७५ मेगावाट त्रिशुली गल्छीकाे पिपिए सम्पन्न
काठमाडौं– अपि पावर कम्पनी लिमिटेड र सिद्धकाली पावर लिमिटेडको संयुक्त प्रवर्द्धनमा निर्माणाधिन ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता(पिपिए) बिहीबार सम्पन्न भएको छ।
कम्पनीले उत्पादन गरेको विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने सम्झौता कम्पनी र प्राधिकरणबीच भएको हो।
सिद्धकाली पावर लिमिटेडले पहिचान गरी विकास गरेको उक्त आयोजनामा अपि पावरले पनि लगानी शेयर स्वामित्व लिई निर्माण गर्ने सहमतिपछि दुबै कम्पनीको संयुक्त प्रवद्र्धनमा आयोजना निर्माण हुन लागेको हो। सहमतिपछि आयोजनामा अपिको ८० प्रतिशत सिद्धकालीको २० प्रतिशत शेयर स्वामित्व रहने भएको छ।
कुल १४ अर्ब ४० करोड ६० लाख रुपैयाँ लागत अनुमान गरिएको उक्त आयोजना निर्माणका लागि ४ अर्ब ३२ करोड रुपैयाँ शेयरधनीहरुबाट लगानी हुने कम्पनीले जनाएको छ। त्यस्तै आयोनामा लक्ष्मी बैंकको अगुवाइमा बैंकहरुले सहवित्तीयकरणमा लगानी गरी वित्तीय व्यवस्थापन पूरा गर्ने सहमति पनि प्राप्त भएको कम्पनीले जनाएको छ।
अपि पावर लिमिटेड कम्पनीले १ अर्ब ४३ करोड रुपैयाँको लगानीमा दार्चुलाको नौगड खोलामा ८ दशमलव ५ मेगावाटको नौगड साना जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ। उक्त आयोजना २०७२ भदौ १ गतेबाट सञ्चालनमा आएको थियो। अपि पावरले ८ मेगावाटको अपर नौगड आयोजना पनि निर्माण गर्ने तयारी गरिरहेको जनाएको छ। अपि पावर कम्पनीले चालू आर्थिक वर्षबाट आफ्ना शेयरधनीहरुलाई कम्तिमा १० प्रतिशतका दरले प्रत्येक वर्ष नियमित रुपमा लाभांश उपलब्ध गराउने जनाएको छ।
कम्पनीले हकप्रद शेयर जारी गरि शेयरधनीहरुबाट उठाएको पूँजी त्रिशुली गल्छी आयोनजामा लगानी गर्ने जनाएको छ। नुवाकाट जिल्लामा बन्न लागेको ७५ मेगावाटको उक्त आयोजना सञ्चालनमा आए काठमाडौं उपत्यकाको लोडसेडिङ अन्त्य हुने कम्पनीको अपेक्षा छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...