GETTY
अमेरिकाको मिनेसोटाका स्वास्थ्य अनुसन्धानकर्ताले गायक प्रिन्सको मृत्यु 'फेन्टनिल' भनिने अत्याधिक शक्तिशाली दुखाइ कम गर्ने औषधिका कारण भएको बताएका छन्।
स्वास्थ्य अधिकारीहरुको उक्त निचोड आफ्नो घरको लिफ्टमा गायक प्रिन्सको मृत शरीर फेला परेको एक महिनापछि आएको हो।
अब घुँडा र कम्मरमा चर्को दुखाइ भोगेको भनिएका प्रिन्सलाई उक्त औषधि चिकित्सकले सिफारिस गरे या नगरेको भन्नेबारे अनुसन्धान हुनेछ।
गैरकानुनी रुपमा 'फेन्टनिल' औषधि उपलब्ध गराउने व्यक्तिलाई फौजदारी अभियोग लगाउने व्यवस्था अमेरिकामा छ।
अनुसन्धान
जाँचकार्ताहरुले प्रिन्सले ज्यान गुमाउनुअघि दुई पटक उनलाई भेटेका ५२ बर्षिक चिकित्सकलाई सोधपुछ गरिसकेका छन्।
अधिकारीहरुले मे महिनामै अमेरिकी संचारमाध्यमहरुलाई ती गायकका साथबाट दुखाइ कम गर्ने ‘पेनकिलर’हरु फेला परेको जानकारी दिएका थिए।
एउटा प्रहरी वारेन्टले एक जना चिकित्सकले गायक प्रिन्सलाई उनी मर्नु एक दिन अघि औषधि सिफारिस गरेको खुलासा गरेको थियो।
तर त्यसमा कुन औषधि सिफारिस गरिएको थियो वा त्यो सेवन गरियो गरिएन भन्ने खुलाइएको छैन्।
'अटप्सी' प्रतिवेदन अनुसार प्रिन्सले हिरोइन भन्दा कयौँ गुणा शक्तिशाली 'फेन्टनिल' भन्ने औषधि लिएका थिए।
लोकप्रिय
उक्त औषधि मुख्य रुपमा शल्यक्रिया गरिसकेपछि दुखाइ कम गर्न वा अरु पेनकिलरले काम गर्न छाडेका बिरामीहरुलाई पीडा महसुस हुन नदिन दिने गरिन्छ।
मिनियापुलिसमा रहेको आफ्नै घरको लिफ्टमा गएको अप्रिल २१ तारिखमा बिहानै उनको मृत शरिर फेला परेको थियो।
उनको मृत्युमा विश्वभरका कलाकार तथा उनका असंख्य समर्थकहरुले श्रद्धान्जलि व्यक्त गरेका थिए।
सानै उमेरदेखि कुशल लेखक र प्रस्तोता रहेका उनले सात वर्षको उमेरमा पहिलो गीत लेखेका थिए।
३० वटा भन्दा बढी एल्बम निकालेका उनका ‘लेट्स गो क्रेज्री’ र ‘व्हेन डोभ्स क्राइ’ सहितका गीत निक्कै लोकप्रिय छन्।

0 comments
प्रतिक्रिया दिनुहोस्...