जेष्ठ २२, २०७३- सैन्य प्रशिक्षण यहुदीलाई मात्र ‘शत्रुहरूको बीचमा पनि हामी आफ्नो लक्ष्यमा सफलतापूर्वक अघि बढिरहेका छौं,’ एक इजरायलीले भने । छिमेकीले साथ नदिए पनि विश्वमा हाम्रा मित्रहरूको कमी नभएकाले पनि सफलता चुम्न सकेका हौं । अझ, हाम्रो निकट मित्र यही भूमध्यसागर हो ।’ इजरायली स्वतन्त्रता दिवसमा हवाई एक्रोब्याटिक कार्यक्रम हेर्न भूमध्यसागर किनारमा पुग्दा त्यहाँ भेटिएका एक इजरायलीले आफ्नो देशप्रति गर्व गरे । ‘विश्वले इजरायल भन्नेबित्तिकै युद्धरत भूमिको रूपमा मात्र सम्झन्छन,’ हनान नाम गरेका ती इजरायलीले दाबी गरे, ‘तर हामी आफैं युद्धमा छैनौं । कसैको हुंकारलाई बेवास्ता पनि गर्दैनौं । इजरायल आफ्नो भूमि र नागरिक रक्षाका लागि सधैं तयार छ । त्यसलाई स्वतन्त्रता दिवसमा देखिएको यो सैन्य प्रदर्शनले झल्काएकै छ ।’ इजरायल युद्धमा छैन भन्ने उनको दाबी कति सत्य छ, बेग्लै कुरा हो । तर, उनले भनेको इजारयलको सामथ्र्यचाहिँ त्यस कार्यक्रममा पनि देखिन्थ्यो । सयौं युद्धरत विमान भूमध्यसागरमाथि उडाउँदै चिनियाँ एक्रोब्याटिक शैलीमा उतारिएको दृश्य हेर्दै आङ जिरिङ्ग हुन्थ्यो । सामान्यभन्दा सामान्य गल्ती भइहाल्यो भने पनि १०/१२ लडाकू विमान एकैपटक भुमध्यसागरमा खस्ने गरी देखाइएको उक्त दृश्यले इजरायली ‘सुरक्षा शक्ति’ लाई जनताले प्रत्यक्ष अनुभव गरिरहेका थिए । इजरायली युवा १८ वर्ष पुगेपछि ३ वर्ष अनिवार्य सैन्य प्रशिक्षण लिन्छन् । त्यस्तो प्रशिक्षण युवतीले पनि लिनुपर्छ, १६ वर्ष पुगेपछि २ वर्ष । धेरैलाई अचम्म लाग्न सक्छ, यो प्रशिक्षण यहुदीले मात्र लिन पाउँछन्, अरबी मूलका इजरायली नागरिकले पाउँदैनन् । बिहान दस बजे सुरु हवाई सैन्य प्रदर्शन चार घन्टा चलेको थियो । झन्डै झन्डैे विमान जुधेको जस्तो देखिने, एउटा माथि र अर्को तल जाने, अर्को दिशाबाट आएकोलाई पुन: क्रस गर्ने र उडिरहेकै विमान नै उल्टिँदै अर्कोतर्फ मोडिने आकाशको दृश्यले साँच्चै रोचक थियो । मसँगै थिए, नेपाली दूतावासका अधिकारी कमल कोइराला, आस्था सुब्बा र अन्य मुुलुकका दूतावासका कर्मचारी । युद्धरत समयमा इजरायलले अन्यत्रबाट प्रहार बमलाई भुइँमा खस्न नदिई निष्क्रिय बनाएको दृश्य देखेको अनुभव पनि सुनाए उनीहरूले । विश्व शक्ति अमेरिकाको आन्तरिक र विदेश नीतिमा समेत आफ्नो प्रभाव राख्न सक्ने दक्षिण पश्चिम एसियाली मुलुक हो इजरायल । भूमध्यसागरको पूर्वी तटमा रहेको यो मुलुकको उत्तरपूर्वमा लेबनान र सिरिया छन् । दक्षिणमा अकावा खाडी, प्यालेस्टाइन र दक्षिण पश्चिममा इजिप्ट र पूर्वमा जोर्डन छ । बेलायतबाट प्यालेस्टाइन स्वतन्त्र भएलगत्तै सन् १४ मे १९४८ मा इजरायल छुट्टै मुलुक घोषणा गरिएको हो । त्यस बेलैदेखि उक्त क्षेत्र विवादास्पद छ । अहिले पनि कुनै पनि छिमेकी इजरायलको पक्षमा छैनन् । यहाँ सानातिना आक्रमण भइरहेकै हुन्छन्, जसलाई इजरायलीहरूले निस्तेज परिरहेका हुन्छन् । यसबारे कति समाचार आउँछन, कति आउँदैनन्, गणनाभन्दा बाहिर छ यो । एक घर एक बंकर जनतालाई सुरक्षा सतर्क गराउन मुलुकभर साइरन प्रणाली छ । बम आक्रमण हुनेबित्तिकै त्यसको प्रभाव पर्न सक्ने क्षेत्रमा ‘साइरन’ बज्ने गर्छ । त्यस्तो बेला बाटोमा भएकाहरू भुइँमा सुत्छन् । घरभित्र रहेका घरमै बनाइएको बंकर (सेल्टर) मा पस्छन । हरेक घरमा एउटा बंकर बनेको हुनेपर्ने यहाँको भवन आचारसंहितमै छ । निजी घर होस् या व्यापारिक भवन, सबैमा बंकर अनिवार्य छ । पैसा राख्ने ‘सेफ’को शैलीमा बनाइएका हुन्छन् यस्ता बंकर, घर नै ध्वस्त हुँदा पनि मानिस बाँच्न सक्ने गरी । साइरन बजुन्जेलसम्म बंकरभित्रै बस्नुपर्ने भएकाले यी सुरक्षित मात्र हुँदैनन्, सुविधासम्पन्न पनि हुन्छन् । त्यति बेला बमलाई ‘आइरोन डोम’ले निस्तेज पारिसकेको हुन्छ । बमलाई आकाशमै निस्तेज पार्ने प्रणाली हो यो । मानिसहरूको बस्ती नभएको खुला क्षेत्रमा रकेट खस्न लागेको छ भनेचाहिँ त्यसलाई कि भुइँमा खस्न दिइन्छ कि आकाशमै ध्वस्त पारिन्छ । युद्धका बेला बच्चाहरूको हेरचाह गर्ने केन्द्र र स्कुलहरू बन्द हुन्छन् तर सवारी, सपिङ मल, अस्पतालजस्ता क्षेत्रहरू सञ्चालनमै रहन्छन् । यसले गर्दा जनतामा युद्ध चलिरहेको आभास हुँदैन । इजरायलले एउटा छुट्टै राष्ट्रका रूपमा विश्व समर्थन हासिल गरे पनि छिमेकी मुलुकहरूसँगको विवाद थाती रहेकाले उनीहरू ढुक्क हुन सकेका छैनन् । उनीहरू भन्छन्, ‘हामी सधैं अलर्टमा रहन्छौं ।’ २० हजार ७ सय ७० वर्गकिलोमिटर क्षेत्रफल भएको यो मुलुकको जनसंख्या ८२ लाखभन्दा बढी छ । सम्पन्न मुलुक इजरायल वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य हो । यसले युद्धसम्वन्धी सावधानीमा स्वदेशी र विदेशी सबैलाई समान व्यवहार हुन्छ । त्यहाँ रहेका नेपालीका अनुसार उनीहरूले कहिल्यै असुरक्षित अनुभव गर्न परेको छैन । उनीहरूले सुनाए, ‘सन् २०१४ मा युद्ध भयो, तर हामी काममै रह्यौं, खासै समस्या भएन । युद्ध आकाशमै भयो, त्यहीँ सकियो ।’ राजधानीको विवाद अन्तर्राष्ट्रिय समुदायले इजरायलको राजधानी तेलअभिव भनेर बुझ्ने गरे पनि वास्तविक राजधानी जेरुसेलम हो । सबै प्रशासनिक केन्द्र, राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय, मन्त्रालय सबै जेरुसेलममा छन् भने अन्तर्राष्ट्रिय समुदाय तेलअभिवमा । जेरुसेलमलाई विवास्पद भूमि र असुरक्षित भन्दै अन्य राष्ट्रले कूटनीतिक कार्यालय तेलअभिवमा राखेका हुन् । इजरायलले पनि तेलअभिवलाई व्यापारिक सहरका रूपमा विस्तार गरेको छ । विश्वमै कूटनीतिक नियोग राजधानीमै हुन्छन् तर इजरायल त्यसको अपवाद हो । खासमा, अन्तर्राष्ट्रिय समुदायले जेरुसेलमलाई राजधानीको रूपमा अस्वीकार गरेको हो । प्यालेस्टाइनको बेथलहेमको चर्चा नगरी जेरुसेलमको कथा सकिन्न । बेथलहम जिसस क्राइस्ट जन्मिएको स्थान हो । त्यहाँ क्राइस्ट जन्मिएपछि राखिएको कोक्रो छ । उनको मृत्युपछि सुताइएको स्थान भने जेरुसेलमको चर्चभित्र पर्छ । यो जेरुसेलमको पुरानो सहर हो । उक्त सहरमा मुस्लिमहरूको पनि आफ्नै इतिहास छ । उनीहरूको मक्का मदिनापछिको पवित्रस्थल अलस्का मस्ट छ त्यहाँ । जेरुसेलमको एउटा भूभागको विवादले सधैं तनाव सिर्जना गर्ने–गरेको छ । पुरानो वाल (वेस्टर्न वाल) छुट्याएको उक्त क्षेत्रमा यहुदीहरूले सबैलाई खुला गरेका छन् भने मुस्लिमले आफ्नो समुदायलाई मात्र । यहुदीहरू भएपट्टिबाट उक्त पर्खालमा पुगेर ढोगी आफ्नो इच्छा पूरा गर्न भन्दै चिठी लेखेर भित्ताको खाेंचमा कोच्ने चलन छ । त्यस्तै चलन मुस्लिमहरू भएपट्टि पनि रहेको बताइन्छ । यो स्थानमा इजरायलभित्रकै यी दुई समुदायबीच स्वामित्यको विवाद छ । इजरायलभित्रको यो आन्तरिक द्वन्द्व अहिले मथ्थर छ । वास्तविक द्वन्द्व भने इजरायलले युद्धमा जितेको प्यालेस्टाइनको भूभागलाई लिएर भइरहेको छ । चुस्त सुरक्षा त्यहाँको पछिल्लो तनाव भनेको डेढ वर्षअघि इजरायल र हमासबीच चलेको ठूलो द्वन्द्व नै हो । अहिले यो मत्थर हुँदै गए पनि यदाकदाको बम आक्रमण अझै रोकिएको छैन । यी दुवै मुलुकको स्थापनादेखि नै सुरु ऐतिहासिक विवाद टुंगिन नसक्दा जनता सधैं युद्धको चपेटामा पर्न गएका हुन् । इजरायलमा कार्यरत नेपाली पछिल्लो युद्धमा खासै डराएका थिएनन् । वैज्ञानिक पद्धतिअनुरूपै इजरायलीले आफ्नो भूमि निकै सुरक्षित बनाएका छन् । इजरायलका लागि नेपाली राजदूत प्रल्हाद प्रसाईले त्यस समयमा डर त भएको तर हतास कोही नदेखिएको बताए । यहुदीले किन छाने इजरायल सन् १९३० ताका हिटलरको शासनसँगै जर्मनीमा रहेका यहुदीहरूको आमसंहार सुरु भयो । त्यसपछि यहुदीहरूले आफ्नो अस्तित्व खोजी गर्ने क्रममा हालको इजरायल रोजेका हुन् । आफ्नो पुर्खौली थलोको रूपमा उनीहरूले जेरुसेलम छानेका हुन् । विभिन्न राष्ट्रहरूवाट आएका यहुदी र अरबीहरू एकसाथ थिए । प्रथम विश्व युद्धपछि बेलायत सरकारले बालफोर घोषणापत्रमा प्यालेस्टाइन (अरबी) र इजरायल (यहुदी) राज्य अलग–अलग घोषणा गर्यो । यो घोषणापछि यहुदी र अरकीबीच मनमुटाव भइरह्यो । त्यसैबीच सन् १९४७ मा राष्ट्रसंघले दुई धार्मिक समूहलाई क्रमश: प्यालेस्टाइन राज्य र यहुदी राज्य भनेर नामकरण गरिदियो । राष्ट्रसंघको निर्णयलाई यहुदीले स्वीकार गरे तापनि अरबीले अस्वीकार गर्दा समस्या झन् बल्झियो । दुई धार्मिक समूहबीच भूमि र धर्मको विषयले लगातार युद्धहरू भए । प्यालेस्टाइनीहरू आफ्नै भूमिबाट पलायन भै अन्य देशमा शरणार्थीसमेत हुन पुगे । त्यसपछि अरबी राष्ट्रहरू एकजुट हुँदै इजरायललाई घेराबन्दीमा पारे । सायद यही भएर इजरायल ‘आफू शत्रुको बीचमा रहेको’ भन्न पछि पर्दैन । मृत सागर र नेपाल साइनो इजरायलको अर्को आकर्षण मृत सागर (डेड सी) हो । समुद्र सतहबाट ४२२ मिटर तलको यो सागरमा नुन, पोटासियम, ब्रोमाइड र सल्फर रहेकाले केही जीव बाँच्न सक्दैनन्, त्यसैले मृत सागर भनिएको हो । यो सागरमा डुब्न खोज्दा पनि सकिंदैन । पानीमा रहेका पदार्थले जेसुकैलाई माथि तैर्याइदिन्छ । यसको पानी शरीर परे छालासम्बन्धी रोग निको हुने भन्दै धेरै मानिस यो समुद्रमा शरीर डुबाउने र तैरेर बस्ने गर्छन, आँखा र मुखभित्र पानी नपर्ने गरी । मृत सागरको नुन, माटो र अन्य उत्पादनले विश्व बजार पिटेको छ । सय वर्गकिलोमिटरमा फैलिएको यो सागरको एक छेउमा नेपालको सगरमाथाको ढुंगा राखेर सानो मन्दिर पनि बनाइएको छ । जसले संसारको अग्लो चुचुरो र होंचो भूभागको सम्पर्कलाई जोडेको छ । नेपाल र इजरायलबीच जुन १, १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । इजरायललाई मान्यता दिंदै कूटनीतिक सम्बन्ध राख्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र हो । दुवै छिमेकी भारत र चीनले समेत सम्बन्ध नराख्दा नेपालले लगाएको गुन उनीहरू बिर्सन चाहँदैनन् । सम्बन्ध स्थापनाको आठ महिनापछि नै इजरायलले नेपालमा आफ्नो दूतावास स्थापना गरेको थियो । नेपालले भने २००७ अगस्टमा दूतावास स्थापना गरेको हो । इजरायलले नेपालका दक्ष जनशक्तिका लागि प्रशिक्षण दिने काम गर्दै आएको छ । उसले सन् २००१ देखि ‘केअर गिभर’का रूपमा समेत नेपालीलाई काममा लिन थालेको छ । हाल इजरायलमा रोजगारीका सिलसिलामा करिब छ हजारजना छन् ।
बंकरको देश
Powered by Blogger.


0 comments
प्रतिक्रिया दिनुहोस्...