वाणिज्य बैंकहरुको १६ अर्बको हकप्रद सेयर आउँदै
पुँजी बृद्धिकै लागि वाणिज्य बैंकहरुले १६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको १६ करोड कित्ता बराबरको हकप्रद सेयर निस्कासन गर्न लागेका छन्। बैंकहरुले पुँजी बृद्धिका लागि हकप्रदसँगै मर्जमा जाने विकल्पबारे आन्तरिक गृहकार्य समेत गरिरहेकाले पनि सबैले धितोपत्र बोर्डमा अहिले निवेदन नदिएको हुन सक्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए।
गत साउनमा राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै वाणिज्य बैंकहरुलाई ८ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिएपछि अहिले बैंकहरुमा हकप्रद सेयर निस्कासनको लहर सुरु भएको छ।
पुँजी बृद्धिकै लागि वाणिज्य बैंकहरुले १६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको १६ करोड कित्ता बराबरको हकप्रद सेयर निस्कासन गर्न लागेका छन्। यीमध्ये एनआईसी एसिया बैंकको हकप्रद सेयर बिक्री खुला भइसकेको छ भने सिटिजन्स र सानिमा बैंकले हकप्रद सेयर बिक्रीको सूचना जारी गरिसकेका छन्।
केही बैंकहरु हकप्रद निस्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिई पाइपलाइनमा बसेका छन् भने केहीले साधारणसभामार्फत हकप्रद सेयर निस्कासन गर्ने निर्णय गरिसकेका छन्।
बैंकहरुले पुँजी बृद्धिका लागि हकप्रदसँगै मर्जमा जाने विकल्पबारे आन्तरिक गृहकार्य समेत गरिरहेकाले पनि सबैले धितोपत्र बोर्डमा अहिले निवेदन नदिएको हुन सक्ने बोर्डका कार्यकारी निर्देशक निरज गिरीले बताए।
‘अन्तिम समयमा गएर मात्रै तात्तिने प्रचलन छ, कतिपय बैंकहरुले साधारणसभाबाट हकप्रदको निर्णय गरे पनि अहिलेसम्म बोर्डमा निवेदन दिइसकेका छैनन्’ सेतोपाटीसँगको कुराकानीमा उनले भने।
मर्ज तथा एक्वीजिसनका अलवा बोनस सेयर र एफपीओ निस्कासनबाट समेत चुक्ता पुँजी बृद्धि गर्न सकिने भए पनि अधिकांश बैंकहरुले हकप्रदलाई प्राथमिकतामा राखेको पाइन्छ। अहिले नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निस्कासनको प्रक्रिया सहज गरिदिएको छ भने सूचनालाई प्रभावकारी बनाउन निर्देशन दिएको छ।
हकप्रद निस्कासनका लागि क्रेडिट रेटिङ लिनुपर्ने बाध्यतात्मक अवस्था बोर्डले अन्त्य गरेको छ। प्रतिसेयर नेटवर्थ १ सयभन्दा बढी हुनुपर्ने, अंकित मूल्यमा निस्कासन गर्नुपर्ने, ५ वर्षदेखि संचालनमा आई ३ वर्ष नाफामा गएको हुनुपर्ने र खराब कर्जा तोकिएको सीमाभित्र हुनुपर्ने शर्त पुरा गरेपछि बैंकहरुले हकप्रद सेयर निस्कासनको अनुमति पाउँछन्।
कतिपय सेयर लगानीकर्ताले हकप्रदको सूचना बेलैमा जानकारी नपाउँदा हकप्रद सेयर खरिद गर्नबाट वञ्चित हुने गरेका उदाहरण प्रशस्त छन्। बजार मूल्य जति भए पनि अंकित मूल्य १ सयमै सेयरहोल्डरले हकप्रद सेयर लिन पाउने हुँदा हकप्रदको चर्चापछि बजारमा मूल्य बढ्ने गरेको छ।
यसरी हकप्रदमा बिक्री नभएको सेयर पछिबाट कम्पनीहरुले लिलामीमा बेच्ने गरेका छन्। मूल्य समायोजन हुँदा हकप्रद सेयर नलिएका लगानीकर्तालाई भने नोक्सान पर्ने गर्छ।
यी हुन् हकप्रद सेयर निस्कासनको लहरमा देखिएका वाणिज्य बैंकहरु
एनआईसी एसिया बैंक : एनआईसी एसिया बैंकको हकप्रद सेयरका लागि अहिले बिक्री खुला छ। आगामी असार १५ गतेसम्म लगानीकर्ताले आफूसँग भएकोबाट २५ प्रतिशतसम्म सेयरका लागि आवेदन दिन सक्ने छन्। अर्थात ४ बराबर १ को अनुपातमा हकप्रद सेयर बिक्री खुला भएको हो।
सो बैंकको ९२ करोड ३७ लाख ५४ हजार रुपैयाँको ९२ लाख ३७ हजार ५ सय ४० कित्ता हकप्रद सेयर निस्कासन भएको छ। सिभिल क्यापिटल मार्केट यसको बिक्री प्रबद्र्धकका रुपमा रहेको छ। वैशाख मसान्तभित्र सेयर खरिद गरेका लगानीकर्ताले हकप्रद सेयरको लागि आवेदन दिन सक्ने छन्।
सिटिजन्स बैंक : सिटिजन्स बैंकले असार ५ गतेदेखि साउन ९ गतेसम्म हकप्रद सेयरको बिक्री खुला गरेको छ। बैंकले १० बराबर ५. ५ को अनुपात अर्थात ५५ प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ। बैंकको १ अर्ब ६८ करोड ५५ लाख रुपैयाँ बराबरको १ करोड ६८ लाख ५५ हजार कित्ता हकप्रद निस्कासन हुने छ। जेठ २३ गतेसम्म सेयर किन्ने सेयरहोल्डरले हकप्रदका लागि आवेदन दिन सक्ने छन्।
सानिमा बैंक : सानिमा बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने भएको छ। सो बैंकले आगामी असार १२ देखि साउन १६ गतेसम्म बिक्री खुला हुने सूचना सार्वजनिक गरिसकेको छ। नविल इन्भेष्टमेन्ट बैंकिङ सेयर बिक्री प्रबद्र्धकका रुपमा रहेको छ।
बैंकको १ अर्ब ५३ करोड १ लाख ४४ हजार रुपैयाँको १ करोड ५३ लाख १ हजार ४ सय ४० कित्ता हकप्रद सेयर निस्कासन हुन लागेको हो। जेठ २४ गतेसम्म सेयर किनेका आवेदकले हकप्रदका लागि आवेदन गर्न सक्ने छन्।
हिमालयन बैंक : हिमालयन बैंकले ७ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासनको लागि वैशाख २६ गते बोर्डमा आवेदन दिएको छ। सो बैंकको ६४ करोड २७ लाख ३५ हजार रुपैयाँ बराबरको ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निस्कासन हुने छ। बैंकको हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकको रुपमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ।
मेगा बैंक: मेगा बैंकले ४ बराबर १ को दरले हकप्रद सेयर निस्कासनको लागि बोर्डमा आवेदन दिएको छ। ८१ करोड १ लाख रुपैयाँ बराबरको ८१ लाख १ हजार ४ सय ३८ कित्ता हकप्रद सेयरका लागि बैंकको आवेदन परेको बोर्डले जनाएको छ। ग्लोबल आईएमई क्यापिटल हकप्रद सेयर निस्कासनको बिक्री प्रबद्र्धकका रुपमा रहेको छ।
प्राइम कमर्सियल बैंक : जेठ १६ गते कम्पनीले बोर्डमा ३ बराबर १ को अनुपातमा हकप्रद सेयर निस्कासनको लागि आवेदन दिएको छ। १ अर्ब २३ करोड ५० लाख ८७ हजार ४ सय रुपैयाँ बराबरको १ करोड २३ लाख ५० हजार ८ सय ७४ कित्ता सेयर निस्कासन हुने भएको छ। बैंकको हकप्रद सेयर बिक्री प्रबद्र्धकका रुपमा सिभिल क्यापिटल रहेको छ।
बोर्डमा अहिलेसम्म हकप्रद सेयर निस्कासनको लागि आवेदन नदिएका केही बैंकले साधारणसभाबाट निर्णय पारित भइसकेको छ। केहीले पुँजी बृद्धि योजनामा हकप्रद निस्कासनलाई समेटेका छन्।
माछापुच्छ्रे बैंक : माछापुच्छ्रे बैंकले २ बराबर १ को दरले हकप्रद सेयर निस्कासनको निर्णय गरेको छ। जनता बैंकसँग मर्जमा जाने प्रक्रिया विफल भएपछि बैंकले ५० प्रतिशत हकप्रद निस्कासन गर्ने निर्णय गरेको हो।
वैशाख २६ गते पोखरामा बसेको बैंकको साधारण सभा बैठकले यो निर्णय पारित गरेको हो। बैंकले १ अर्ब ९३ करोड रुपैयाँ बराबरको १ करोड ९३ लाख कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ।
कृषि विकास बैंक : कृषि विकास बैंकले २ बराबर १ अर्थात ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको छ। जसमा सर्वसाधारणका लागि १ करोड ९६ लाख ८८ हजार रुपैयाँको हकप्रद सेयर जारी हुने छ।
वैशाख १४ गते बसेको बैंकको नवौं साधारणसभा बैठकले ५० प्रतिशत हकप्रद सेयर दिने निर्णय गरेको हो। यसबाट २ लाख लगानीकर्ताहरु लाभान्वित हुने छन्। बैंकको पुँजी संरचनामा ६ अर्ब ४३ करोड सरकारको र ३ अर्ब ९३ करोड ७६ लाख सर्वसाधारणको लगानी छ।
लक्ष्मी बैंक : लक्ष्मी बैंकले १ बराबर १ को अनुपात अर्थात शत प्रतिशत हकप्रद सेयर निस्कासनको आन्तरिक तयारी गरेको छ। ३ अर्ब ३ करोड ९२ लाख २९ हजार रुपैयाँ बराबरको ३ करोड ३ लाख ९२ हजार २ सय ९० कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ। बैंकको संचालक समितिको बैठकबाट १ बराबर १ को दरले हकप्रद सेयर निस्कासन गर्ने निर्णय भएको छ।
प्रभु बैंक : मर्जपछिको प्रभु बैंकले २० प्रतिशत हकप्रद सेयर निस्कासन गर्ने छ। ६४ करोड १७ लाख ७७ हजार रुपैयाँको ६४ लाख १७ हजार ७ सय ७० कित्ता सेयर बैंकले निस्कासन गर्ने छ। चुक्ता पुँजी बृद्धिको योजनामा बैंकले यो हकप्रद निस्कासनको लक्ष्य राखेको छ।
सेन्चुरी कमर्सियल बैंक : यो बैंकले कुल १ अर्ब ३८ करोड २२ लाख ४० हजार रुपैयाँको १ करोड ३८ लाख २२ हजार ४ सय कित्ता हकप्रद सेयर निस्कासन गर्ने लक्ष्य राखेको छ। एक चरणमा ५३ करोड रुपैयाँ बराबरको र अर्को चरणमा ८५ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको हकप्रद निस्कासन बैंकको लक्ष्य रहेको छ।
सनराइज बैंक : यो बैंकले कुल ३६ करोड ९० लाख ४७ हजार रुपैयाँको ३६ लाख ९० हजार ४ सय ७० कित्ता हकप्रद सेयर निस्कासन गर्ने छ। बैंकले चुक्ता पुँजी बृद्धिको योजनामा ३६ लाख ९० हजार ४ सय ७० कित्ता हकप्रद निस्कासन गर्ने जनाएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...