-->
हाम्रो र राम्रो 'कालो पोथी'

नेपाली फिल्मले ५० वर्ष पारि आफूलाई कटाइसकेको छ। नेपाली फिल्मको उमेर बढेको छ तर उमेरसँग बढ्नुपर्ने स्वभाविक परिपक्वता भने बढ्न सकेको छैन्। लामो समय नेपाली फिल्मको संरचना सुरूवाती कालको बलिउडी फर्मूलामा नै घुमिरह्यो र रहिरहेको नै छ। त्यो फर्मूलामा बलिउड अगाडी नै बढिरहेको छ। अर्थका हिसाबले बलिउड झाँगिए पनि परिवर्तनका लागि बलिउड अझै डराइरहेकै छ। दौडि हाल्ने जमर्को नदेखिए पनि बलिउडमा केहि हिम्मतिलाहरूले चलिआएको शैली छाडेर हिड्न सुरू भने गरिसकेका छन्।

नेपाली फिल्ममा पनि पछिल्लो एक दशकमा चलि आएका शैलीको वैकल्पिक बाटो हिँड्न थालिसकेको छ। उनीहरू बलिउड फिल्मको 'लार्जर देन लाइफ'को प्रस्तुतिको बाटो छाड्दै यथार्थ र मौलिकताको सिँढी खनिरहेका छन्। त्यहि सिलसिलामा शुक्रबारबाट रिलिज भएको मीन बहादुर भाम निर्देशित 'कालो पोथी'ले नयाँ सिँढी थपेको छ।

देशमा झण्डै १० वर्ष चलेको सशस्त्र संघर्षले नेपाली समाज, अर्थतन्त्र, राजनीति आदिमा प्रत्यक्ष प्रभाव पार्यो। यसले राजनीति लगायतका यावत कुरालाई जसरी प्रभावित पारेको भए पनि सबैभन्दा प्रभावित भने जनता र समाज भयो। 'कालो पोथी'ले दुई बालक पात्रबाट नेपालको पश्चिम पहाडको त्यो दौरानको भोगाइ प्रस्तुत गरेका छ। भामले फिल्ममा बालसुलभ इन्सटिङ्ले चलिरहेका दुई बालकको माध्यमबाट दन्वद्वले कसरी नेपाली समाज नयाँ दौरमा हिँड्यो भन्ने देखाएको छ।

फिल्मको मुख्य विशेषता भनेको त्यसमा प्रयूक्त काव्यिक शैली हो। उनले फिल्ममा वजनदार संवादबाट आफ्नो कुरा भन्नु भन्दा पनि दृश्यबाटै बुझाउने काम गरेका छन्। फिल्मभित्र प्रयोग भएका दुई सपनाबाट यसलाई बुझ्न सकिन्छ। त्यस्तै शान्त रहेको नेपाली समाज कसरी अनिश्चित कालो अध्यारोतर्फ हेलिन्छ भन्ने कुरा सेतो पोथीलाई कालो पोतिएको दृश्यले अझ सशक्त पारेको छ। फिल्मको अन्तिममा प्रकाशलाई उनकी दिदीले दिएको जन्तर झुण्डिरहेको मानेको दृश्य सबैभन्दा बिम्बात्मक लाग्छ। त्यसले युद्धको अन्तिम बिसौनी शान्ति नै हो भन्ने देखाएको छ।

फिल्मको सबैभन्दा राम्रो पक्ष भनेको यसको सेटिङ् हो। सानो भूगोलको नेपालको सांस्कृतिक र भौगोलिक विविधता व्यापक छ। त्यहि व्यापक विविधताभित्रको एउटा अंश हो मुगु। मुगुको फरक भूगोल, समाज र संस्कृतिलाई भामले मिहिन ढंगले चिनाउने काम गरेका छन्। भाम सोहि भूगोलबाट आएकाले उनले गरेको चित्रण फिल्ममा सबैभन्दा बलियो छ। भामले त्यो भूगोलको अन्तरवस्तुलाई हुबहु उतार्ने प्रयासमा कुनै कमी छोडेका छैनन्।

फिल्मका दुई मूल चरित्र शुक्रराज रोकाया(किरण) र खड्ग नेपाली (किरण)को स्वभाविक अभिनय फिल्मको मूख्य उभार हो। उनीहरूले पर्दामा देखाएको बाल सुलभ चञ्चलता, बदमासी लगायतका हर्कत हेर्दा उनीहरूको पहिलो फिल्म हो भन्न गार्है लाग्छ। उनीहरूले माझिएको अभिनय गरेका छन् जसले दर्शकको आँखा पर्दामा टिकाइराख्छन्। यी दुई बाहेक 'पशुपति प्रसाद'मा 'भष्मे'को चरित्र निभाएका विपिन कार्की पनि 'मार्किङ' छन्।

फिल्ममा समावेश गरिएको प्रविण खतिवडा र वेनिशा हमालको चुम्बन दृश्य भामले किन राखे? त्यसको स्वभाविक उत्तर त्यो दुई दशक पुरानो कालखण्डलाई ध्यानमा राख्दा अलि नाटकिय लाग्छ।

फिल्मको व्याकग्राउण्ड स्कोर र सिनेम्याटोग्राफीले कथाको गतिलाई पक्रिएका छन्। यद्धयपी केही लङ् सर्टहरूले अलिअलि झिजों लगाउने काम गर्छन्। फिल्मको केन्द्रिय घषर्ण केहिलाई कमजोर लाग्न सक्छ तर फिल्ममा त्यो घर्षणको राप सधै गृष्मको घाम जत्तिकै हुनुपर्छ भन्ने अनिवार्यता छैन्। कतिपय अवस्था त्यो शरदको न्यानो घाम पनि हुन्छ।

समग्रमा सानातिना गल्तीहरूलाई बिर्सदा 'कालो पोथी' आजसम्म बनेका नेपाली फिल्महरूमा एउटा क्लासको फिल्म हो जसलाई हाम्रो राम्रो नेपाली फिल्म भन्न सकिन्छ। गत वर्ष बनेको 'पशुपति प्रसाद' पछि 'कालो पोथी' अर्को एउटा उत्कृष्ट फिल्म बनेर निस्केको छ।

फिल्मले जसरी दुई बालकका माध्यमबाट समाजलाई चिहाउने काम गरेका छन् त्यसमा निर्देशक भाम सफल छन्। नेपाली फिल्मले सर्वाधिक खेप्ने गरेको 'दृश्य साहित्यको अभाव' भन्ने आलोचनालाई भामले राम्रै जवाफ  दिएका छन्। भामको फिल्म बालबालिकाकै आँखाबाट समाज चिहाइएको सन् १९९९ मा रिलिज इरानी फिल्म निर्देशक माजिद माजिदिको 'चिल्ड्रेन्स अफ ह्यावेन' तथा सन् २००४ मा रिलिज भएको लुइस मान्दोकीको निर्देशित 'इनोसेन्ट भ्वाइसेस्'को सनिकट, समकक्षी लाग्छ।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.