-->
सुटुक्क विमानस्थल पुगेर प्रधानमन्त्रीले के के गरे ?

काठमाडौं– प्रधानमन्त्री केपी शार्मा ओलीले मंगलबार आकस्मिक रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्। निरीक्षणमा जाने पूर्व निर्धारित कार्यक्रमविना नै विमानस्थल अधिकारी कसैलाई थाहै नदिए उनी छड्के निरीक्षणका लागि विमानस्थल पुगेका हुन्।


दिउँसो २ बजे विमानस्थल पुगेर प्रधानमन्त्री ओलीले प्रतिक्षालय, बन्दै गरेका तथा सञ्चालमा रहेका पूर्वाधारदेखि, विमानस्थल व्यवस्थापन प्रणाली र चर्पिको समेत निरीक्षण गरेका थिए। 
‘प्रधानमन्त्री ज्यू आउने कुनै पूर्व सूचना थिएन,’ विमानस्थलका निमित्त महाप्रबन्धक भोलाप्रसाद गुरागाईंले नागरिकन्यूजसँग भने, ‘उहाँले बन्दै गरेका सञ्चालनमा रहेको पूर्वाधारका साथै ट्वाइलेटसम्मका पूर्वाधार सबैको मिहिन निरीक्षण गर्नुभयो।’ निरीक्षणमा गएका प्रधानमन्त्री ओलीले अर्थमन्त्री बिष्णुप्रसाद पौडेल, संकृति पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्दप्रसाद पोखरेल, पर्यटन राज्यमन्त्री बलबहादुर महत र सहयोगी साथमा लिएर गएका थिए।

गुरागाईंका अनुसार विमानस्थलको निरीक्षणपछि  प्रधानमन्त्रीले प्रतिक्षालयलगायतका भौतिक पूर्वाधार चौडा बनाउन, विमानस्थलमा ‘प्रोपर स्क्यानिङ मेसिन’ राख्न, सीसी क्यामेरा जडान गर्न, अनअराइभल भिसाको शुल्क तिर्ने ठाउँमा भएको भीडलाई कम गर्न, शुल्क तिर्ने मेसिन थप्न निर्देशन दिएका छन्। प्रधानमन्त्रीले विमानस्थलमा काम गर्ने कर्मचारी, पसल सञ्चालक सबैलाई सुरक्षा जाँचमा कडाई गर्न पनि सरोकारवाला पक्षलाई निर्देशन दिएका छन्। 

निरीक्षणपछि प्रधानमन्त्रीले सञ्चालन कार्यप्रणाली र पूर्वाधारको अवस्थामा बाहिर सुनिएजस्तो समस्या नभएको संकेत गर्दै अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिष्ठा कायम गर्न नयाँनयाँ आधुनिक प्रविधान र प्रणाली भित्र्याउन कर्मचारीलाई निर्देशन दिएका थिए।

हरेक शनिबार साँझ ८ः ४५ बजे नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’को गत हप्ताको कार्यक्रममा एकजना दर्शकले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको व्यवस्थापकीय पक्षमा जिज्ञासा राखेपछि प्रधानमन्त्रीले मंगलबार आकस्मिक निरीक्षण गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। विमानस्थलसम्बन्धी थप जानकारी आगामी शनिबारको ‘सिधा कुरा प्रधानमन्त्री’सँग कार्यक्रममा प्रसारण गरिने पनि कार्यालयले जानकारी दिएको छ। 

विमानस्थल सुधारका लागि हाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार परियोजना सञ्चालनमा रहको छ। यस परियोजनामा एसियाली विकास बैंकको ८० मिलियन अमेरिकी डलर ऋण र १० मिलियन डलर अनुदान सहयोग रहेको छ। उक्त परियोजनाअन्तर्गका कार्य प्रगति पनि प्रधानमन्त्रीले अवलोकन गरी सुधारका लागि आवश्यक निर्देशन दिएका निमित्त महाप्रबन्धक गुरागाईंले बताए।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.