-->
सहमतीय सरकारका प्रधानमन्त्री देउवाः नेता यादव

काठमाडौंः नेपाली कांग्रेसका नेता महेन्द्र यादवले शक्ति सन्तुलनको लागि भएपनि पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने माग गरेका छन् । 

सोमबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा नेता यादवले नेकपा एमाले र एमाओवादीले मुलुकको महत्वपूर्ण पद सम्हालिरहेको उल्लेख गर्दै आफ्नो पार्टी सबैभन्दा ठूलो संसदीय दल भएको कारणले पनि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न पाउनुपर्ने बताएका हुन् । 

‘शेरबहादुर देउवाबाहेक अरु नेताले मुलुकको निकास दिनै सक्दैनन्, विगतमा पनि उहाँले मिलिजुली सरकारको नेतृत्व कुशलरुपमा गरिसक्नुभएको छ’, यादवले भने,‘त्यसैले अब बन्ने सहमतिको सरकार पनि उहाँकै नेतृत्वमा बन्नुपर्छ, यसमा कांग्रेस एक छ, हामीभित्र कुनै विवाद छैन ।’

साक्षात्कारमा नेता यादवले देउवाको नेतृत्वमा सहमतीय सरकार गठन भए मधेसको समस्याको समाधान समेत हुने विश्वास व्यक्त गरे । 
 
आन्दोलनरत मधेसी मोर्चामात्रै नभएर छिमेकी तथा अन्तर्राष्ट्रिय समूदायले समेत देउवालाई नै विश्वास गर्ने बताउँदै यादवले देउवाको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरेमात्रै संघीय लोकतान्त्रिक गणतन्त्रको न्यायोचित कार्यन्वयन हुने ठोकुवा गरे । 

केपी शर्मा ओली नेतृत्वको सरकार संविधान कार्यान्वयन गर्ने र भुकम्पपीडितलाई राहत तथा पुनस्र्थापना एवम् पूनर्निर्माण कार्यमा उदाशिन मात्रै नभएर पूर्णरुपमा असफल भएको समेत यादवको भनाइ थियो । 

कांग्रेसको नेतृत्वमा जारी संविधानलाई कार्यान्वयन गर्ने कुरामा वर्तमान सरकार पूरै असफल भएको छ’, उनले भने, ‘आन्दोलनरत मधेशी मोर्चासँग ठोस वार्ता नगर्ने अनि मुलुकलाई अनिर्णयको बन्दी बनाउने काम भएको छ, त्यतिमात्रै होइन, कांग्रेसले जम्मा गरेको पुँजीलाई वर्तमान सरकारले कार्यकर्तालाई छर्ने काम गरेको छ ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.