-->
प्यारिस: सेनमा ३० वर्षयताकै उच्च पानी

Image copyrightREUTERS

प्यारिसस्थित सेन नदीमा पानीको सतह ३० वर्ष यताकै उच्च विन्दुमा पुगेपछि शहर जलमग्न भएको छ भने कयौँ संग्रहालय, पार्क र चिहानघरहरु बन्द गरिएका छन्।

सप्ताहन्तमा पनि पानी पर्ने मौसमविदहरुले भविष्यवाणी गरेपछि सेन नदीमा पानीको सतह ६ दशमलब ५ मिटरसम्म पुग्न सक्ने ठानिएको छ।

पानीको सतह ६ मिटरभन्दा माथि पुगेपछि प्यारिसका लुभर र ओर्से संग्रहालयहरु बन्द गरिएका थिए भने कलाकृतिहरुलाई सुरक्षित स्थानमा सारिएको थियो।

युरोपका ४ वटा देशमा आएको उक्त बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको छ र ज्यान गुमाउनेमा अधिकाशं जर्मनीका छन्।

क्षति

Image copyrightAFP

फ्रान्सदेखि युक्रेनसम्म भीषण वर्षापछि आएको बाढीमा परि मध्य युरोपमा १५ जनाले ज्यान गुमाइसकेका छन्।

फ्रान्समा मृतकको संख्या दुई रहेको छ र कयौँ शहरहरु ध्वस्त भएको दक्षिण जर्मनीमा १० जना मरेका छन्।

बाढीका कारण दशौँ हजार मानिसहरु आफ्नो घरबाट विस्थापित भएका छन्।

फ्रान्सका अधिकारीहरुका अनुसार बिमा कम्पनीहरुलाई बाढीका कारण ६० करोड युरो भन्दा बढीको क्षति भएको छ।

प्यारिसमा सेन नदीको पानी शहरमा प्रवेश गरेपछि दुईवटा मुख्य मेट्रो स्टेशनहरु सुरक्षाका लागि बन्द गरिएको थियो।

भिषण

Image copyrightAFP

पुलहरुमा पनि आवतजावत नियन्त्रण गरिएको थियो र आपतकालिन बाहेक अन्य डुँगाहरुलाई सेन नदीमा प्रवेश गर्न रोक लगाइएको थियो।

बाढिका कारण प्यारिसस्थित राष्ट्रपतिको कार्यलय र महत्वपूर्ण मन्त्रालय समेत सुरक्षित स्थानमा सार्ने प्रारम्भिक गृहकार्य भएको एपी समाचार संस्थाले जनाएको छ।

फ्रान्सकी वातावरण मन्त्री सेगोलीन रवायालले सेन नदीमा पानीको सतह बढिरहेको हुनाले निरन्तर निगरानी गर्नुपर्ने बताएकी छन्।

उनले भनिन्, “जसरी पानीको सतह बढिरहेको छ र त्यो जमिनतिर आइरहेको छ, हामी सबै कुराको सुरक्षा गर्न सक्दैनौँ। अहिलेको बहाव सोचेभन्दा बढी शक्तिशाली रह्यो र हाम्रो सुरुको आकलन त्रुटिपूर्ण रह्यो।”

चर्चित लुभर संग्रहालयमा भुईँतलामुनि भण्डारण गरिएका २ लाख ५० हजार कलाकृतिलाई डुबानबाट जोगाउन कला संरक्षकहरुले हतार हतार काम गरेका थिए।

फ्रान्समा मे महिनामा भएको वर्षा सन् १८७३ यताकै ठूलो हो।

अहिलेको संकटलाई फ्रान्समा १९१० मा आएको बाढीसँग तुलना गरिएको छ जतिबेला प्यारिसले निरन्तर दुई महिना डुबान खेपेको थियो।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.