-->
‘आइएस संलग्न भएको स्पष्ट प्रमाण छैन’

Image copyrightEPA

अमेरिकी राष्ट्रपति ओबामाले ओर्लान्डो गोलिकाण्डमा संलग्न बन्दुकधारीलाई उक्त हमला गर्न इस्लामिक स्टेटले निर्देशन दिएको संकेत गर्ने स्पष्ट प्रमाण अझै फेला नपरेको बताएका छन्।

तर ४९ जनाको ज्यान लिनेगरी पल्स नामक समलिङ्गी रात्री क्लबमा गरिएको आक्रमणलाई आतंकवादी हमलाका रुपमा अनुसन्धान गरि राखिएको उनको भनाइ छ।

उक्त आक्रमणमा ज्यान गुमाएका व्यक्तिहरुको सम्झनामा ओर्लान्डोमा एउटा कार्यक्रम आयोजना गरिएको छ।

उक्त आक्रमणलाई अमेरिकी समलिङ्गी समुदाय विरुद्धको अहिलेसम्मकै खराब हमलाका रुपमा लिइएको छ।

सम्बन्ध

सुरुमा अमेरिकी अधिकारीहरुले बन्दुकधारी ओमार मातिनले फ्लोरिडा आक्रमणको केही अघि मात्रै आफू इस्लामिक स्टेटसँग आवद्ध रहेको बताएको जानकारी दिएका थिए।

Image copyrightAP

तर आइएससँगको उसको सम्बन्ध अझै स्पष्ट भइनसकेको अधिकारीहरुले बताएका छन्।

वासिङटनमा सम्वाददाताहरुसँग बोल्दै राष्ट्रपति ओबामाले भने, “अन्तिम समयमा उसले आइएससँग आवद्ध रहेको बताएपनि अझैसम्म उसलाई आक्रमण गर्न निर्देशन दिइएको थियो भन्ने प्रमाण फेला परेको छैन।”

ओबामाले अमेरिकी इतिहासकै सबैभन्दा खराब गोलीकान्ड, देशभित्र बढेको उग्रवादको उदाहरण भएको बताएका छन्।

५३ जना घाइते भएको उक्त हमला प्रहरीले मातिनलाई गोली हानेर मारेपछि अन्त्य भएको थियो।

ओर्लान्डो गोलिकान्डबारे प्रतिक्रिया दिदैँ रिपब्लिकनतर्फका राष्ट्रपति पदका आकांक्षी डोनल्ड ट्रम्पले विदेशी मुसलमानहरुलाई अमेरिका प्रवेश गर्न दिन नहुनेमा जोड दिएका छन्।

उनले अमेरिकी आप्रवासन प्रणाली काम नलाग्ने भएको भन्दै त्यसबाट फाइदा उठाएर ओर्लान्डो गोलीकान्डमा संलग्न बन्दुकधारीको परिवार अफगानिस्तानबाट अमेरिका प्रवेश गर्न सफल भएको आरोप लगाएका छन्।

उनकी प्रतिस्पर्धी हिलरी किलन्टनले ‘अमेरिकी शहरहरुमा युद्धमा प्रयोग हुने हतियारको कुनै स्थान नरहेको’ भन्दै आफू राष्ट्रपतिमा निर्वाचित भए, त्यस्ता एकल हमलाकारी विरुद्धको कारबाहीलाई उच्च प्राथमिकता दिने बताएकी छन्।

सम्झना

Image copyrightREUTERS

ओर्लान्डोमा आयोजित स्मृति सभामा सम्बोधन गर्दै एक जना इस्लाम धर्म गुरुले मुसलमानहरु घृणा, अन्धकार र ध्वसंको सिद्धान्त विरुद्ध, सहभागीहरुसँगै एकजुट रहेको बताएका थिए।

ब्रिटेन, फ्रान्स र क्यानडामा पनि त्यस्ता सम्झना समारोहहरु आयोजना गरिएका छन्।

लन्डनमा समलिङ्गी समुदायको केन्द्र मानिने सोहोमा मृतकको सम्झना गर्दै ४९ वटा ‘बलुन’ उडाइएको थियो।

न्युयोर्कमा मृतकको सम्मानमा इम्पायर स्टेट भवनको बत्ती निभाइएको थियो।

ओर्लान्डोको आक्रमणलाई दशकौँदेखि आफू विरुद्ध भएका भेदभाव विरुद्ध संघर्षरत अमेरिकी समलिङ्गी समुदाय माथि अहिलेसम्म भएको सबैभन्दा ठूलो आक्रमणका रुपमा लिइएको छ।

अमेरिकी सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई मान्यता दिएपछि उक्त समुदायले खुसियाली मनाएको एक वर्ष पुग्न बाँकी नै छ।

तर एउटा अध्ययनले त्यस्ता यौनिक अल्पसंख्यकहरुविरुद्ध घृणाले प्रेरित अपराध गरिने संभावना काला जातिभन्दा दुई गुणा बढी रहेको देखाएको छ।

भेदभाव

Image copyrightEPA

सन् १९६९ मा न्युयोर्क राज्यको स्टोनवाल भनिने समलिङ्गी बारमा प्रहरीले छापा मारेर दमन गरेपछि भएका प्रतिरोध र दंगाबाट आधुनिक समलिङ्गी आन्दोलन सुरु भएको थियो।

त्यसको चार वर्षपछि धारिलो हतियार प्रयोग गरी न्यु ओर्लियन्सको एउटा बारमा ३२ जना समलिङ्गीको हत्या गरिएको थियो।

त्यस यताका वर्षमा पनि अमेरिकामा समलिङ्गीहरु विरुद्ध कयौँ आक्रमण भएका छन्।

विश्वका ७० वटा भन्दा बढी देशमा समलिङ्गी सम्बन्ध गैरकानुनी मानिन्छ र त्यसमध्ये कयौँमा मृत्युदण्डसम्मको सजायको व्यवस्था छ।

हालै अमेरिकामा कयौँ राज्यहरुले समलिङ्गीहरुलाई उनीहरुले चाहेको सार्वजनिक शौचालय प्रयोग गर्न दिने निर्णयको विरोध गरेका थिए।

सामूहिक रुपमा हुने भेदभावले कसरी घृणात्मक अपराध गर्न एक जना व्यक्तिलाई प्रोत्साहित गर्न सक्छ भन्ने विषयमा हाल अमेरिकामा व्यापक बहस चलिरहेको छ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.