्तो विकासोन्मुख देशको नर्सले यहाँ आएर उच्चतम प्रविधिमा काम गर्ने अवसर पाउन सक्छन्, क्षमता सुधार गर्ने मौका पाउँछन्, यो पैसाभन्दा ठूलो कुरा हो,’ उनी भन्छिन् । उनले बेलायतमा एउटा नर्सको जागिरले साधारण परिवारलाई पाल्न सकिने बताइन् ।
अस्ट्रेलियामा नेपाली नर्सहरुले तहअनुसार पैसा पाउँछन् । भर्खरै नर्सिङ सकेकाहरुको लेभल १ हुन्छ । उनीहरुले नर्सिङ होमहरुमा प्रतिघण्टा २५ डलरसम्म कमाउँछन् । अस्पतालको कमाइ त्योभन्दा बढी हुन्छ । स्थायी बसोबासको अनुमति प्राप्त गरिसकेकाहरुले भने २७ डलरसम्म कमाउँछन् । नेपालमा जस्तोसुकै तालिम लिएर आए पनि विदेशमा निश्चित कोर्स पढ्नैपर्छ ।
युनिक्याम्पस एजुकेसन नेटवर्कका घिमिरेका अनुसार अस्ट्रेलियामा रजिस्टर्ड र दक्ष नर्सले वार्षिक एक लाख डलरसम्म कमाउन सक्छन् । क्यानडाको क्युबेक प्रान्तमा एउटा रजिस्टर्ड नर्सले ५० हजारदेखि ६० हजार डलर प्रतिवर्ष पाउँछन् भने अर्को प्रान्त ओन्तारियोमा ५१ हजार डलर प्रतिवर्ष कमाउँछन् । क्युबेकले आफ्नो दक्ष कामदार कार्यक्रमअन्तर्गत नर्सले पाएको शिक्षा र तालिमका लागि बढी अंक प्रदान गर्छ ।
 
यस्ता छन् समस्या
कुनै पनि नर्स विदेश जानेबित्तिकै उनीहरुले भोग्ने समस्या भनेकै भाषा हो । बेलायतमा आईएलटीएस नहुनेहरुलाई गा¥हो हुन्छ तर रजिस्टर्ड भइसकेपछि भने खासै समस्या हुँदैंन । अस्ट्रेलियामा भने सुरु सुरुमा स्थानीय बोलचालीको भाषा नबुझ्ने समस्या हुन्छ । प्राइम एजुकेसन कल्सल्टेन्सीका दीपक गुरुङका अनुसार अंग्रेजी भाषा प्रयोग नभएका देशमा भने स्थानीय भाषाको ज्ञान लिनुपर्ने हुन्छ ।
 
माग बढेको बढ्यै
विकसित देशहरुमा स्वदेशी तथा विदेशी नर्सको माग बढ्दो छ । स्थानीय रुपमै नर्स जनशक्ति बढी उत्पादन भइरहे पनि त्यसको तुलनामा यथेष्ट रुपमा आपूर्ति हुन सकेको छैन । हेल्थ वर्कफोर्स अस्ट्रेलियाका अनुसार त्यहाँको नर्सिङ जनशक्तिको निकै ठुलो अभाव छ । सन् २०२५ सम्म त्यहाँ १ लाख ९ हजार नयाँ नर्स चाहिने अवस्था छ ।
बेलायतको नर्सिङ एण्ड मिडवाइफरी काउन्सिलका अनुसार सन् २०१४ मा ४ हजार ३ सय ५ जना विदेशी नर्स रजिस्टर्ड भएका थिए । यो सन् २०१० को तुलनामा ७१ प्रतिशत बढी हो । सन् २०१० मा २ हजार ५ सय २० विदेशी नर्स रजिस्टर्ड भएका थिए ।
यस्तै, क्यानडाको क्यानडियन नर्सेस एसोसिएसनका अनुसार त्यहाँ सन् २०२२ सम्ममा ६० हजार नर्स चाहिने अवस्था छ । क्यानडामा रजिस्टर्ड नर्सले प्राक्टिस्नर, रिसर्चर, स्पेसलाइज्ड, इन्स्ट्रक्टर, साइकियाट्रिक तथा टेक्निसियन भएर काम गर्न पाउँछन् ।
नेपालमा देशभरका २ सय ३० भन्दा बढी सरकारी र निजी संस्थाले बर्सेनि ५ हजारभन्दा बढी नर्स उत्पादन गरे पनि उनीहरुले काम गर्ने क्षेत्रको दायरा सीमित छ । यहाँ नर्सले काम गर्ने भनेको अस्पताल तथा नर्सिङ होमहरुमा मात्र हो । यसको तुलनामा विदेशमा नर्सले काम गर्ने क्षेत्रहरु प्रशस्त छन् । ‘नेपालमा राम्रो अवसर तथा सुविधा नभएकै कारण विदेश जाने नर्सको संख्या बढेको हो । विदेश गएका पाँच हजार नर्स भनेका नेपालका लागि दक्ष जनशक्ति हुन्,’ नर्सिङ काउन्सिलकी रजिस्ट्रार राई भन्छिन्, ‘यिनीहरुलाई स्वदेशमै अवसर दिन सकेको भए राम्रो हुन्थ्यो ।’ष्ट्रेलिया आकर्षक गन्तव्य हो
rica hamal
रिका सुवेदी, अष्ट्रेलिया
नेपालबाट पिसिएल नर्सिङ गरेर आउनेहरुले यहाँ सिधै काम पाउँदैंनन् । फेरि नेपाललगायत कतिपय एशियाली देशको शिक्षालाई यहाँ मान्यता दिइदैंन । यहाँ आएपछि निश्चित कोर्ष गर्नैपर्छ र आइइएलटिएसको हरेक ब्याण्डमा कम्तीमा ७ स्कोर ल्याउनैपर्छ । बिएस्सी गर्नेले पनि केही कोर्ष गरेपछि अष्ट्रेलियाको नर्सिङ काउन्सिलले तोकेअनुसारको कागजात बुझाएपछि रजिष्टर्ड हुन पाइन्छ ।
नेपालबाट आएर कार्यरत रहेका नेपाली नर्सहरु कतिको संख्यामा छन् भन्नेबारेमा कुनै यकिन तथ्यांक छैन । यहाँ अष्ट्रेलियाभर छरिएर रहेका छन् । तर, सिड्नी, मेलबन, पर्थमा धेरै छन् ।
नेपालमा नर्सले पढाई सकेपछि अस्पतालमा मात्र काम गर्छन् । तर, यहाँ काम गर्ने क्षेत्र क्लिनिक, नर्सिङ होमलगायतका अन्य पनि छन् । यहाँ रजिस्टर्ड नर्सले बिरामी हेरेर कब्जियतलगायतका केही औषधि चलाउन सक्छन् । नर्स प्राक्टिस्नर बनेपछि भने औषधि नै सिफारिस गर्न गर्न सक्छन् । स्नातक या स्नातकोत्तर गरेर निश्चित अनुभव लिएपछि नर्स प्राक्टिस्नर बन्न पाइन्छ । २, ३ वर्षको कोर्ष गरेपछि डाक्टरको लेभलमा पुग्न पाइन्छ । तर, डाक्टरैचाहिँ बनिदैन ।
नर्सले गर्ने कामको सीमितताका हिसाबले पनि नेपाल र अष्ट्रेलियामा धैरै फरक छ । नेपालमा नर्स बन्नेबित्तिकै आइभी क्यानुला लगाउन पाइन्छ । तर, अष्ट्रेलियामा छुट्टै कोर्ष गरेर प्रमाणपत्र पाएपछि मात्र आइभी क्यानुला लगाउँन पाइन्छ । यस्तै, नेपालमा सिकेको ज्ञानको करिब ४० प्रतिशतमात्र यहाँ प्रयोग हुन्छ । अधिकांश अनुसन्धानमा आधारित हुन्छ । यहाँको गुणस्तर र सैद्धान्तिक ज्ञान राम्रो छ । तर, प्रयोगात्मक ज्ञान भने नेपालकै उत्कृष्ट हो भन्ने लाग्छ ।
यहाँ नर्सहरुको लेभल कामअनुसार बढ्दै जान्छ । भर्खरै नर्सिङ सकाएकाहरुको लेभल १ हुन्छ । उनीहरुले नर्सिङ होमहरुमा प्रतिघण्टा २५ डलरसम्म पाउँछन् । हरेक वर्ष लेभल बढ्दै जान्छ र तलबपनि बढ्दै जान्छ । अस्पतालमा तलब योभन्दा बढी हुन्छ । विद्यार्थीले सिधै काम गर्न पाउँदैंनन् । उनीहरुले गर्ने भनेको केयरर हो । केयररमा काम गर्न पनि नर्सिङ नै पढ्नुपर्छ । अन्य विषय पढेकाले केयररमा काम गर्न पाउँदैंनन् । खासगरी बुढाबुढीहरुको केयर गर्ने केयररमा भने माग बढी छ ।
पैसाको हकमा ‘क्याजुअल’ भएर काम गर्नेले पैसा बढी पाउँछन् । उनीहरुले प्रतिघण्टा २३–२४ डलरसम्म पाउँछन् । तर, उनीहरुले बिरामी बिदालगायतका सुविधा पाउँदैनन् । तर, पार्ट टाइम या फुल टाइम काम गर्नेले भने अलि कम पैसा पाउँछन् । सुविधाहरु भने उनीहरुलाई हुन्छ । तर, स्थायी बसोबासको अनुमतिप्राप्त (पिआर) लिइसकेकाहरुले भने २७ डलरसम्म कमाउन सक्छन् । र, लेभलअनुसार हरेक वर्ष पैसा पनि बढ्दै जान्छ । उनीहरुको रेस्पोन्सीबिलिटी पनि बढ्दै जान्छ ।
नेपालमा जतिसुकै तालिम लिएर आएपनि ती कोर्षलाई यहाँ मान्यता दिइदैंंन । त्यसैले यहाँ आएर निश्चित समयको कोर्ष गर्नैपर्छ । त्यसैले यहाँको पढाईको सिस्टम बुझ्नैपर्छ । साथै पढाईलाईसमेत असर पार्ने भएकाले पहिले यहाँको संस्कृति बुझनुपर्छ र आइसकेपछि मिहिनेतका साथ पढ्नुपर्छ । त्यसैले तालिम, स्रोतसाधन, संस्था तथा पैसाको हिसाबले नर्सलाई अष्टे«लिया आकर्षक गन्तव्य हो भन्दा फरक पर्दैन ।
 
पैसाभन्दा पनि ज्ञान ठूलो कुरा हो
prasuna kandel
प्रसुना कडेंल, रोयल लण्डन हस्पिटल
बेलायतमा कति नेपाली नर्स कार्यरत छन् भन्ने बारेमा यकिन तथ्यांक छैन । तर, यहाँको नर्सिङ एण्ड मिडवाइफरी काउन्सिलको तथ्यांकअनुसार रजिष्टर्ड नेपाली नर्स १७ सयको हाराहारीमा कार्यरत छन् । त्यसबाहेक रजिष्टर्ड नभएकासमेत गरी बेलायतमा नेपाली नर्सको संख्या २ हजार छ ।
बेलायत आएर काम गर्न यहाँको नर्सिङ एण्ड मिडवाइफरी काउन्सिलले निश्चित क्राइटेरिया तोकेको छ । जसअनुसार आइइएलटिएसमा ७ स्कोर चाहिन्छ । त्यसपछि रजिष्ट्रेसन प्रोसेस हुन्छ । रजिष्टर्ड भएपछि ६ महिनाको कोर्ष गर्नुपर्ने हुन्छ । अनिमात्र रजिष्टर्ड भएर काम गर्न पाइन्छ । बेलायतमै नर्सहरु धेरै उत्पादन भएका छन् । त्यसैले नर्सहरु फिल्टर गर्न प्रावधान कडा बनाइएको छ । नेपालबाटै आवेदन दिएर आउनेहरुलाई अलि ‘टफ’ नै बनाइएको छ ।
यहाँ नर्सहरुलाई राम्रो सुविधा छ । एउटा नर्सको जागिरले साधारण परिवारलाई पाल्न सक्छ । तर, मेरो विचारमा सुविधाभन्दा पनि यहाँ पाउने ज्ञान र सीप महत्वपूर्ण हो । यहाँ ज्ञान र सीप पाइसकेपछि भोलिका दिनमा नेपालमै गएर लागू गर्न सकिन्छ । यहाँ आएर काम गरेपछि नेपालबाट हेर्दा त पैसा कमाएको देखिएला । तर, यहाँ आइसकेपछि गा¥है छ । बसाई खर्च बढी छ, लिभिङ स्टाण्डर्ड महंगो छ ।
यहाँ काम गर्न थालिसकेपछि नेपाली नर्सले खासै समस्या बेहोर्नुपर्दैन । आइइएलटिएस नहुनेहरुलाई भने गा¥हो हुन्छ । रजिष्टर्ड भइसकेपछि भने समस्या हुदैन ।  अस्पतालमा काम पायो भनेचाहिँ विभिन्न अवसरहरु पाइन्छ । अहिले बेलायतभर नेपाली नर्सहरु छन् । बढीजसो लण्डनमै छन् ।
हाई प्रविधिमा काम गर्ने अवसर पाइन्छ, क्षमतासुधार गर्ने मौका पाइन्छ। यो ज्ञान नेपाल फर्किएर एप्लाई गर्न पाएँ,भने नै ठुलो कुरा हो


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.