-->
सरकार हामीले ढाल्नु पर्दैन सत्तारूढ दलले नै ढाल्छन्: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसले ओली सरकारलाई ढलाउनु नपर्ने बरू आफ्नै बोझले थिचिएर ढल्ने बताएका छन्।

पोखरामा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने,‘ सत्ता साझेदार माओवादी केन्द्रले सहमति अनुसार राजीनामा माग्दैछ, उनकै पार्टी एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनालले सरकार छाड्ने भन्दै हिँडेका छन्, यस्तो अवस्थामा कांग्रेसले ओली सरकार ढलाउनु पर्दैन।’

सरकारले ल्याएको बजेटका बारेमा बोल्दै देउवाले कांग्रेसले राष्ट्रिय ढुकुटी जोगाउने, एमालेले सक्ने गरी बजेट ल्याएको आरोप लगाए।

पूर्वप्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति देउवाले संविधान कार्यान्वयनका लागि कांग्रेस नेतृत्व गर्न तयार रहेको बताए। उनले भने,‘संविधान कार्यान्वयन अहिलेको प्रमुख काम हो, कांग्रेस प्रतिपक्षमा बसेपनि यसका लागि सहयोग गर्छ, आवश्यक परेको खण्डमा कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन पनि तयार छ।’

देउवाले स्थानीय निकाय र प्रादेशिक चुनाव गराउन सरकार नै बाधक रहेको आरोप लगाएका छन्। सभापति देउवाले गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय निकाय र प्रादेशिक निर्वाचन आवश्यक रहेको बताए। देउवाले मंसिरमा चुनाव गर्ने हो भने सरकारले पुनसंरचना आयोगको म्याद घटाउनु बताए। मंसिरमा चुनाव गर्न कात्तिकसम्ममा आयोगको प्रतिवेदन आइसक्नु पर्ने उनको भनाई थियो। उनले मंसिरमा चुनाव गर्ने भनेर सरकारले जनतालाई धोका दिने काम गरिरहेको बताए। गाउँ–नगर चुनाव नभई प्रान्तीय र प्रान्तीय नभई राष्ट्रिय सभाको चुनाव हुन नसक्ने भएकाले वर्तमान सरकारले चुनावका लागि आन्तरिक तयारी नै नथालेको बताए।

कार्यक्रममा पत्रकार रमेश पौडेललाई ‘दयाशंकर स्मृति पत्रकारिता पुरस्कारबाट देउवाले सम्मान गरेका थिए। उनलाई ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार सहित दोसल्ला र ताम्रपत्रले सम्मान गरे ।




0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.