-->
७८ हजार टन फलाम अलपत्र ।

जेष्ठ २५, २०७३- आयातकर्ताले समयमै बन्दरगाहबाट कच्चा पदार्थ नउठाएपछि सिर्सिया सुख्खा बन्दरगाहमा ठूलो परिमाणमा फलाम थुप्रिएको छ ।

सोमबारसम्म यहाँ ७८ हजार टन यस्तो कच्चा पदार्थ थन्किएको छ । त्यसमध्ये करिब ७० प्रतिशत जगदम्बा स्टिल र जगदम्बा इन्टरप्राइजेजकै रहेको बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल्सका सीईओ विष्णुकान्त चौधरीले जानकारी दिए ।

‘मुख्य आयातकर्ताले कच्चा पदार्थ नलगेपछि अन्यका कच्चा पदार्थ थिचिएर अलपत्र छन्,’ उनले भने, ‘खै किन नलगेका हुन् बुझ्न सकिएन, हामीलाई भने कच्चा पदार्थ व्यवस्थापन गर्न निकै समस्या भइरहेको छ ।’

यसरी थन्किएको मध्ये जगदम्बा स्टिलको र १० प्रतिशत इन्टरप्राइजेजको हो । यी दुईबाहेक हिमाल स्टिल, राजेश हार्डवेयर, हुलास स्टिल, लक्ष्मी स्टिलसमेत गरी १५ फलाम उद्योगले बन्दरगाहमार्फत कच्चा पदार्थ आयात गर्दै आएको उनले बताए ।

भुक्तानी समस्यालगायत कारणले आयातकर्ताले सबै कच्चा पदार्थ एकैसाथ लग्दैनन् । त्यही प्रवृत्तिले सबैको थोरबहुत कच्चा पदार्थ सधैं यसरी अलपत्र हुने गरेको उनले बताए ।

‘उद्योगले आवश्यकताअनुसार मात्रै कच्चा पदार्थ लग्छन्,’ उनले भने, ‘अधिकांशले सबै कच्चा पदार्थ उठाए एकै पटक भुक्तानी
गर्नुपर्ने भएकाले यस्ता वस्तु बन्दरगाहमै छाड्ने गरेका छन् ।’

यसअघि आयातकर्ताले बजेट भाषणको प्रतीक्षा गरेको तथा तयारी छड आयात गरेर बिक्री गरी रहेकाले कच्चा पदार्थ नलगेको अडकलबाजी गरिएको थियो ।

बन्दरगाहस्थित भन्सार कार्यालय प्रमुख देवीप्रसाद भण्डारीले यहाँ रेल्वे र्याकबाट कच्चा पदार्थ अनलोड गर्ने क्रेनको कमी, ढुवानी गर्ने साधन ट्रेलरको अभाव लगायतका कारण बन्दरगाहमा फलाम उद्योगका कच्चा पदार्थ नघटेको बताए । ‘बन्दरगाह सञ्चालक हिमालयन टर्मिनल्सले पनि पर्याप्त क्रेनको व्यवस्था गर्न सकेको छैन,’ उनले भने, ‘ढुवानी साधनको पनि अभाव छ ।’

सोमबार पनि २ वटा रेल्वे र्याक कच्चा पदार्थ बोकेर बन्दरगाहमा आइपुगेका छन् । एक र्याकमा २ हजार ६ सय टन कच्चा पदार्थ हुन्छ । बन्दरगाहमा दैनिक कच्चा पदार्थ आउने क्रम चली नै रहने तर त्यस अनुपातमा कच्चा पदार्थ यहाँबाट नबाहिरिने गर्दा यसको परिमाण दैनिक बढदै गएको उनले बताए ।

जगदम्बा इन्टरप्राइजेजका व्यवस्थापक अनिल रुंगटाले आफूहरूले कच्चा पदार्थ बन्दरगाहबाट लग्न चाहे पनि त्यहाँ पर्याप्त क्रेन उपलब्ध नहुँदा लोड अनलोडको समस्या हुने गरेको बताए ।

‘एक त टर्मिनलले खोजेको बेला पर्याप्त क्रेन उपलब्ध गराउन सकेको छैन,’ उनले भने, ‘त्यस माथि मेरै उद्योगका कच्चा पदार्थ अन्य उद्योगका कच्चा पदार्थले पनि थिचिएका छन् ।’

उनले खोजेको समयमा कच्चा पदार्थ ढुवानी गर्न ट्रेलर पनि उपलब्ध हुन नसकेको बताए । हिमालयन टर्मिनल्सका सीईओ चौधरीले १५ दिन अघिसम्म पनि बन्दरगाहमा क्रेनको अभाव भए पनि हाल भने त्यो समस्या नरहेको दाबी गरे ।

‘यसअघि ७ वटा मात्र क्रेन रहेकामा अहिले ११ वटा छन्,’ उनले भने, ‘थप ८ क्रेन साताभित्रै आउँदै छन् ।’ चौधरीले पर्याप्त ट्ेरलर नहुँदा पनि ढुवानी प्रभावित भएको दाबी गरे ।

‘अहिले दैनिक सरदर २ हजार ५ सय टन फलाम उद्योगका कच्चा पदार्थ भित्रिन्छ भने कम्तीमा ५ हजार टन यहाँबाट बाहिरिनु पनि पर्छ,’ उनले भने, ‘यति फलाम ढुवानी गर्न कम्तीमा पनि ८४/८५ वटा ट्रेलरको आवश्यकता छ अहिले यहाँ ४० देखि ४५ वटा मात्र ट्रेलर उपलब्ध छन्, ढुवानीकर्ताले ट्रेलरको व्यवस्था गर्न सक्दैनन् भने त्यो हाम्रो समस्या होइन ।’

हाल बन्दरगाहमा भारत तथा तेस्रो मुलुकबाट आयातित एमएस बिलेट, एचआर सिट, सीआर सिट, एमएस वायर, स्पन्ज आइरन आदि थन्किएका छन् ।

 बन्दरगाहको पश्चिमी भागमा ठाउँ नभएर हाल पूर्व तथा अन्य भागमा समेत यी कच्चा पदार्थ भण्डारण गरिएका छन् । भारतको टाटानगर, बोकारो, दुर्गापुर, उडिसा, भेलाही, कर्नाटक लगायतका स्थानबाट यस्ता कच्चा पदार्थ आयात हुने गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.