-->
ओबामाद्वारा हिलारीलाई समर्थन

जेष्ठ २९, २०७३- अमेरिकी राष्ट्रपति बाराक ओबामाले हिलारी क्लिन्टनलाई डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारमा समर्थन गरेका छन्। हिलारीले ट्वीट गरेको एउटा भिडियोमा ओबामाले राष्ट्रपति पदका उनी हालसम्मैको सबैभन्दा योग्य व्यक्ति हुन सक्ने धारणा राखेका छन्।

हिलारीसँग प्रतिस्पर्धामा रहेका भरमन्टका सिनेटर बर्नी स्यान्डर्ससँगको भेटवार्तापछि ओबामाको त्यस्तो घोषणा आएको हो। अब दुवैजनाले चाँडै संयुक्त चुनावी अभियान सुरु गर्नेछन् र पहिलो संयुक्त उपस्थिति आगामी साता विसकन्सिनमा हुने बताइएको छ। ओबामाले भने, ‘यो अविस्मरणीय यात्रामा सुरुदेखि नै मसँगै रहनुभएकाहरूलाई सबैभन्दा पहिला ‘म उनीसँग छु’ भन्ने जानकारी दिन चाहन्छु, म निक्कै उत्साहित छु र हिलारीको पक्षमा अभियान चलाउन आतुर छु।’

उनले पूर्वअमेरिकी विदेशमन्त्री क्लिन्टन र सिनेटर बर्नी स्यान्डर्स प्राइमरी अर्थात् पार्टीगत चुनावमा एकअर्काका प्रतिस्पर्धी भ ए पनि दुवै देशभक्त रहेको र उनीहरूले अमेरिकाका लागि सबैले विश्वास गर्ने मान्यता बोकिरहेको उल्लेख गरे। ओबामा र हिलारी सन् २००८ मा डेमोक्रेटिक पार्टीको राष्ट्रपतीय चुनावको मनोनयनमा एक अर्कासँग लडेका थिए। तर पछि ओबामाले हिलारीलाई आफ्नो विदेशमन्त्री बनाएका थिए।

पछिल्लो समर्थनपछि रोयटर्स समाचार संस्थासँग बोल्दै हिलारीले एक समयका तीव्र प्रतिस्पर्धी ओबामा आफ्नो ‘सँच्चा मित्र’ रहेको भन्दै आफ्ना लागि उक्त समर्थनको असाधारण महत्त्व रहेको बताएकी छन्। रिपब्लिकनका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हुने ठानिएका डोनाल्ड ट्रम्पले ओबामाले हिलारीलाई समर्थन गरेर आफ्नो कार्यकाल थप चार वर्ष लम्ब्याउन खोजेको र त्यो कसैले पनि नचाहेको प्रतिक्रिया दिएका छन्।



0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.